उदयपुर । उदयपुरमा केही दिन अघि कोरोना संक्रमणबाट मृत्यु भएका शिक्षकको सम्पर्कमा रहेका सवैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिइएको छ ।
त्रियुगा नगरपालिका ४ मिलन चोक सार्की टोलका ५२ वर्षिय शिक्षकको सम्पर्कमा रहेका आफन्त, विद्यालयका शिक्षक तथा स्वास्थ्यकर्मी सवैको रिपोर्ट नेगेटिभ आएको छ । मृतकका कन्ट्राक्ट टे«सिममा परेका ५६ जना मध्ये ५६ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए ।
उनका अनुसार कोरोना संक्रमणबाट मृत्यु भएकाका श्रीमति, भाई, भान्जा, छोराहरुको रिपोर्ट यसअघि नै नेगेटिभ आएको बताए ।
मृतक कार्यारत त्रियुगा नगरपालिका ७ जनता माध्यमिक विद्यालय कौवाइको शिक्षक शिक्षिकाको पनि स्वाबको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य प्रमुख सुवेदीले जानकारी दिए ।
यस्तै ज्वरो आएर ३ दिनसम्म बेड भर्ना भएका राजेश हेल्थ केयर सेन्टर मोतिगडाका संचालक लगायत स्वास्थ्यकर्मी र अन्य आफ्न्तहरुको पनि रिपोर्ट नेगेटिभ आएको छ ।
यस्तै मालपोत कार्यालय उदयपुरका एक कर्मचारीसँगको सम्पर्कमा रहेका त्रियुगा नगरपालिका १० की ११ वर्षिय बालिका र उनका आमा, एक स्वास्थ्यकर्मी र ज्वरो आएर होम क्वारेन्टाइनमा रहेका एक पुरका एक पुरुषको रिपोर्ट आउन बाँकी रहेको छ ।
हालसम्म बेलका नगरपालिकामा ३२ जना, त्रियुगा नगरपालिकामा ६५ जना, कटारी नगरपालिकामा ७ जना, चौदण्डीगढी नगरपालिकामा २ जना, उदयपुरगढी गाउँपालिकामा २ जना र ताप्ली गाउँपालिकामा ३ जना गरी १ सय ११ जनामा कोरोना संक्रमण देखिएको थियो ।
कोरोना संक्रमित मध्ये १ सय १० जना निको भएर घर फर्किसकेका छन भने एक बालिकाको स्वाबको रिपोर्ट आउन बाँकी रहेको छ । उदयपुरमा हालसम्म ७ हजार २ सय ३७ जनाको स्वाब संकलन गरेको मध्ये ८० पुरुष र ३१ महिलामा कोरोना संक्रमण देखिएको थियो ।