उदयपुर । एक वर्ष अघि कोरोना भाइरस (कोभिड १९) को पहिलो चरणमा उदयपुरको भुल्के केन्द्रबिन्दु बनेको थियो । एकै पटक ठूलो संख्यामा त्रियुगा नगरपालिकाको भुल्केमा संक्रमति फेला परेपछि प्रदेश र संघीय सरकारकोसमेत ध्याँन केन्द्रीत भएको थियो ।
त्यसवेला, तीनै तहका सरकारका सम्बन्धित व्यक्तिहरुनै उदयपुरमा स्वास्थ्य पूर्वाधार बलियो बनाउँछौ, भन्दै घोषणा गरिरहेका थिए । कोरोना महामारीलाई अवसरमा बदल्ने अठोट गरिरहेका थिए ।
पहिलो चरणकै कोरोना आक्रमणमा उदयपुरको कमजोर स्वास्थ्य पूर्वाधारले फड्को मार्ने आश जिल्ला बासीमा पलाएको थियो । तर, एक वर्ष पछि अहिले पुनः कोरोनाको दोस्रो चरण सुरु भएको छ । उदयपुरको स्वास्थ्य पूर्वाधार भने, उहि पुरानै छ । केही परिवर्तन आउन सकेको छैन् ।
उदयपुरका पत्रकार हरिकुमार राई भन्छन्, ‘स्वास्थ्य पूर्वाधारमा परिवर्तन आएन ।’ पहिलो चरणको कोरोना आक्रमणबाट पनि उदयपुरका सरोकारवाला निकायले पाठ सिक्न सकेका छैनन् । राई थप्दै भन्छन, ‘यसमा स्थानीय, प्रदेश र संघीय सरकारले वेवास्ता गरेको जस्तो लाग्छ ।’
स्वास्थ्यकर्मीदेखि उपकरणसम्म अभाव
उदयपुरमा कोरोना परीक्षणको एन्टिजेनविधि बाहेक अन्य विकल्पमा पिसीआर परीक्षण हुुँदैन् । स्वाव परीक्षण (पिसीआर) विधिबाट गर्नु परे एउटा पिसीआर मेसिनसमेत छैन् । चौदण्डीगढी नगरपालिकाका नगरप्रमुख खगेन्द्र राईले जिल्लामा स्वाव संकलन गरेर परीक्षण गराउन धरान, विराटनगर, काठमाडौं पठाउनु पर्ने गुनासो गरे ।
‘हामीले प्रदेश १ सरकारसँग बेल्टारमा रहेको कोभिड १९ अस्पताललाई व्यवस्थित गर्न पिसीआर मेसिन, भेन्टिलेटर मेसिनसहित आवश्यक उपकरण, जनशक्ति माग गरेका छौँ, तर, कोभिड अस्पताल व्यवस्थापनको लागि २० लाख प्रदेश १ सरकारले दिने निर्णय गरेको जानकारी पाएको छु ।’
उनले उदयपुरको जिल्ला अस्पताल लगायतका अस्पताल र प्रथामिक स्वास्थ्य चौकीमासमेत स्वास्थ्यकर्मी अभव रहेको गुनासो गरे । ‘जिल्लामा आवश्यक स्वास्थ्यकर्मीकै अभाव छ,’ उनले भने, ‘जिल्ला अस्पतालमै दरबन्दी अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मी छैनन्, अन्यको के कुरा गर्नु ?’
भेन्टिलेर मेसिनसहितका आइसियु बेड प्रयोगविहीन
उदयपुरका आठ स्थानीय तहमध्ये त्रियुगा नगरपालिका र कटारी नगरपालिकामा सुविधा सम्पन्न अस्पतालका भवन बनेको छ । तर, जनशक्ति, उपकरणकै अभाव छ ।
जिल्लामा अस्पतालमा रहेका दुईवटा भेन्टिलेर मेसिनसहित पाँचवटा आइसियु बेड पनि दक्ष जनशक्तिकै अभावमा प्रयोगविहन छ । स्थापना गरेको एकवर्षमा सम्बन्धित चिकित्सक नहुँदा प्रयोगमा आउन नसक्ने जिल्ला अस्पताल उदयपुरका मेडिलक सुप्रिडेन्ट डाक्टर जीवनारायण मण्डल बताउँछन् ।
‘आसियु बेडमा कोभिड तथा अन्य गम्भिर प्रकृतिका विरामी राखेर उपचार गर्नु परे उपचार हुँदैन,’ उनले भने, ‘हामीले आसियु बेड सञ्चालनको लागि केन्द्र र प्रदेश सरकारलाई पटक पटक आग्रह ग¥यौँ, तर, सुनुवाइ भएन, अहिले प्रयोगविहीन छ ।’ आइसियु बेडमा कोभिड मात्र होइन, अन्य विरामीको लागि प्रयोगमा ल्याउन सकेका छैनौँ, यो हाम्रो दोष होइन् ।’
जिल्ला अस्पताल गाईघाटमा पहिलो चरणको कोरोना महामारी बढेपछि पहिलो पटक आइसियु बेड स्थापना गरिएको थियो ।
