एजेन्सी । विश्वमा हरेक सय वर्षमा ठूला–ठूला महामारी आउने गरेको तथ्य छ । संयोग भनौँ वा अन्य केही । हरेक एक सय बर्षको अन्तरमा पुरै विश्वको मानव सभ्यतालाई तहस नहस बनाएको तथ्य प्रष्ट छ ।
अहिले कोभिड १९ (कोरोना भाइरस) को महामारीले विश्व नै आक्रान्त बनेको छ । यसकोबीचमा महामारीको चर्चा परिचर्चा हुने गरेको छ । चीनको वुहानबाट सन् २०१९ को अन्तिममा सुरु भएको कोरोना भाइरसले अहिलेसम्म विश्वमा ३२ लाखभन्दा बढीको मत्यु भइसकेको छ, भने १५ करोडभन्दा बढी मानिस संक्रमित बनेका छन् । यो क्रम बढ्दो छ ।
हरेक सय बर्षमा मानिसले महामारीको नयाँ औषधि खोज्नु पर्छ । यस्तै पछिल्लो ४ सय बर्षदेखि यस्तो खाले महामारी हुँदै आएको विभिन्न अध्ययनले पुष्टि गरेको छ । त्यसैगरी विश्व मानव सभ्यतालाई तहसनहस महामारी इतिहासमा सावित भएका छन् । त्यसकारण हरेक १०० बर्ष मा मानवले मानवलाई नयाँ महामारीको लागि नयाँ खोज अनुसन्धान गर्न बाध्य पार्दछ । सन् १७२० देखि सन् २०२० सम्मको घटनाहरु यसप्रकार छन् ।
क) १७२०
१७२० मा पुरै विश्वमा प्लेग फैलिएको थियो । ‘ग्रेट प्लेग अफ मार्सिले’ भन्ने नाम दिइएको उक्त भाइरस फ्रान्सको मार्सिले शहर फेला परेको थियो । उक्त भाइरसले लाखौंको ज्यान लिएको बताइन्छ । उक्त ग्रेट प्लेग अफ मार्सिले भाइरस दुई वर्षसम्म मानिसको दुश्मन बनेको थियो ।
ख) १८२०
१७२० को सय वर्षपछि १८२० मा एशियामा कोलेरा महामारीको रूपमा परिवर्तन भयो । यो महामारीले जापान, फारस (हालको इरान) लगायत खाड़ी क्षेत्रका भारत, बैंकक, मनीला (फिलिपिन्स) जावा, ओमान, चीन, मौरिशस, सिरिया आदि देशमा प्रकोप फैलिएको थियो । कोलेराले जाभा दिपमा एक लाख मानिसहरुको मृत्यु भएको थियो, भने सबैभन्दा बढी मृत्यु थाईल्याण्ड, इन्डोनेशिया र फिलिपिन्स मा भएको थियो ।
ग) १९२०
१८२० को सय वर्षपछि १८२० मा स्पैनिश फ्लू पहिला देखा परेको थियो । यो एक प्रकारको भाइरस १९१८ मा देखा परे पनि १९२० मा धेरै असर गरेको थियो । यो रोगबाट झण्डै दुई करोड मान्छे मरेको बताइन्छ ।
घ) २०२०
१९२० को एक सय वर्षपछि २०१९ को अन्तिमतिर कोरोना भाइरस (कोभिड १९) नामको भाइरस फेला परेको छ । जुन १९२० देखि २०२० गन्दा एकसय वर्षपछि विभिन्न रुपका साथ देखा परेको छ । चीनको वुहान सहरमा देखा परेको भाइरसले अहिले विश्वभर ३२ लाखभन्दा बढीको मत्यु भइसकेको छ, भने १५ करोडभन्दा बढी मानिस सङ्क्रमित छन् । यो क्रम बढ्दो छ । अहिले विश्वमा आतंक मच्चाइरहेको छ ।
यस्ता छन, ‘आन्य महामारी’
मानव इतिहासमा यस्ता भाइरसको महामारी फैलिएको यो एक्लो घटना होइन । यहाँ विचार पु¥याउनुपर्ने पक्ष के हो भने महामारी शब्दको अर्थ सापेक्ष हुन्छ । अहिलेको समयमा स्वाइन फ्लू, सार्स, नोवल कोरोना भाइरसजस्ता केही सयको ज्यान लिने भाइरसको प्रकोपलाई पनि महामारी भन्ने गरिन्छ ।
