एजेन्सी । बाख्राको बोसो, मृगको मासुका साथै प्राचीन गहुँ र एक जातको उन्यू । मास्टर शेफुमा देखाइने जस्तो खानाको विवरण यो होइन। यो त मानवका केही पुर्खाले गर्ने पोषिलो भोजन थियो।
ओएट्जी नाम दिइएका हिममानवको अन्तिम भोजन सन्तुलित भए पनि त्यसमा बोसोको मात्रामा धेरै रहेको वैज्ञानिकहरूले बताएका छन् । त्रिपन्न सय वर्षअघि ओएट्जी जीवित थिए । उनको मृत्यु एउटा जमेको हिमतालमा भयो ।
सन् १९९१ मा फेला नपर्दासम्म उनको शरीर हजारौँ वर्ष त्यहीँ सुरक्षित रह्यो । मृत्यु हुनुभन्दा अघि उनले खाएका कुरासहित वैज्ञानिकहरूले ओएट्जीका जीवनका विभिन्न पक्षहरू पत्ता लगाएका छन् ।
उनीहरूका अनुसार ती हिममानवले जङ्गली बाख्राको बोसो, रातो मृगको मासु, आइन्कोर्न भनिने जङ्गली गहुँ र विषालु उन्यू खाएका थिए ।
कति चिल्लो ?
उनको खानामा चिल्लो पदार्थ ५० प्रतिशत थियो । त्यो मात्रा औसत आधुनिक खानामा हुने १० प्रतिशत भन्दा बढी हो ।
‘हिममानवले सिकार गर्ने गरेको उचाइलाई ध्यानमा राख्ने हो भने तपाईँलाई त्यस्तै किसिमको ऊर्जा आवश्यक पर्छ, युर्याक रिसर्च इन्स्टिट्यूट फोर ममी स्टडीज, इटलीका डा. फ्रान्क माइक्स्नर भन्छन् । ‘त्यस्तो कठिन वातावरणमा बाँच्न आवश्यक ऊर्जा पाउने उत्तम उपाय भनेको चिल्लोपदार्थ खाएर नै हो ।’
यसले हाम्रो पुर्खाहरूको खानेकुराबारे के भन्छ ?
सन् २०१८ मा करेन्ट बायोलोजी भन्ने जर्नलमा प्रकाशित सो अध्ययनले ताम्रयुगमा कस्तो खाना हुन्थ्यो भन्ने दुर्लभ झल्को दिन्छ । हिममानवको आहाराको पहिला पनि विश्लेषण भएको हो तर यसरी विस्तृत रूपमा भने गरिएको थिएन । यो अनुसन्धान चाहिँ उनको पेटमा रहेका वस्तुमा आधारित छ ।
उनको शरीर प्राकृतिक रूपमै सुकेर एवम् खुम्चिएर कालान्तरमा परिरक्षित हुँदा पेट भने स्वाभाविक स्थानमा थिएन। त्यसैले उनको पेट भर्खरै पत्ता लाग्यो । उनको पेटमा रहेको चिल्लो दुग्धपदार्थबाट नआएको बरु युरोपको एल्प्स पर्वतमालामा बस्ने जङ्गली बाख्राको एउटा प्रजाति एल्पाइन आइबेक्सको रहेको वैज्ञानिकहरूले पत्ता लगाएका छन् । ‘हिममानवको खानामा कार्बोहाईड्रेट, प्रोटीन र चिल्लो पदार्थको सम्मिश्रण थियो, माइक्स्नरले भने ।
आश्चर्यजनक कुरा चाहिँ उनले खाएको धेरै मात्राको चिल्लोपना नै हो ।
स्वाद कस्तो ?
ओएट्जी यही खानाको भरमा हिउँमा हिँड्न सके होलान् तर त्यो खासै स्वादिलो नभएको हुनसक्छ । बाख्राको बोसोको स्वाद कस्तो थियो भनेर कल्पना गर्न कठिन छ, माइक्स्नरले भने । यो पक्कै पनि हिजोआज हामीले खानेजति स्वादिलो हुँदैनथ्यो ।
त्यतिबेला नुन पनि हुन्नथ्यो भन्ने कुरा ख्याल गर्ने हो भने मासुको स्वाद, चिल्लो खानेकुरा सोच्दा मलाई लाग्छ यो मुस्किलले खान सकिन्थ्यो । ती हिममानवले प्रशोधित खानेकुरामा भर पर्नु नपर्ने भए पनि उनको खानामा नकारात्मक पक्ष पनि थियो ।
मृत्यु हुँदा उनका रक्तनलीहरू बन्द भएका सङ्केतहरू देखिएका छन् । उनको मृत्यु लडाइँ गर्दागर्दै भएको हुनसक्छ । किनभने उनले तामाको हतियार बोकेका थिए र उनको शरीरमा कैयौँ घाउहरू भएका थिए ।
हिममानवले जडीबुटी खान्थे ?
अनुसन्धानकर्ताहरूले उनको पेटमा एक किसिमको उन्यू भेटेका थिए । यसलाई ती हिममानवले जडीबुडी प्रयोग गरेको सङ्केतका रूपमा बुझ्न सकिन्छ ।
अथवा उनले उन्यूका पातमा खानेकुरा बेरेको पनि हुनसक्छ । त्यसो गर्दा दुर्घटनावश उन्यूको विषालु बीउ उनको पेटमा पुगेको हुनसक्छ । उनले मासु आलै वा सुकुटी बनाएर खाएको हुनसक्छ । साभार बिबिसीबाट