उदयपुर । आज (मंगलबार) उदयपुरमा कोभिड १९ का ३३ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ७८ पुगेको छ ।
स्वासथ्य कार्यालय उदयपुरका तथ्यङक अधिकृत उमेश लुइटेलका अनुसार त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका, उदयपुरगढी गाउँपालिका लगायतका स्थानीय तहमा नयाँ संक्रमित थपिएका छन् । ‘नयाँ थपिएका ३३ जनामा महिला १२ जना र पुरुष २१ जना रहेका छन्,’ उनले भने, ‘अब जिल्लामा कुल ७८ जनामा २७ महिला र ५१ जना पुरुष संक्रमित भएका छन् ।’
उनका अनुसार हालसम्म उदयपुरमा कोरोना भाइरस (कोभिड १९) बाट दुई जनाको मृत्यु भइसकेको छ । जसमा एकजना महिला र एक जना पुरुष रहेका छन् । उनले जिल्लामा हालसम्म दुई जना कोरोना जितेर घर फर्केको पनि जानकारी दिए । हालसम्म संक्रिय संक्रमितहरु कोडिड अस्पताल र होम आइशोलेसनमा बसेर उपचार गरिरहेकाे उनको भनाइ छ ।
कुन पालिकामा कति संक्रमित ?
उनका अनुसार कटारी नगरपालिकामा दुई महिला र दुई पुरुष गरी चारजना संक्रमित भएका छन् । यसैगरी चौदण्डीगढी नगरपालिकामा दुई महिला र ८ पुरुष गरी जम्मा १० जना संक्रमित रहेका छन् ।
यसैगरी त्रियुगा नगरपालिकामा २० महिला र ३५ पुरुष गरी ५४ जना संक्रमित छन् । बेलका नगरपालिकामा एक महिला र एक पुरुष गरी दुईजना संक्रमित छन् । यसैगरी उदयपुरगढी गाउँपालिकामा एक महिला र दुईजना पुरुष गरी ३ जना संक्रमित छन् । यसैगरी रौतामाई गाउँपालिकामा एक जना महिला र ४ जना पुरुष गरी पाँचजना संक्रमित थपिएका छन् ।
ताप्ली र लिम्चुङबुङ गाउँपालिकामा संक्रमितको संख्या सुन्य रहेको छ । उदयपुरमा सोमबारदेखि कोरोना भाइरस (कोभिड १९) का संक्रमित बढेसँगै उदयपुर एक हप्ता बन्द भएको छ ।
प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईले बढ्दो कोरोना संक्रमणलाई मध्येनजर गर्दै सोमबारदेखि एकसाता उदयपुरमा यातायात बन्द गरेको भन्दै अघोषित निषेधाज्ञा जारी भएको जानकारी दिएका छन् ।