कटारी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को सहायक संगठनको रुपमा रहेको योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसियल) कटारी नगरपालिकामा गठन भएको छ ।
शनिबार वाइसियल नेपालको कटारी नगरपालिका स्तरीय भेला तथा सम्मेलनबाट इश्वर पोखरेलको अध्यक्षतामा ४१ सदस्य वाइसिलय नगर कमिटी गठन गरेको हो । माओवादी केन्द्रको सहायक संगठन रुपमा परिचित वाइसियल नगर कमिटीका नवनिर्वाचित अध्यक्ष पोखरेलका अनुसार उपाध्यक्षमा श्यामकुमार धमाला, रेवत मागर रहेका छन् । यसैगरी सचिवमा प्रदिप राउत, सह सचिवहरुमा रीता बिक, बिकल बराल, पबित्रा खत्री, गणेश थापा र कोषाध्यक्षमा लिलाकुमारी कटुवाल कार्की चयन भएको अध्यक्ष पोखरेलले जानकारी दिए ।
‘कटारी नगरपालिकाको १४ वटै वडामा वाइसियल नेपालका संयोजक र सहसंयोजक पनि तोकिएको छ,’ उनले भने, ‘कटारी नगरपालिकामा हुने भ्रष्टचार, विकृत्ति, बिसंगति, अनियमितता विरुद्ध संर्घष गर्नेगरी तयारी थालेका छौँ ।’ वाइसिल उदयपुर जिल्ला इन्चार्ज दिपक किरातीले जिल्लाको आठवटै स्थानीय तहमा वाइसियल गठन अभियान चलाएको बताए । ‘जिल्ला व्यापी रुपमा वाइसिल गठन अभियान चलेको छ,’ उनले भने । यसैगरी वाइसिल नेपालका केन्द्रीय सचिव एविराज राईले अहिले वाइसिल गठन अभियान देश व्यापी रुपमा अघि बढेको बताए ।
वाइसियल नेपालको कटारी नगरपालिका स्तरीय भेला तथा सम्मेलनलाई सम्बोधन गर्दै माओवादी केन्द्र उदयपुरका जिल्ला संयोजक विनोद कटुवाल (दिवश) ले वाइसिल गठन जिल्ला व्यापी रुपमा हुने वडा, गाउँ र टोल टोलमा गठन हुनुपर्ने बताएका छन् ।
‘पार्टीको लागि अहिले गाउँ गाउँमा वाइसिल गठन हुन आवश्यक छ,’ उनले भने, ‘त्यसको लागि वाइसियल झनै जागरुक हुन आवश्यक छ ।’
यसैगरी माओवादी केन्द्रका केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ कमिटीका सचिव सुरेशकुमार राई (हिमाल) ले जनताका समस्याप्रति वाईसियल नेपाल चनाखो हुनुपर्ने बताएका थिए । ‘वासियल नेपाल माओवादी केन्द्रको सहायक संगठनभएकाले पार्टीलाई चलायनमा बनाउने गरी जनताको काममा केन्द्रीत हुनुपर्छ,’ उनले भने ।