यद्यपि, मानव इतिहासमा करोडौँको ज्यान लिने महामारी पनि फैलिएका थिए । जसले १२ हजार वर्षको इतिहासमा कुनै देश वा क्षेत्रको सीमा नाघेर करिब ५० करोड मानिसको ज्यान लिएको अनुमान गरिन्छ ।
१. स्वाइन फ्लू
सन् २००९ मा अमेरिकामा नयाँ खालको इन्फ्लुएन्जा ए (एच वान एन वान) भाइरस पत्ता लाग्यो । यो तुरुन्तै अमेरिकाका अनेकौँ राज्य र विश्वभर फैलियो । अघिल्ला यस्ता भाइरसभन्दा निकै फरक यो भाइरसबाट कति मानिसको ज्यान गयो, त्यो अझै बहसको विषय बनिरहेको छ ।
सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार २००९ देखि २०१० सम्ममा अमेरिकामा छ करोड मानिस यो भाइरसबाट प्रभावित भएका थिए । जसमध्ये २ लाख ७४ हजार जना अस्पताल भर्ना हुनुपरेको थियो । यसबाट अमेरिकामा मात्र १२ हजार ४ सय ६९ जनाको ज्यान गएको थियो । हालसम्म विश्वभर १४ हजारको ज्यान गएको बताइएको छ ।
तर, सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले मारिने मानिसको संख्या योभन्दा धेरै गुणा बढी रहेको दाबी गरेको छ । उसका अनुसार यो भाइरसले दुई लाखभन्दा बढी मानिसको ज्यान लिएको थियो । विश्व स्वास्थ्य संगठनले सन् २०१० को अगस्टमा स्वाइन फ्लूको महामारी समाप्त भएको घोषणा गरेको थियो । तथापि हरेक वर्ष स्वाइन फ्लूबाट हजारौँ मानिस बिरामी हुने, अस्पताल भर्ना हुने र मृत्युको मुखमा पुग्ने गरेका छन् ।
२ सार्स
सन् २००२ को नोभेम्बरमा चीनको ग्वाङ्दोङ प्रान्तबाट सुरु भएको सिभियर एक्युट रेस्पाइरेटरी सिन्ड्रोम (सार्स) बाट नौ महिनामा विश्वभर ८ हजार ९६ जना प्रभावित भएका थिए। जसमध्ये ७ सय ७४ जनाले ज्यान गुमाएका थिए । सार्सको मृत्युदर पनि उच्च थियो । संक्रमितमध्ये ९.६ प्रतिशत मानिसको ज्यान गएको थियो । यो कोरोना भाइरसकै एक अलग प्रजाति थियो ।
यो २६ मुलुकमा फैलिएको थियो । खास गरी, चीन, ताइवान, सिंगापुर, क्यानडा सबैभन्दा बढी प्रभावित भएका थिए । पहिले जनावरबाट मानिसमा सरेको यो भाइरस मानिसबाट मानिसमा फैलिन थालेको थियो । संक्रमितलाई ज्वरो आउने, टाउको दुख्ने, पखाला लाग्ने, कम्प छुट्ने, श्वासप्रश्वासमा समस्या हुनेजस्ता लक्षण देखिएका थिए ।
महामारी रोकिएपछि पनि सार्स चार पटक देखापरेको छ । तर, त्यो प्रयोगशालाको लापरबाहीका कारण भएको जनाइएको छ ।
३. एचआईभी एड्स
सन् १९७६ मा डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा पहिलो पटक पहिचान भएको एचआईभी एड्स वास्तवमै भयानक महामारी थियो । जससँग हामी अझै जुधिरहेका छौँ । सन् १९८१ यता यो रोगबाट ३ करोड ६० लाख मानिसले ज्यान गुमाइसकेका छन् । अहिले पनि विश्वका करिब साढे तीन करोड मानिस यो रोगबाट संक्रमित छन् ।
जसको सबैभन्दा ठूलो मार सहारा मरुभूमिको दक्षिणतिर अवस्थित मुलुकमा परेको छ । त्यहाँको करिब पाँच प्रतिशत जनसंख्या यो भाइरसबाट संक्रमित भएको अनुमान छ । एड्स निको पार्ने औषधि अहिलेसम्म आविष्कार भइसकेको छैन । यद्यपि, यसको असर रोकथाम गरेर मानिसको आयु बढाउने प्रयास सफल हुन थालेका छन् ।
