उदयपुर । उदयपुरमा बढ्दो कोभिड १९ (कोरोना भाइरस) काे संक्रमण रोक्न लागि निषेधाज्ञा जारी हुने भएको छ । विहीबार जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले एक हप्ताको लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे हाे ।
जुन बैशाख २४ गते शुक्रबार रातीदेखि लागु हुने र ३१ गते बैशाख शुक्रबारसम्म निषेधाज्ञा जारी हुने डिसिसिएमसीको बैठककाे निर्णयमा उल्लेख छ । डिसिसिएमसीका अध्यक्ष तथा उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीसाम सेडाइले बढ्दो संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार मन्त्रीपरिषदबाट प्रत्यायोजित अधिकार बमोजिम संक्रमण रोग ऐन २०२० दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ अनुसारको अधिकारलाई प्रयोग गर्दै निषेधाज्ञा जारी गर्न लागेको बताए ।
उनका अनुसार निषेधाज्ञामा अत्यावश्यकभन्दा बाहेक सर्वसाधरणलाई हिड्डुल गर्न रोक लगाइएको छ । निषेधज्ञा जारी गरेसँगै एक हप्ताको लागि सबै प्रकारका सवारी साधनहरु बन्द गरिएकाे छ । बजार पसलहरुको समयलाई पनि छोटो बनाइएको छ । जसमा ६ देखि १० बजेसम्म मात्र खुल्ने डिसिसिएमसीको निर्णयमा उल्लेख छ ।
गत बैशाख १८ गते बसेको डिसिसिएमसीको बैठकले २५ गते सम्मको लागि तिनपाँग्रे सवारीमा रोक लागइएको भएपनि मोटरसाईकल भने खुल्ला गरेको थियो । अब मोटर साइकलसमेत चल्न नपाउने समितिको निर्णयमा उल्लेख गरिएको छ । निषेधाज्ञामा सवारी साधन र सर्वसाधरणहरुलाई व्यवस्थित गर्ने गरी निर्णय भएको सेडाइको भनाइ छ ।
डिसिसिएमसीको बैठकका निर्णयहरुमा सवारी साधनहरुको हक अत्यावश्यक एम्वुलेन्स, खानेपानी, इन्धन, औषधी तथा स्वास्थ्य, लुव्रिकेन्ट, खाद्यन्न, तरकारी फलफु, दुग्ध जन्य पदार्थ, मासुजन्य, बस्तु बोकेको सवारी, बैँक बित्तिय, इन्टरनेट दुरसञ्चार, क्वारेन्टीन, विद्युत, रेडक्रस, आईसोलेसन, फोहर, डाक सेवा लगायत खुल्ला गरिएको जानकारी दिइएको छ ।
सर्वसाधरणलाई औषधी, खाद्यवस्तु बस्तु खरिद, उपचारकाे लागि बाहेक अन्य कामकोलागि घरबाट बाहिर ननिस्कनु भनिएको छ । यसैगरी नेपाल सरकारले तोकिएको स्वास्थ्य मापदण्डको पूर्ण पालना अन्तर्गत सामाजिक दुरी, मास्क, सावुन पानी, सेनिटाईजर प्रयोग गर्नुपर्ने, हाटबजार, मेला जात्रा, महोत्सव, पार्टी भोज लगायत भिँडभाँड गर्न नपाउने निर्णय सहित निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सेडाइको भनाइ छ ।