काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै देशको संविधानमाथि संकट, राष्ट्रिय स्वाधिनतामाथि, लोकतान्त्रिक पद्दतिमा, कम्युनिस्ट आन्दोलनमा संकट कसको कारणले आयो ? प्रधानमन्त्रीजी छातिमा हात राखेर भन्न सक्नुहुन्छ ? राष्ट्रिय समस्या म हो कि तपाई हो ? बहस गर्न म तयार छु ।’
प्रधानमन्त्री ओलीमाथि बाम गठबन्धनलाई ‘डे वान’देखि नै तुहाउन खोजेको आरोप लगाएका छन् । सोमबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुअघि प्रतिनिधि सभामा बोल्दै दाहालले यस्तो बताएका हुन् । बाम गठबन्धनको एकतापछि हाम्रो सपना डे वान देखि नै तपाईले तुहाउने काम गर्नुभयो, पार्टी अध्यक्षको हैसियतले, पूर्वप्रधानमन्त्रीको हैसियतले पार्टीभित्र बहस गरेँ तर तपाईले पार्टीको विषयलाई लिएर संसद विघटन गर्ने ? उनले भने ।
प्रचण्डले ओलीलाई ‘यो सदन र यिनै सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ र ? भनेर प्रश्न गरेका छन् । प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी राखेको प्रस्तावमाथि छलफलमा भाग लिँदै प्रचण्डले ओलीलाई गत पुस ५ मा प्रतिनिधिसभा विघटन गरेको स्मरण गराए ।
‘आफैंले विघटन गरेको संसद, यिनै सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ र प्रधानमन्त्रीज्यू ?’ उनले प्रश्न गरे । उनले प्रधानमन्त्रीले विश्वासको मत माग्नुमा पनि कुनै षड्यन्त्र छ कि भन्ने आशंका समेत गरे । उनले ओलीलाई प्रधानमन्त्री भएको पहिलो दिनदेखि नै संविधान र प्राप्त उपलब्धिहरुविरुद्ध क्रियाशील भएको आरोपसमेत लगाए ।
उनले फेरि पनि प्रतिनिधिसभा विघटन गर्ने मनसायका साथ आवश्यक प्रक्रिया पूरा गर्नका लागि त प्रधानमन्त्रीले विश्वासको मत मागेको होइन भन्ने आशंकासमेत गरे ।