काठमाडौं । देशभर कोरोना संक्रमण बढेपछि सरकार स्वास्थय संकटकाल घोषणाा गर्ने तयारीमा जुटेको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सोमबार बसेको बैठकमा स्वास्थ्य संकटकाल घोषणा गर्ने बारेमा छलफल भएको बताइएको छ । बैठकमा अन्य विषयमा निर्णय गर्नेभन्दा पनि संकटकालको बारेमा छलफल भएको थियो ।
तर, सबै सदस्य उपस्थित हुन नसकेपछि अनिर्णय बनेको सिसिएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहारका गणेश पाण्डेले जानकारी दिए । उनका अनुसार कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य संकटकाल घोषणा तथा अन्य कदम चाल्न विज्ञको सुझाव आएको छ ।
सिसिएमसीमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिएका छन् । उनका अनुसार प्रस्तावमा स्वास्थ्य संटकाल घोषणा गरी केही समयका लागि देशैभरि लडकाउन गर्ने उल्लेख छ । ‘अहिलेको स्थितिले केही कठोर निर्णय गर्नुपर्ने भएको छ, अन्यथा नसकिने भनेर विज्ञहरूले सुझाव दिएका छन्’, मन्त्री त्रिपाठीले भने ।
प्रस्ताव सोमबार साँझसम्म मन्त्रिपरिषद्मा गइनसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । सोमबार मात्र कोरोना संक्रमणको कारण थप १ सय ३९ जनाको मृत्यु भएको छ । सोमबार मात्र ९ हजार २ सय ७१ जनामा कोरोना संक्रमण भएको थियो । १८ हजार ४ सय ११ वटा नमुना परीक्षण भएका थिए । यो हिसाबले संक्रमणदर ५० दशमलव ३५ प्रतिशत पुगेको छ । सोमबारको संक्रमणदर अहिलेसम्मकै उच्च हो ।
थप संक्रमितसहित नेपालमा संक्रमितको संख्या ४ लाख ३७ हजार ९४ पुगेको छ । तीमध्ये ९३ हजार १ सय ४१ जना सक्रिय संक्रमित छन्। सक्रिय संक्रमितमध्ये ८६ हजार ४ सय २६ जना होम आइसोलेसनमा र ६ हजार ७ सय १५ जना संस्थागत आइसोलेसनमा छन् । त्यसैगरी ९ सय १० जना आइसियुमा र २ सय ९५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
चैतको अन्तिम सातायता कोरोनाबाट ८ सय ६५ जनाको मृत्यु भइसकेको छ । दोस्रो लहरको कोरोना संक्रमण हवात्तै बढेपछि समुदायमा रहेका वृद्ध, दीर्घरोगी र धेरै रोग भएका व्यक्तिको मृत्यु भएको छ । वीर अस्पतालका फिजिसियन डा धु्रव गैरेका अनुसार अस्पतालमा पुगेका ९० प्रतिशत बिरामी अक्सिजन चाहिने र धेरै आइसियु चाहिने अवस्थाका छन् । अक्सिजन र आइसियु दुवै नपुगेपछि उनीहरूको कुर्दाकुर्दै मृत्यु हुन्छ । यसरी मृत्यु हुनेमा रोग नभएका युवासमेत छन् ।
कोभिडले छोटो अवधिमै कडा निमोनिया बनाएर मृत्यु भएको उनले बताए । निमोनिया भएका बिरामीका लागि अस्पतालमा पर्याप्त अक्सिजन र आइसियु छैनन् । कोभिडको सुरुकै अवस्थामा अस्पताल पुगेमा धेरैलाई बचाउन सकिन्छ ।
कोभिड १९ नयाँ भेरियन्ट संक्रमण भएको ५ देखि ७ दिनभित्रमा निमोनिया हुन्छ । यो चरणमै अस्पताल पुगेर आफ्नो स्वास्थ्य परीक्षण गराएमा, खोकी, ज्वरोको लक्षण देखिन थालेको दुईतीन दिनमै स्वास्थ्यकर्मीको सुझावमा मात्र औषधी सेवन गरेमा धेरैलाई संक्रमणबाट बचाउन सकिने वीर अस्पतालका फिजिसियन डा। गैरे बताउँछन् ।
उनका अनुसार सुरुमै उच्च ज्वरो र अक्सिजन घट्न थालेको अवस्थामा स्टेरोइड औषधिले पनि निमोनियाँ घटाउनमा सहयोग गर्छ । त्यसैगरी कोरोनाको लक्षण देखिएमा छातीको एक्सरे गरेर निमोनियाँ भए÷नभएको हेरेमा समयमै उपचार गर्न सकिन्छ ।