काठमाडौं । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले कोभिड नियन्त्रणको लागि भन्दै सरकारले गठन गरेको सीसीएमसी खारेज गर्न माग गरेका छन् । दुबै पार्टीले सरकारले गठन गरेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज गर्न माग गरेको हुन् ।
विहीबार कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड १९ रोकथाम र नियन्त्रणको लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदै ज्ञापन पत्र बुझाँउँदै कोभिड ९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) भंग गर्न माग गरेका हुन् । कांग्रेसले सीसीएमसी संरचना असफल भएकोले त्यसको स्थानमा प्रभावकारी संयन्त्रको व्यवस्था गर्न काँग्रेसले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।
यसैगरी माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समिति बैठकले सीसीएमसी संवैधानिक नभएकाले खारेजीको माग गर्ने निर्णय गरेको माओवादी स्थायी समिति सदस्य बर्षमान पुनले जानकारी दिएका छन् ।
बिपत सम्बन्धी घटनाहरू हेर्नका लागि गृह मन्त्रालयमा कानूनी व्यवस्थासहितको निकाय रहेको र स्वास्थ्य जोखिमसम्बन्धी निकायलाई पनि काम गर्न नदिएको भन्दै कानूनी हैसियत नभएको सीसीएमसीलाई खारेज गरिनुपर्ने माओवादीको ठहर छ । नेता पुनले सीसीएमसी खारेजीको मागसहित प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाउने निर्णय भएको बताए ।
‘सरकारले कोभिडबारेमा काम गर्दा के के कुरामा ध्यान दिनुपर्छ भनेर शुक्रवार ज्ञापन पत्र बुझाउने निर्णय भएको छ,’ नेता पुनले भने, ‘सीसीएमसी खारेज गर्नुपर्छ त्यो अनावश्यक संयन्त्र भयो ।’ बैठकले प्रधानमन्त्रीको नेतृत्वको विपद् व्यवस्थापन समिति वा गृहमन्त्री नेतृत्वको विपद् व्यवस्थापन प्राधिकरणलाई क्रियाशील बनाउनुपर्ने सुझावसमेत दिने निर्णय पनि गरेको छ ।
त्यस्तै माओवादी केन्द्रले कोभिड नियन्त्रणका लागि प्रधानमन्त्रीको नेतृत्वमा सर्वपक्षीय सर्वदलीय संयन्त्र बनाउन पनि माग गर्ने भएको छ । कोभिड नियन्त्रणमा सरकार पुरै असफल भएको र स्वास्थ्य सामाग्री खरिददेखि वितरणसम्ममा भएको अनियमितताको निन्दा गर्दै माओवादीले स्वास्थ्य उपकरणहरूको अविलम्ब व्यवस्था गर्न माग गरेको छ ।
यसैगरी कांग्रेस प्रधानमन्त्री ओलीलाई बुझाएको ज्ञापनपत्रको १२ नम्वर बुँदामा भनिएको छ, ‘प्राविधिक स्वास्थ्य सचिवको तत्काल नियुक्ति गरियोस् । कोभिड—१९ संकट व्यवस्थापन केन्द्रको वर्तमान संरचना असफल भएकोले प्रभावकारी संयन्त्रको व्यवस्था मिलाइयोस् । प्रदेश सरकारहरुको कोभिड—१९ संक्रमण रोकथाम र उपचार संरचनालाई मजवुत गरियोस् ।’
उपप्रधानमन्त्री इश्वर पोखरेलको नेतृत्वमा कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न सरकारले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) गठन थियो । जसको काम क्वारेन्टाइन व्यवस्थापन, विदेशबाट आउने नागरिकहरूलाई हवाई व्यवस्थापन, मुलुकका विभिन्न क्षेत्रमा कृषिजन्य वस्तुको बिक्रीवितरण लगायतको समन्वय गर्ने लगायतका काम थिए ।
अहिले पनि उक्त समितिको संयोजकमा पोखरेल छन् । अन्य सदस्यहरूमा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, वाणिज्य तथा आपूर्तिमन्त्री, स्वास्थ्यमन्त्री लगायत छन् ।