उदयपुर । उदयपुरमा कोभिड १९ (कोरोना भाइरस) बाट थप एक जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार बुधबार चौदण्डीगढी नगरपालिका वडा नम्वर ६ का ७० वर्षे एक पुरुषको धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।
७० वर्षे पुरुषको मृत्युसँगै उदयपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको कार्यालयले जानकारी दिएको छ । कार्यालयका तथ्यङक अधिकृत उमेश लुईटेलका अनुसार बुधबार २७ जना नयाँ संक्रमित थपिएको छ । जसमा १४ जना महिला र १३ जना पुरुष रहेका छन् । ‘उनले भने, ‘जिल्लामा अब कुल संक्रमितको संख्या १०५ पुगेको छ । जसमा ४१ जना महिला छन्, भने ६४ जना पुरुष छन् ।’
संक्रमितमध्ये तीन जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । जसमा दुई महिला र एकजना पुरुष रहेका छन् । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि त्रियुगा, कटारी नगरपालिकाका र उदयपुरगढी गाउँपालिकाले अत्यावश्यक बाहेकाका सबै सेवा बन्द गरेका छन् ।
त्रियुगा नगरपालिकाले बैशाख २२ गतेबाट लागू हुने गरी बैशाख ३१ गतेसम्मका लागि अत्यावश्यक बाहेका सबै कामकाज बन्द गर्ने निर्णय गरेको छ । कोरोना समुदायस्तरमा थप फैलिन नदिनको लागि नगरपालिकाको कामकाज १० दिनसम्म बन्द गर्ने निर्णय गरेको जानकारी दिइएको छ । त्रियुगा नगरपालिकाका कार्यालयहरु र माताहतका सवै वडा कार्यालयलाई पत्रचार गरि सम्पूर्ण वडाको पनि कामकाज पनि बन्द गर्न निर्देशन दिएको जानकारी दिइएको छ ।
यता नगरमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछी उदयपुरको कटारी नगरपालिकाले बुधबार राती १० बजेदेखि लागू हुने गरी ७ दिनसम्मका लागि नगरमा अत्यावश्यक बाहेकका सवै कार्य गर्न प्रतिवन्ध गर्ने निर्णय गरेको छ । मंगलबार नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठको नेतृत्वमा वसेको वैठकले २९ वैशाख राती १२ बजेसम्म लागु हुने गरी कटारी बजार लगायतका नगरका क्षेत्रमा अत्यावश्यक बाहेकका सम्पूर्ण पसलहरु, व्यवसाय, यातायातका सम्पूर्ण सवारी साधनहरु र मानिसहरुमा आउजाउमा समेत कडाई गर्ने निर्णय गरेको छ ।
यता उदयपुरगढी गाउँपालिकाले पनि एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पिसीआर रिर्पोट नआउनुजेलसम्मको लागि अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत माधव सुवेदीले जानकारी दिएका छन् ।
जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) का अध्यक्ष तथा उदयपुरका प्रमुख जिल्ला अधिकारीले जिल्लामा निषेधाज्ञा जारी गर्नु पर्ने अवस्था आएको बताएका छन् । उनले भने, ‘हामी सकेसम्म डिसिसिएमसीको बैठक बसेर १० दिनसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गर्ने तयारीमा छौँ ।’