सुनसरी । सुनसरी, उदयपुर र सप्तरी जिल्लामा फैलिएको अर्नाको राजधानी मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा पछिल्लो समयमा अर्नाको सङ्ख्यामा वृद्धि भएको छ । चार वर्षअघिको तुलनामा आरक्षमा १२ दशमलव नौ प्रतिशतले अर्नाको सङ्ख्या बढेको आरक्षण प्रशासनले जनाएको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालयले वैशाख ६ देखि ११ गतेसम्म अर्ना गणना गरेको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग काठमाडौँका सहायक इकोलोजिष्ट हेमराज आचार्यको नेतृत्वमा गणना गरिएको थियो । गणना प्रतिवेदन अनुसार ५७ वटा अर्ना बढेको पाइएको छ । कोशी टप्पुभित्र अर्नाको कूल सङ्ख्या ४९८ पुगेको छ । विसं २०७४ मा भएको गणनामा आरक्षभित्र ४४१ वटामात्र अर्ना रहेका पाइएको थियो ।
विसं २०३२ मा स्थापना भएको कोशी टप्पुमा शुरुमा ६३ वटामात्र अर्ना रहेका थिए । त्यसयता क्रमशः अर्नाको सङ्ख्यामा वृद्धि हुँदै गए पनि उचित संरक्षणको भने अभाव हुँदै गएको आरक्षको प्रशासन बताउँछ । प्रतिवेदनमा अर्नाको बासस्थानको सुधार गर्नुपर्ने, अनाधिकृत रुपमा रहेका घरपालुवा भैँसीहरु हटाउनु पर्ने, मानिस र जनावरका बीचमा हुने गरेको द्वन्द्वको अन्त्य गर्ने अवस्था निर्माण गर्न भनिएको छ ।
अर्नाजस्ता देखिने भैँसीहरुको बाहुल्यताले आरक्षमा रहेका सक्कली अर्नालाई चरनको पनि अभाव हुँदै आएको छ । जसका कारण यी अर्नाहरु नै गाउँ पस्ने गरेका छन् । गाउँ पस्दा मानिससँग द्वन्द्व पनि हुने गरेको छ । यसरी भएको द्वन्द्वमा परेर हालसम्म १० वटा अर्ना मरेको जानकारी आरक्ष प्रशासनले गराएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित प्रजाती, सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण महासन्धी एपेण्डिक्स् थर्ड मा सूचीकृत तथा आई यु सि एनको इनडान्जेरेड सूचीमा रहेको दुर्लभ वन्यजन्तु अर्नाको संरक्षणको गर्ने उद्देशयले २०३२ सालमा आरक्षको स्थापना गरेको हो ।
कोशी टप्पु विश्वमै दुर्लभ वाइल्ड वाटर बफेलो (अर्ना) का लागि प्रख्यात छ । आरक्षको कार्यालयले दुर्लभ अर्नाको सङ्ख्यामा हुँदै गएको वृद्धिलाई महत्वपूर्ण उपलब्धिका रुपमा लिएको छ । संरक्षण अधिकृत अशोक रामका अनुसार आरक्षमा वयश्क भाले अर्नाको सङ्ख्या २ सय २१ वटा रहेको छ । त्यसैगरी वयश्क पोथी अर्ना १ सय ६२ वटा र अर्ध वयश्क अर्ना ४८ वटाको सङ्ख्यामा रहेका छन् । यस्तै आरक्षभित्र दुई वर्ष उमेरसम्मको अर्नाको बच्चा ३५ वटा छन् ।
अर्ना गणनाको क्रममा एक वर्ष सम्मको बच्चा ३२ वटा भेटिएको थियो । विसं २०७३ मा कोशी टप्पुबाट राष्ट्रिय निकुञ्जमा १३ वटा लगिएको थियो । ती अर्ना निकुञ्जको इन्क्लोजरमा राखिएको छ । घरपालुवा भैँसीहरुको पूर्वज मानिने अर्ना नेपाल, भारत, भुटान, कम्बोडिया, थाइल्याण्डमा पाइन्छ । विश्वको करिव ८२ प्रतिशत सङ्ख्या भारतको काजिरङ्गा राष्ट्रिय निकुञ्जमा छन् । दोश्रो ठूलो सङ्ख्या कोशी टप्पुमा रहेको यस आरक्षले जनाएको छ ।
विसं २०३२ मा स्थापना भएको आरक्षको क्षेत्रफल १७५ वर्ग किलोमिटर मात्र रहेको छ । आरक्षमा रहेका जंगली जनवारको अनुपातमा यो क्षेत्र अत्यन्तै न्यून हो । सरकारले २०६१ सालमा आसपासको क्षेत्रलाई मध्यवर्ती क्षेत्रको रुपमा घोषणा गरेको थियो । यसको क्षेत्रफल १७३ वर्ग किलोमिटर पर्छ । मध्यवर्ती क्षेत्रमा सप्तरीको सप्तकोशी नगरपालिका, कंकालिनी हनुमान गरपालिका, सुनसरीको कोशी गाउँपालिका, बराहक्षेत्र नगरपालिका र उदयपुरको बेलका नगरपालिकाका केही वडाहरु पर्दछन् ।