एजेन्सी । भारतमा एक करोड ८० लाख भन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् । बुधबार एकै दिनमा तीन लाख ७९ हजार २५७ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि भारतमा अहिलेसम्ममा एक करोड ८३ लाख ७६ हजारभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यहाँ संक्रमणको कारण मृत्यु हुने व्यक्तिको संख्या २ लाख नाघेको छ । गएको २४ घण्टायता तीन हजार ६४५ जनाको कोरोना संक्रमणको कारण ज्यान गएपछि यस प्रकोपबाट मृत्यु हुनेको संख्या दुई लाख चार हजार ८३२ पुगेको सो मन्त्रालयले जनाएको छ ।
एकै दिनमा कोरोनाबाट ठूलो संख्यामा मृत्यु भएको यस वर्ष शुरु भएयताकै यो सब भन्दा धेरै भएको समाचारमा जनाइएको छ । एकै दिन तीन लाखभन्दा बढी कोरोना भाइरस संक्रमित भेटिएका यो आठौं दिन भएको बताइएको छ । कोरोना महामारी शुरु भएयता विश्वमा भएका संक्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ ।
भारतमा हाल ३० लाख ८४ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । भारतमा हालसम्म एक करोड ५० लाख ८६ हजारभन्दा बढी कोरोना मुक्त भएका छन् । भारतमा गत जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म १५ करोड भन्दा बढी व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ, भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।
भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सिन र स्पुट्निक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्निक भी भने गत अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।
भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यका रुपमा रहेको छ । यहाँ हिजो एकैदिनमा २५ हजार ९८६ जना थप व्यक्ति कोरोना भाइरस संक्रमण देखिएको र ३६८ जनाको मृत्यु भएको छ । दिल्ली कोरोना शुरु भएदेखि हालसम्म यसको संक्रमणको कारण १५ हजार ३७७ व्यक्तिको मृत्यु भइसकेको छ ।
संयुक्त राष्ट्रंघले कोभिड विरुद्ध लड्न सघाउने
संयुक्त राष्ट्रंघले कोभिड १९ का विरुद्धमा लड्न भारतलाई सघाउने संघका प्रवक्ताले बुधबार जानकारी दिनुभएको छ । उहाँले दिएको जानकारीअनुसार कोभिड १९ को संक्रमणका कारण हाल भारतको अवस्था निकै जटिल भएकोले संयुक्त राष्ट्रंघले यसका विरुद्धमा भारतलाई सघाउने भएको हो ।
संयुक्त राष्ट्रंघका विशिष्ठ जनस्वास्थ्य विद्सहितको समूह हाल भारत पुगेको छ । साथै संयुक्त राष्ट्रंघले पनि आवश्यक औषधि तथा स्वास्थ्य उपकरणहरु भारतलाई सहयोग गरिरहेको जनाएको छ ।विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रंघीय बालकोषले भारतका लागि अक्सिजनका लागि आवश्यक उपकरणहरु खरिद गरेर पठाएको बताएका छन् ।
त्यस्तै भारतका अस्पतालहरुमा आवश्यक भेन्टिलेटरहरु पनि पठाइएको संयुक्त राष्ट्रंघले जनाएको छ । यसका साथै विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रंघीय विभिन्न निकायले भारतलाई पिपिइ, पिसिआर परीक्षण गर्ने मेसिनका साथै अरु उपकहरणहरु पनि पठाएको जनाएका छन् ।
भारतको सबैभन्दा बढी प्रभावित रहेको राज्य महाराष्ट्रका लागि विश्व स्वास्थ्य संगठनले २ हजार ६०० भन्दा बढी स्वास्थ्यकर्मी, चिकित्सकहरु तथा अन्य अधिकारीहरु पठाएको जनाएको छ । ती जनशक्तिको माध्यमबाट विशेषगरी महाराष्ट्रमा घुम्ती अस्पतालहरु राखिएका छन् ।
ती अस्पतालहरुमा पिसिआर परीक्षणका साथै आवश्यक स्वास्थय उपचार पनि उपलब्ध गराइएको बताइएको छ । भारतमा हाल कोभिडको अवस्था निकै तिब्र गतिमा बृद्धि भएको छ । यहाँ दिनहुँ लाखौँ जना नागरिक कोभिडबाट संक्रमित हुने गरेका छन् भने कम्तीमा पनि दुई हजार जना मानिस यही संक्रमणबाट नै मृत्यु हुने गरेका छन् ।