कटारी । सोलु करिडोरको कटारी मरुवा खण्डमा विकल्प खोजी गर्न स्थानीयले माग गरेका छन् । विकल्प हुँदा हुँदै गाउँ बस्तीबाट सर्भे गरिएको भन्दै त्यसलाई परिवर्तन गर्न माग गरेका हुन ।
स्थानीय डाकबहादुर थापाले गाउँ बस्तिैबाट सोलु करिडोर अन्र्तगत पर्ने विद्युत प्रशारण लाईन विस्तारको रुट सर्भे गरिएकाले त्यसलाई परिवर्तन गर्न माग गरेको बताए । ‘हामीले सुरुदेखिनै परिवर्तन गर्न माग गर्दै आएका थियौँ,’ उनले भने ।
प्रधानमन्त्री, ऊर्जा मन्त्री, तत्कालिन विद्युत प्राधिकरणको प्रमुख कुलमान घिसिङसँग स्थानीय जनप्रतिनिधि पनि भेट गरी ज्ञापन पत्र बुझाएर माग गरेका थिए । कुलमानआफैँ आएर स्थलगत निरीक्षण गर्दै विकल्प खोजी गर्ने स्थानीयलाई बताएका थिए । सोलु कोरिडोरको हाइटेंसन लाइनको लागि बनाइने टावर कारण कटारी नगरपालिका ४ को मरुवाको वस्ति जोखिममा पर्ने भन्दै स्थानीयले निरन्तर दुईवर्षदेखि आन्दोलन गर्दै आएका छन् ।
यही गएको फागुन १० गते ऊर्जा मन्त्रीटोप बहादुर रायमाझीसँग कटारी नगर प्रमुखको नेतृत्वमा गएको डेलिकेसन टोलीले आयोजना प्रमुख, विद्युत प्राधिकरणको प्रमुख लिएर आफैँ स्थलगत निरीक्षणमा आउने मन्त्रीले आश्वाशन दिएको स्थानीय घमण्ड बहादुर खत्रीले बताए ।
६ महिना अघि मन्त्रीपरिषदको निर्णयले मरुवा क्षेत्रमा पर्ने ऐलानि जग्गाको निम्ति क्षेतिपूर्ति पाउने ब्यबस्था गरे पनी स्थानियको माग क्षेतिपूर्ति नभएर रुट नै परिवर्तनको माग गरेका छन। त्यस क्षेत्रमा १५, २० विघा जमिन भएको वस्ति प्रसारण लाइनमुनि पर्नेछ । ‘हाम्रो माग सम्बोधन नहुने हो भने भोलि जनता सडकमा पनि आउन सक्छन्,’ स्थानीयले भने, ‘सकेसम्म सहमतिमै होस् भन्ने हाम्रो चाहना हो ।’
उदयपुरको कटारीनगरपालिका अन्तर्गत मरुवामा स्थानीयले १० वटा टावर पर्दछ । आयोजनाको कूल ३०२ टावरमध्ये मरुवा क्षेत्रको दस वटा टावरमा गाड्न नदिएर एलाइनमेन्ट (रुट) नै परिवर्तन गर्नुपर्ने माग गरेका छन् । उक्त क्षेत्रमा पर्ने कूल दसवटा टावरमध्ये तीनवटा नम्बरी जग्गामा पर्ने, जसको मुआब्जा निधारणसमेत भइसकेको छ । पाँचवटा टावर ऐलानी जग्गामा परेको र बाँकी दुई टावर सामुदायिक वन क्षेत्रमा छन् ।
भारत सरकारको निर्यात आयात बैंकको सहुलियत ऋणमा निर्माण भइरहेको नेपाल सरकारको प्राथमिकता प्राप्त ९० किलोमिटर लामो सोलु कोरिडर १३२ केभी प्रसारण लाइन आयोजना प्रदेश नं १ को ४ जिल्लाहरु सिरहा, उदयपुर, ओखलढुंगा र सोलुखुम्बुमा पर्दछ । समयमै सम्पन्न नभए उक्त कोरिडर अन्तर्गत निर्माणमा भएका आयोजनाहरुलाई प्राधिकरणले कूल पीपीए रकमको ४५ प्रतिशत हर्जाना बुझाउनुपर्छ । यो भनेका प्राधिकरणले दैनिक ५० लाख रुपैयाँ जरिवाना निजी क्षेत्रलाई दिने गरी पीपीए भएको छ ।
सोलु खोलामा निजी क्षेत्रका २१७.५ मेगावाटका ६ जलविद्युत आयोजना निर्माण भइरहेका छन् । त्यसमध्ये ८२ मेगावाटको तल्लो सोलु र २३.५ मेगावाटको माथिल्लो सोलु आयोजनाको निर्माण सम्पन्न भइसकेका छन् । २४ मेगावाट उत्पादन गर्ने सोलु ले पाँच मेगावाट मात्र ग्रीडमा जोड्न पाएको छ ।
यो प्रसारण लाइनको कुल लम्बाई ८९.६८ किमि छ । यसमा जम्मा टावर ३०२ वटा टावर ठड्याउनुपर्नेछ । कूल टावरमध्ये सिरहा २६, उदयपुर १४१, ओखलढुंगा १११ र सोलु २४ वटा छन् भने सिरहाको मिर्चैया र सोलुको लामानेमा दुईवटा सवस्टेशन बनिसकेका छन् ।
कुल लम्बाई मध्ये तार तान्ने काम करिब ४५ किलोमिटर सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । कूल ३०२ टावरको जगमध्ये हालसम्म २८७ टावरको जग निर्माण सम्पन्न भइसकेको जसमा सिराहामा २६, उदयपुरको १३०, ओखलढुंगाको १०९ र सोलुखको २२ छन् । हाल उदयपुरमा १, ओखलढुंगामा १ र सोलुमा २ वटा कार्य भइरहेको छ ।