काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली समूहले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले मङ्गलबार गरेको फैसलाको सम्मान गर्दै कार्यान्वयन गर्दै अगाडि बढ्ने निर्णय गरेको हो ।
बैठकपछि नेकपाका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीले शक्तिपृथकीकरण, लोकतन्त्रका मूल्यमान्यता र विधिको शासनमा विश्वास गर्ने जनाउँदै संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई हुने भएको उसको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरिने जानकारी दिए ।
उनले सर्वोच्च अदालतको फैसला सधैँभरि अपेक्षित नहुने र अवाञ्छित परिमाण नै दिन्छन् भन्ने पनि नरहेको बताए । ‘हाम्रो चिन्ता र नेपाली जनताको चाहना स्थिर सरकार, स्थायी नीति र मुलुकमा बलियो राजनीतिक स्थायित्व नै रहेको छ । यी कुरालाई फैसलाले बल पुर्याउँछ वा मुलुक भोलिका दिनमा अस्थिरतातर्फ जान्छ भन्ने कुरा पर्खनुुपर्दछ’, उनले बैठकपछि भने ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टी केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाइने र त्यसबाट आवश्यक सुझाव लिइने तथा नेकपाले देशका विभिन्न ठाउँमा राखेका कार्यक्रमको स्वरुप परिवर्तन गरेर निरन्तरता दिने निर्णय गरिएको जानकारी उनले दिए ।
संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउने बैठक नै संसदीय दलको आधिकारिता हुने उनले बताए । ‘संसद् निर्धारित समयमा नै आह्वान हुने पनि उनले जानकारी दिए । ‘मुलुकमा फेरि राजनीतिक अस्थिरता, संसद्भित्र सैद्धान्तिक र नीतिहीन गठबन्धन बन्छ । त्यसैले पहिले जे कारणले संसदीय व्यवस्थाप्रति आलोचना र जनतामा वितृष्णा बढ्यो, त्यो स्थिति फेरि नहोस् भन्नाका लागि मुलुकले लिएको नीति र बाटो अवरुद्ध नहुने गरी सबै पक्षसंँग छलफल गर्छौँ’, उनले भने ।
राजीनामाबारे छलफल हुने
परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री ओलीको राजीनाबारे विभिन्न दलसँंग छलफल मात्र के गर्ने भन्नेमा निष्कर्षमा पुगिने जानकारी दिए । उनले मुुलुकलाई एउटा अन्योलमा राख्नुहुँदैन भन्ने पार्टीको भनाइ रहेको जनाउँदै प्रधानमन्त्रीले जे गर्दा देशका लागि उपयुक्त हुने हो त्यो आवश्यक परामर्शपछि गर्नुहुन्छ, भने ।
राजनीतिक दल र विज्ञसँग छलफल गरेर राजीनामा दिने तयारीमा प्रधानमन्त्री ओली
बैठकले सर्वोच्चको फैसलालले मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न हुने निष्कर्ष निकालेको छ । प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने तर त्यो फैसलाले मुलुकलाई राजनीतिक अस्थिरतातर्फ धकेल्ने प्रकारको भएको ओली समूहको निर्णय छ ।
प्रधानमन्त्री ओलीले राजनीतिक दलहरुसँग परामर्श गरेपछि राजीनामा दिने या नदिने टुंगोमा पुग्ने सहमति बनेको छ । विभिन्न राजनीतिक दल र विज्ञहरुसँग प्रधानमन्त्रीले छलफल गर्ने अनि मात्र राजीनामा दिने तयारी रहेको बैठकमा सहभागी एक सदस्यले बताए । राजीनामा दिएर पनि लामो समयसम्म नयाँ प्रधानमन्त्री बन्न नसकेर कामचलाउ सरकारले काम गरेको विगतलाई मध्यनजर राखेर छलफलपछि मात्र राजीनामाबारे निष्कर्षमा पुग्ने ओली समूहले स्पष्ट पारेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो । राजनीतिक परिस्थिति र आगामी दिनमा आफूहरु कसरी अघि बढ्ने भन्दै बैठकमा छलफल भएको एक नेताले बताए ।
मुलुकलाई अनिर्णयको बन्दी नबनाउने तर राजीनामाबारे केन्द्रीय कमिटी र संसदीय दलमा छलफल गरेर निष्कर्षमा पुग्ने निर्णयसमेत भएको छ । ओली समूहका व्यक्तिहरु छलफलमा रहेको अवस्थमा अर्को पक्ष अर्थात दाहाल नेपाल समूहले संसदीय दलको बैठक बोलाइसकेका छन् । संसदीय दलको बैठक दलको नेता वा उपनेताले बोलाउने गर्छ ।