सन् २००५ देखि २०१२ सम्ममा एड्सबाट हुने मृत्युदर २२ लाख प्रतिवर्षबाट १६ लाख प्रतिवर्षमा झरेको छ । तर, यसको सफल उपचारका लागि अझै कयौँ वर्ष पर्खिनुपर्ने हुन सक्छ ।
४. हङकङ फ्लू
सन् १९६८ मा पहिलो पटक हङकङमा देखिएको यो भाइरस १७ दिनभित्रै अनेकौँ मुलुकमा पुगिसकेको थियो । यो इन्फ्लुएन्जा ए भाइरसको एक प्रजाति थियो । सिंगापुर, भियतनाम हुँदै यो भाइरस तीन महिनामा फिलिपिन्स, भारत, अस्ट्रेलिया, युरोप र अमेरिकासम्म पुग्यो । मृत्युदर अत्यन्त कम (०.५ प्रतिशत) भईकन पनि यो भाइरसबाट १० लाखभन्दा बढी मानिसको ज्यान गएको थियो । त्यतिबेला हङकङमा मात्र यसले पाँच लाख मानिसको ज्यान लिएको थियो । जुन हङकङको जनसंख्याको १५ प्रतिशत हिस्सा थियो ।
५. एसियन फ्लू
सन् १९५६ बाट सुरु भएको एसियन फ्लूले करिब २० लाखको ज्यान लिएको थियो । यो इन्फ्लुएन्जा चीनको गुइझाउ प्रान्तमा सर्वप्रथम फेला परेको थियो । दुई वर्षभित्र यो सिंगापुर, हङकङ र अमेरिकासम्म पुगेको छ । अमेरिकामा मात्रै यसबाट झण्डै ७० हजारको ज्यान गएको थियो।
६.हैजाको महामारी
सन् १९१० र ११ मा हैजाबाट विश्वभर लाखौँ मानिसको ज्यान गयो। भारतको कलकत्तामा सुरु भएको यो महमारीले त्यसबेला भारतमा कम्तीमा आठ लाखको ज्यान लिएको थियो । पछि यो मध्यपूर्व, उत्तरी अफ्रिका, पूर्वी युरोप र अमेरिकासम्म पुगेको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष ३० देखि ५० लाख हैजाका नयाँ बिरामी देखापर्ने गर्छन् । जसबाट एक लाखभन्दा बढीको ज्यान बर्सेनि जाने गर्छ ।
७. रसियन फ्लू
सन् १८८९ मा यो महामारीले ३ लाख ६० हजारको ज्यान लिएको थियो। यो महामारी साइबेरियामा सुरु भएको थियो। त्यसपछि मस्को हुँदै कजाकस्तान, फिनल्यान्ड र पोल्यान्डसम्म पुगेको थियो । त्यसबाट पूरै युरोप, अफ्रिका र अमेरिकासम्म फैलिएको थियो ।
८. ब्ल्याक डेथ
१४ औँ शताब्दीको मध्यमा युरोप, अफ्रिका र एसियामा एउटा महामारी फैलिएको थियो । हालसम्मकै ठूलो महामारीका रूपमा परिचित ब्ल्याक डेथ भनिने यस महामारीले त्यसबेला विश्वको एकतिहाइ जनसंख्याको ज्यान लिएको थियो । त्यसबेला विश्वको जनसंख्या ४५ करोड रहेको अनुमान गरिएको थियो । तर, यो रोगले मात्रै कम्तीमा साढे सात करोड र बढीमा २० करोडको ज्यान लिएको अनुमान गरिन्छ ।
मुसाको शरीरमा बस्ने उपियाँले सारेको कीटाणुबाट यो रोग फैलिएको अनुमान गरिन्छ । त्यसबेला समुद्री किनारामा अवस्थित अनेकौँ बन्दरगाह र शहर महामारीबाट सबैभन्दा बढी प्रभावित भएका थिए । कतिपय शहरमा लाशको सद्गत गर्न सकिने अवस्था पनि थिएन । जसका कारण महिनौँसम्म लाश सडकमै सडिरहेका हुन्थे ।
यो महामारीका बेला बेलायत र फ्रान्स युद्धमा थिए । तर, महामारीबाट जनसंख्या नै कम हुन थालेपछि उनीहरुले युद्धविराम गरे । महामारीको फलस्वरूप बेलायतको सामन्ती व्यवस्था नै ध्वस्त भयो र त्यहाँका आर्थिक सम्बन्धमा निकै ठूलो परिवर्तन आएको थियो । (विभिन्न एजेन्सीकाे सहयाेगमा तयार पारिएकाे)