उदयपुरगढी । दाउराको प्रयोग घटाउँदै वन फडानी न्यूनिकरण गर्नको लागि सर्वसाधरणलाई ग्यास चुलो वितरण गरिएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ७ कौवार्इ सामुदायिक वन उपभोक्ता समूहले आफ्ना उपभोक्तालाई ग्याँस चुलो वितरण गरेको हो ।
सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मीनबहादुर कार्कीका अनुसार एकसय नौ घर उपभोक्तालाई ग्याँस सिलिन्डर र चुल्लो वितरण गरिएको हो छ । उनका अनुसार समूहको गरिबी निवारण शीर्षबाट ७ लाख २० हजार रुपैँयमा एकसय नौ घरलाई ग्याँस चुलो वितरण गरिएको हो । ‘दाउराको प्रयोग घटाउँदै वन जोगाउने उदेश्यले ग्यासको सिलिण्डर र चुलो वितरण गरेका हौँ ।’ उनले भने ।
उक्त सामुदायिक वन उपभोक्ता समूहमा आवद्ध एकसय ३७ घरधुरीमध्ये १०९ घरधुरिलाई वितरण गरेको सचिव हिरा मगरले बताइन । ‘एकसय नौ घर परिवार यही बसोबार गर्ने हुन,’ उनले भनिन्, ‘अन्य उपभोक्ता बाहिर रहेकाले नदिएका हौ, भोलिका दिनमा यही बसोबास गरे भने पुन वितरण गर्दछौँ ।’
समूहका कोषाध्यक्ष पूर्णबहादुर खत्रीका अनुसार ग्याँस चुलो वितरणले उपभोक्तामा खुसीयाली छाएको छ । ‘दाउरा प्रयोग हुँदा वन फडानी नै हुन्छ,’ उनले भने, ‘दाउरा प्रयोगभन्दा ग्यास प्रयोग गर्न सजिलो पनि भएकाले उपभोक्तमा खुसी छाएको छ ।’
समूहको ग्यास चुलो वितरण कार्यक्रमका प्रमुख अतिथि गाइघाट डिभिजन वन कार्यलयका सहायक वन अधिकृत जागेशोर साहले ग्याँस चुलो वितरणले उपभोक्तलाई वन संरक्षण गर्न उत्साहित बनाएको बताए । ‘वर्षभरी उपक्ताले दाउरा प्रयोग गर्दा वनलाई धेर थोर क्षति पुग्दै आएको नै हो,’ उनले भने, ‘त्यही सामुदायिक वनको आम्दानीमा ग्यास चुलो वितरण गर्दा उपभोक्तालाई प्रयोग गर्न पनि सजिलो अनि दाउरा प्रयोगमा कमी आउँदा वन संरक्षणमा टेवा पुग्छ ।’
कार्यक्रममा त्रियुगा नगरपालिका वडा ७ का वडा अध्यक्ष भिमबहादुर पुलामी मगर, सामुदायिक वन उपभोक्ता महासघ उदयपुरका सचिव नरबहादुर खत्री सहितको उपस्तिथि रहेको थियो । दाउरा खपत कमी, समयको बचत, र वन फडानीमा कमी आउनुकासाथै अन्य काम गर्न सहज हुने भएकाले ग्यास चुलो वितरण वितरण सहयोग गरेको स्थानीय उपभोक्ता गणेश बस्नेत बताए । विद्यालयमा खाजा पकाउन सजिलो होस भन्दै कौवाइ माध्यामिक विद्यालयलाई समेत समूहले ग्यास चुलो उपलब्ध गराएको छ ।
सामुदायिक वनले हालसम्म विद्यालयलाई जग्गा खरिद गर्ने काम, किसानको लागि सिचाँइ कुलो, बाख्रा वितरण, कृषि सडक निर्माण, विद्युत विस्तार गर्ने काम, खानेपानी, स्वास्थ्य लगायतका क्षेत्रमा काम गरिरहेको अध्यक्ष कार्कीले बताए । सामुदायिक वनले कोभिड १९ रोकथाम र लकडाउनले प्रभावित अघिल्लो वर्ष खाद्यन्न, स्वास्थ्य सामग्री लगाएतका राहत वितरण गरेको थियो ।