काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आज बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
भेटमा उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसकिने जानकारी गराएका थिए । उनीहरुले आफूहरुको सबै माग सम्बोधन नभएकाले विश्वासको मत दिन नसकिने ओलीसँग बताएका थिए । जसपामा ओलीको निरन्तरताको पक्षमा देखिएका ठाकुर र महतोले पार्टीले अहिलेसम्म कसैलाई समर्थन गर्ने निर्णय नभएको बताएका थिए ।
पार्टी एकता कायम राख्न जसपा तटस्थ बस्ने नेता राजेन्द्र महतोले बताए । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयले जसपा दुई कित्तामा बाँडिएको थियो । आजै बिहान जसपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतोे र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको थियो । भेट्ने क्रममा उनीहरुले तत्काल वैकल्पिक सरकारको सम्भावना नरहेकाले निर्वाचनमा जानु उपर्युक्त हुने देउवालाई सुझाव दिएका थिए।
अध्यक्ष ठाकुरले सबै दलहरु मिलेर निर्वाचनको माहोल बनाउनुपर्ने बताएका थिए । बाबुराम भट्टराई र उपेन्द्र यादव पहिल्यैदेखि ओली सरकार हटाउन खोजेका थिए । नेपाली काँग्रेसले केपी ओली सरकार हटाउन संस्थागत निर्णय गरिसकेको छ । शनिबार बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने र आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको हो ।
अब माधव नेपाल समूहका सांसदले राजीनामा दिएपनि नदिएपनि ओली सरकार सत्तामा रहने छैन । तर, पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संवादले सफलता नपाएपछि एमालेको झलनाथ खनाल–माधव नेपाल समूहका सांसद राजीनामा दिने निष्कर्षमा पुगेका छन् । शनिबार बसेको नेपाल समूहका स्थायी कमिटी सदस्यहरूको बैठकले सामूहिक राजीनामाको निष्कर्ष निकालीसकेको छ ।
माओवादी केन्द्रले यसअघि नै ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीले भोली २७ गते सोमबार विश्वासको मत लिनका लागि संसद बैठक बोलाएका छन् । माधव समूहका सांसदले राजीनामा गर्नासाथ संसदमा कायम सांसद संख्या घट्न गइ वैकल्पिक सरकार बन्ने सम्भावना पनि जीवित हुनेछ । भोली केपी ओलीले कुनै दाउपेच अपनाएनन् भने कानूनी रुपमा ओली सरकार ढल्ने निश्चित छ । केपी ओली पक्षबाहेकको सरकार बन्न पर्याप्त छ ।
माधव नेपाल समूहका २० सांसदले राजीनामा दिइसकेको अवस्थामा नयाँ सरकार गठनका लागि १२६ मतको आवश्यकता पर्दछ। हाल माओवादीसँग ५० सांसद छन् सभामुख अग्नि सापकोटाले मतदान गर्न नमिल्ने हुँदा ४९ सांसदले मात्र मतदानमा भाग लिन पाउँछन्। नेपाली कांग्रेसको ६३ जना सांसद भएता पनि २ जना सांसद निलम्बनमा परेपछि ६१ जनाले मात्र मतदानमा भाग लिन पाउँछन्।
त्यसैगरी जसपाका ३४ सांसद भएता पनि २ जना निलम्बित भएकाले ३२ जनाले मात्र भाग लिन पाउँछन्। जसपामा केपी ओली सरकारलाई समर्थन गर्ने या सरकारलाई ढाल्ने भन्ने विषयमा स्पष्ट दुईधार देखिदै आएकोमा पछिल्लो समय राजेन्द्र महतो- महन्थ ठाकुर तटस्थ बस्ने निर्णयसँगै ओली सरकारलाई थप संकट परेको छ। यसअघि ओली महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई विभाजन गरेर भए पनि आफनो सरकार टिकाउने दाउमा थिए।अब त्यो सम्भावना माधव नेपाल समूहको स्पष्ट अडानले समाप्त भयो।
त्यस्तै जसपाको भट्टराई-यादव पक्षको कम्तिमा पनि १८ मत छ। सुरुदेखि नै भट्टराई-यादव पक्ष केपी ओलीको सरकार टिकाउन हुँदैन भन्दै आएका थिए। भट्टराई-यादव पक्षले ओलीलाई विश्वासको मत दिँदैन। विपक्षी समिकरणमा स्पष्ट १सय २८ मत देखिन्छ। यो नयाँ सरकार गठनका लागि पर्याप्त मत हो। केपी ओलीसँग माधव-झलनाथ पक्षबाहेक पुगनपुग १ सय मत छ। त्यसैगरि राप्रपाको १ मत र नेमकिपाले केपी ओलीलाई समर्थन गरेता पनि ओलीलाई सरकार टिकाइराख्न आवश्यक मत पुग्दैन। साभार लोकपाटी न्यूज