काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको छ । बैठकले वैकल्पिक सरकार निर्माणको प्रयास जारी राख्ने, प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने र अरु दललाई पनि मत नदिन बैठकले आग्रह गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले बताए ।
संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने समेत निर्णय गरेको छ । सरकार गठनको पहल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको २१ चैतकै निर्णय अनुमोदन गरेको नेता खाँडको भनाई छ । कांग्रेसले यही वैशाख २७ गतेको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज संसदीय दलको बैठक बोलाएको हो ।
प्रतिनिधिसभाको वैशाख २७ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेका छन् । कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको मंगलबार बसेको बैठकले प्रधानमन्त्री ओलीको विश्वासको मतलाई असफल बनाउन निर्णय गरेको थियो ।
बैठकमा बोल्दै सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीका गलत कदमका पछाडि राष्ट्रपति भण्डारीको सहयोग महत्वपूर्ण रहेको बताएका थिए । लोकतान्त्रिक मूल्य विपरीत सरकारले काम गरिरहेको भन्दै देउवाले ओलीको विकल्प खोज्न हरसम्भव प्रयास भइरहेको बताए ।
‘ओलीको विकल्प खोज्ने है हो । पार्टीको निर्णय पनि त्यै छ । विश्वासको मत फेल गराउने, अविश्वास प्रस्ताव पास गराउने हो’, बैठकमा देउवाले भने । कांग्रेस सांसदहरुलाई पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्दै देउवाले कानूनविद् र अन्य दलसँग छलफल गरे आफूले आवश्यक कदम चाल्ने बताए ।
प्रधानमन्त्री ओलीले विश्वासको मत नपाए निर्वाचन घोषणा गर्ने संकेत गरेको भन्दै सभापति देउवाले ओलीलाई निर्वाचन गराउने अधिकार नभएको बताए । ‘२७ गते विश्वासको मत नपाएपछि ओलीले चुनाव गराउन पाउँदैनन् । संविधानले पनि ओलीलाई चुनाव गर्न दिदैंन । सरकार गठनको सबै कोर्स पूरा नभई चुनाव पनि हुँदैन’, देउवाले भने ।
प्रधानमन्त्रीले विश्वासको मत नपाए संविधानको धारा ७६ को १ देखिका दफाहरु सक्रिय हुने भन्दै देउवाले ७६ (२) बमोजिमको गठबन्धन सरकारका लागि प्रयास भइरहेको बताएका थिए ।