उदयपुरगढी । उदयपुरगढी गाउँपालिका १ शिखरपुरका श्याम मगर घरमा विजुली पुगेपछि दङ भएका छन् । घाम लाग्दा सोलार बत्तिको ब्याट्री चार्ज नहुने समस्याबाट मुक्त भएको भन्दै मगर भन्छन्, ‘अब त गाउँमै राष्ट्रिय प्रशारणको लाइन जोडियो, गाउँनै उज्यालो भयो ।’
गाउँमा राष्ट्रिय प्रशारणको लाइन जोडिएपछि उनि मात्र होइनन्, गाउँका धेरै सर्वसाधरणमा खुसी छाएको छ । दुर्गम र विकट क्षेत्रमासमेत राष्ट्रिय प्रशारणको लाइन जोडिएपछि अहिले गाउँमै पुर्णिमाको रात जस्तो भएको छ । ‘सोलार, टुकी बत्ति लगायतबाट मुक्त भएका छौँ,’ उदयपुरगढी गाउँपालिका १ अम्बोटेका मनोज खत्री भन्छन्, ‘विजुली बत्तिको कारण गाउँले नै मुहार फेरेको छ ।’
गाउँमा विजुली पुगेपछि मगर र खत्री मात्र होइनन्, अहिले धेरै सर्वसाधरणमा खुसी छाएको छ । गाउँपालिकामा सामुदायिक विद्युतीकरण विभागको उदयपुरगढी ग्रामिण सामुदायिक विद्युतीकरण आयोजनामार्फत् गाउँपालिकाबासीले विद्युत सेवा उपभोग गरिरहेका छन् । गाउँपालिकाको जम्मा ८ वटा वडामा झण्डै ६ हजार पाँचसय घरधुरी रहेका छन् । जसमा अहिले २ हजार घरधुरीमा विजुली बलिसकेको छ । गाउँपालिकाकी उपाध्यक्ष सानु राउत भन्छिन्, ‘चुनावमा गरेको एउटा बाचा पुरा भएको छ, गाउँपालिकाको सुगम र दुर्गम क्षेत्रमासमेत विजुली पुगेको छ ।’
योजना सम्पन्न भएपछि गाउँपालिकाका ८ वटा वडाका ६ हजार ५ सय ० घरधुरी परिवारले विद्युतको उपभोग गर्न पाउने भएका छन् । गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले भने, ‘गाउँपालिकाको ८ वटै वटामा आगामी असार मसान्तभित्र विजुली बसिसक्ने छ, त्यसको लागि काम भइरहेको छ ।’
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव सुवेदीले विद्युत बाल्न पहिलो चरणमा १ हजार ९ थान मिटरबक्स लगेर गाउँपालिकाले उपभोक्तालाई वितरण गरिसकेको छ । अपुग मिटरबक्स वितरण गर्न थप ४ हजार थान खरिद प्रक्रियास्वरुप नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, गाईघाटलाई भुक्तानीको अन्तिम चरणमा पुगेको सुवेदीले बताए ।
प्रतिगोटा १ हजार ७ सय १२ रुपैयाँ पर्ने मिटरबक्सको मूल्यमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) बापत २ सय २२ रुपैयाँ ५६ पैसा थप्दा १ हजार ९ सय ५६ रुपैयाँ पर्न आउने सुवेदीले बताए । जसअनुसार गत असोज १५ गते १ हजार ९ सय मिटरबक्सको मूल्य ३७ लाख १६ हजार ४ सय रुपैयाँ प्राधिकरणलाई भुक्तानी गरिसकिएको छ।
अपुग उपभोक्ताका लागि गाउँपालिकाले थप ४ हजार थान मिटरबक्स लाने तयारीमा छ। त्यसका लागि गाउँपालिकाले ७८ लाख २४ हजार बुझाउने अन्तिम तयारी भइरहेको अधिकृत सुवेदीले बताए ।
गाउँपालिकाले विद्युतीकरणका लागि पहिलो चरणमा ३३ करोड र दोस्रो चरणमा २१ गरी ५४ करोड लगानी गरिसकेको जनाएको छ। प्रारम्भिक चरणमा ६५ करोडको लागत इस्टिमेट भएको आयोजनाका लागि स्थानीय जनसहभागिताबापत् नगदै १० प्रतिशत जुटाएको र बाँकी ९० प्रतिशत नेपाल सरकार, सामुदायिक विद्युतीकरण विभागले उपलब्ध गराएको छ ।
गाउँपालिकाबासीको घरघरमा बिजुली बाल्ने योजनालाई प्रमुख प्राथमिकतामा राखेर बजेटमा साझेदारी गर्न जनप्रतिनिधि तयार भएकाले यति छिट्टै बिजुली बाल्ने अवस्थामा जनता पुगेको ‘उदयपुरगढी विद्युतीकरण उपभोक्ता समिति’का अध्यक्ष देव गिरीले बताए । आयोजना सामुदायिक बाल विकास एवं महिला जागरण केन्द्र, कटारी उदयपुरको प्राविधिक साझेदारीमा भइरहेको उनले बताए ।