काठमाडौं । राष्ट्रियसभा सदस्यमा बागमती प्रदेशबाट डा खिमलाल देवकोटा विजयी भएका छन् । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनमा विपक्षी गठबन्धनका डा खिमलाल देवकोटा विजयी भएका हुन् ।
बिहीबार हेटौंडामा भएको निर्वाचनमा देवकोटाले कूल ५ हजार ८८ मतभार प्राप्त गरे । मतभार १८ रहेको स्थानीय तहतर्फ देवकोटाले २ हजार ३ सय ४ र ४८ मतभार रहेको प्रदेशसभा सदस्यतर्फ २ हजार ७ सय ८४ मत प्राप्त गरे ।
यसको अर्थ उनलाई स्थानीय तहका प्रमुख उपप्रमुख १ सय २८ र ५८ जना प्रदेशसभा सदस्यले मत दिए । उनका निकटतम प्रतिस्पर्धी बादलले कूल ४ हजार १४ मतभार प्राप्त गरे । स्थानीय तहतर्फ १ हजार ८ सय ५४ र प्रदेशसभा सदस्य तर्फबाट २ हजार १ सय ६० मत उनलाई खस्यो ।
उनलाई स्थानीय तहका प्रमुख, उपप्रमुख १ सय ३ र ४५ जना प्रदेशसभा सदस्यले मत दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले स्थानीय तहतर्फ २ र प्रदेशसभा सदस्यतर्फ २ गरी कूल १ सय ३२ मतभार प्राप्त गरे । कूल ३ सय ४७ जना मतदाता रहेकोमा कूल ३ सय ३८ मत खसेको थियो ।
देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन रहेको थियो । थापा सर्वोच्च अदालतले माओवादी र एमालेलाई ब्यूँताएपछि एमालेतर्फ लागेका नेता हुन् । माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य निर्वाचित थापा एमाले प्रवेश गरेपछि कारबाहीमा परेर उनको स्थानमा चुनाव भएको थियो ।
माओवादी केन्द्रले कारबाही गरेपछि उनको राष्ट्रियसभा सदस्य पद गएको थियो । त्यही ठाँउमा भएको आज भएको उपनिर्वाचनमा एमालेको सस्थापनले थापालाई नै उम्मेदवार बनाएको थियो ।
बागमतीमा तीन प्रदेश सभा सदस्य रहेको विवेकशील साझाले नो भोटको अधिकार माग गर्दै भोट नहाल्ने निर्णय नै गरेको थियो। थापालाई गृहमन्त्रीका रूपमा काम काम नगराउन सर्वोच्च अदालतले बिहीबारमात्रै अन्तरिम आदेश दिएको थियो ।