उदयपुर । उदयपुर सिमेन्ट उद्योगमा महाप्रबन्धमा गोपी न्यौपाने कार्यभार सम्भालेपछि उत्पादन घटेको छ । महाप्रबन्धकमा न्यौपाने नियुक्ति भएको ४५ दिनमा जम्मा उदयपुर सिमेन्ट उद्योग ४५ दिनमा मात्र सञ्चालन भएको छ । जसमा ११ हजार मेटिकटन मात्र उत्पादन भएको छ ।
सरकारी स्वामित्वको उदयपुर सिमेन्टले माघ १ गते महाप्रबन्धक पाएको थियो ।
हिजो शुक्रबार जम्मा ४५ दिन पुगेको छ । न्यौपाने महाप्रबन्धक नियुक्ती भएर आएसँगै अहिलेसम्म ११ हजार मेट्रिक टन मात्रै क्लिङकर उत्पादन भएको क्लिङकर उत्पादन विभागको प्रबन्धक रविचन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार माघ महिना भरिमा ७ हजार ५ सय र फागुन महिनाको १४ गतेसम्म ३ हजार ५ सय मेट्रिक टन सिमेन्ट उत्पादन भएका उनका अनुसार मेसिनरी सामान भएकोले विग्रिने चल्ने भएकोले उत्पादनमा कम भएको जनाएको छ ।
उद्योगले दैनिक ८ सय मेट्रिक टन उत्पादन गर्ने क्षमता भएपनि दैनिक ७ सय ५० मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएपनि पछिल्लो समय उत्पादनमा ह्रास आएको छ । नव नियुक्त महाप्रबन्धक न्यौपाने आएपछि झनै उत्पादनमा ह्रास आएको उद्योगका एक कर्मचारीले जानकारी दिए । नव नियुक्त महाप्रबन्धक आएको ४५ दिनमा सरदर दैनिक २ सय ४५ मेट्रिक टनमा झरेको छ । यता महाप्रबन्धक न्यौपाने उद्योगको मर्मत धेरै गर्नु परेकाले उद्योग सञ्चालनमा कठिन भएको बताएका छन् । ‘उद्योग पूर्ण रुपमा मर्मत गर्नु पर्ने छ,’ उनले भने, ‘त्यसको तयारी गर्दै छु, त्यही भएकाले उत्पादन घटेको छ ।’
आर्थिक वर्ष २०७५÷७६ मा २२ लाख ६२ हजार १ सय ४२ बोरा सिमेन्ट विक्री भएको थियो भने आर्थिक वर्ष २०७६÷७७ मा नोभेल कोरोनाका कारणले १६ लाख ४१ हजार ४७ बोरामा सिमित भयो । यस्तै चालु आर्थिक वर्षको सिमेन्ट विक्री गर्ने लक्ष्य २७ लाख ७२ हजार बोरा भएपनि अहिलेसम्म १० लाख २२ हजार ८ सय ९१ बोरा सिमेन्ट मात्रै विक्री भएको विक्री विभाग प्रमुख रामबहादुर जिसीले जानकारी दिए ।
बजार क्रमशः खुम्चँदै
२६ वर्षदेखि त्रियुगा नगरपालिका–११ जलजलेमा अवस्थित उद्योगको सुरुवाती समयमा देशभर एक हजार एक सय डिलर थिए । अहिले घटेर करिव दुई सय डिलर मात्र छन । यी डिलरले समेत सिमेन्ट बिक्री गर्न आनाकानी गर्दै आएका छन् ।
उदयपुर सिमेन्ट उद्योगको गैँडाछाप सिमेन्ट बिक्री गर्ने डिलरलाई प्रतिबोरा १५–२० रुपैयाँ मात्र कमिसन दिइरहेको छ । तर, निजी क्षेत्रका उद्योगले डिलरलाई सय रुपैयाँसम्म कमिसन दिइरहेका छन् । सिमेन्ट खोज्दै आउने ग्राहकलार्ई डिलरले बढी कमिसन पाउने निजी उद्योगकै सिमेन्ट प्रस्ताव गर्छन् । अर्कातिर निजी क्षेत्रको तुलनामा उदयपुरको गैँडाछाप सिमेन्ट अलिक महँगो पनि छ ।
उद्योगले ५३ ग्रेडको ओपिसी सिमेन्ट मात्र उत्पादन गर्दै आएको छ । निजी क्षेत्रको भन्दा उच्च गुणस्तर र लागत पनि महँगो पर्ने भएकाले बजार मूल्य बढी भएको उद्योगको तर्क छ । उद्योग २०४४ सालमा स्थापना भई २०५१ सालदेखि व्यवसायिक उत्पादन शुरु भएको हो ।