अक्सिजनका सिलिण्डर पनि सिमित
कोरोनाविरुद्ध लड्न पिसीआर परीक्षणको समस्या, भेन्टिलेटरसहितको आइसियु बेडको समस्या मात्र होईन । संक्रमितलाई अतिआवश्यक पर्ने अक्सिजनको पनि सास्या उस्तै छ ।
जिल्लाका विभन्न अस्पतला, प्रसुती गृह लगायतमा झण्डै एकसय वटा मात्र अक्सिजनका सिलिण्डर भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख महोन सुवेदी बताउँछन् । ‘अक्सिजनको सिलिण्डरको कुरा गर्ने हो भने जिल्लामा झण्डै एकसय सिलिण्डर छ,’ उनले भने, ‘उदयपुरमा अहिलेको कोरोना संक्रमणलाई यही रोक्न सके त्यो प्रयाप्त हो, यदी समस्या आइलागेको खण्डमा स्थानीय तहसँग समन्वय गरेर अक्सिजन खरिद गर्ने तयारी थालिएको छ ।’
उनले समग्रहमा अन्य जिल्लाको तुलनामा स्वास्थ्य पूर्वाधार कमजोर रहेको भन्दै प्रदेश १ सरकारसँग एकजना छुट्टै कोरोनाको मात्र उपचार गर्ने चिकित्स माग गरेको बताए । अपवादमा संक्रमितको संख्या बढेर गम्भिर रुप लिए उदयपुरको अवस्था भयवह हुनेमा दुई मत छैन् । आवश्यक स्वास्थ्य उपकरण, औषधी, दक्ष चिकित्सकको अभाव प्रष्ट छ । स्वास्थ्य पुर्वाधारको अवस्था रुपमा नाजुक छ ।
जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर दर्नालले कमजोर स्वास्थ्य पूर्वाधारलाई बलियो बनाउन निरन्तर प्रदेश र संघीय सरकारसँग पहल भइरहेको बताए । ‘जिल्ला अस्पतालमा रहेको दुईवटा भेन्टिलेटर मेसिनसहितको पाँच वटा आइसियु बेड सञ्चालनको लागि पनि जनशक्ति माग गरिएको छ,’ उनले भने ।
आशोलेसन बेड १५० मात्र
स्वास्थ्य कार्यालय उदयपुरका अनुसार जिल्लामा एकसय ५० वटा मात्र आइशोलेसन बेड तयारी अवस्थामा छ । कार्यालयका प्रमुख सुवेदी भन्छन्, ‘कोभिड अस्पतालमा ६०, मदन भण्डारी आँखा अस्पतालमा ४०, आठवटा स्थानीय तहमा झण्डै ४० वटा जति छन्, भोलीका दिनमा संक्रमित बढेको खण्डमा बढाउँदै जानुपर्छ ।’
अहिले धेरै समान्य प्रकृतिका संक्रमित घरै आइशोलेसन बेड बनाएर बसेको बताउँदै सुवेदीले भने, ‘अहिले भेटिएका झण्डै एकसय ७१ जना संक्रमितमा अधिकाँस घरै बसेकाले समस्या सामान्य छैन् । बढेको खण्डमा बढाउँदै जान सकिन्छ ।’
परीक्षण पनि न्यून, संक्रमित पनि न्यून
उदयपुरमा कोरोना परीक्षण पनि न्यून भएकाले संक्रमितको संख्या पनि न्यून भएको पत्रकार राई बताउँछन् । ‘परीक्षणको दायरा बढाएर संक्रमितको पहिचान गर्नुपर्ने वेला आएको छ,’ उनले भने, ‘उदयपुरमा दैनिक ५० देखि एकसयजनमा मात्र परीक्षण हुने गरेको छ ।’
उदयपुरमा परीक्षणको दायरा बढाउन चौतर्फी माग छ । जिल्ला समन्वय समिति उदयपुरका प्रमुख दर्नाल भन्छन, ‘उदयपुरमा परीक्षणको दायरा बढाउन चार नगरपालिकालाई पाँचसय वटाका दरले दुई हजार र चार गाउँपालिकालाई तीनसयवटा दरले एकहजार दुईसय एन्जिेन किट खरिद गरेर परीक्षणको दायरा बढाउन सुरु गरेको छौँ ।’
उनले पिसीआर विधि झन्जटिलो भएकाले एन्टिजेन विधिलाई जोड दिएको बताए । समग्रमा शक्तिशाली कोरोनाविरुद्ध लड्नको लागि उदयपुरको स्वास्थ्य पूर्वाधार अति कमजोर छ । यसको लागि स्थानीय, तह, प्रदेश र संघीय सरकार अनि सम्बन्धित निकायले विशेष ध्याँन दिन जरुरी छ । स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा परीक्षण दर बढाउनु पत्रकार राईको माग छ ।