तेह्रथुम । मुलुकमा संघीयता कार्यान्वयन भएर तीन तहको सरकार लागु भएको ३ वर्ष भइसकेको छ । तीन तहको सरकार अन्तर्गत संघ, प्रदेश र स्थानीय तहको सरकार कार्यान्वयनमा आएको छ ।
जसअन्तर्गत स्थानीय सरकारले आफ्नो कार्यभार समाल्न थालेको पनि ३ वर्ष नाघिसकेको छ । तर, कतिपय ठाउँमा स्थानीय तहकहरु भवन अभावका कारणले साँगुरो भवनबाट कार्य सम्पादन गर्न बाध्य भएका छन । यस्तै अवस्था तेह्रथुमको लालिगुँराश नगरपालिकाले पनि झेल्दै आएको छ । जनप्रतिनिधीले निर्वाचित भएर आएपछि लालिगुँराश नगरपालिकाले सानो भवनबाट सेवाग्राहीलाई सेवा दिन बाध्य भएको छ ।
नगरपालिका बन्नुअघि सामुदायिक भवनको नाममा रहेको भवन नगरपालिकाले प्रयोग गर्दै आएको छ । नगरपालिकाका लागि बल्लतल्त भेटिएको सो भवनमा साँगुरो कोठा, त्यसमा पनि मुस्किलले कार्यालयको नियमित काम भइरहेको छ । साँगुरो भवनबाट सेवा प्रवाह हुँदा समस्या भएको सेवाग्राहीको गुनासो छ ।
नगरपालिकाको भवन धेरै साँगुरो भएको कारणले धेरैजसो समय सेवा लिन समस्या भएको लालिगुँराश नगरपालिका वडा नं. ३ का सुरेन्द्र कार्कीले बताए । उनले धेरै सेवाग्राही आएको बेला सबै काम एउटै कोठाबाट हुने हुँदा जनप्रतिनिधी र कर्मचारीहरु अल्मलिने गरेको बताए । यस्तै लालिगुँराश नगरपालिका वडा नं. ८ का उक्त बहादुर तेयुङले नगरपालिका भवन जिर्ण अवस्थामा रहेको बताए। उनले नगरपालिकाको बैठक भएको बेला सेवा लिन नसकिने बताए । सबै काम एउटै कोठामा हुने भएकाले चाहेअनुसारले सेवा लिन नपाएको तेयुङले बताए ।
लालिगुराँश नगरपालिकाको भवन साँगुरो हुँदा भौतिक अभाव मात्रै भएको छैन । सबै सेवाग्राहीले देख्ने गरि नागरिक बडापत्र समेत राखिएको छैन । नागरिक बडापत्र भित्र एकान्तमा राखिएको छ । नगरपालिकाको आफ्नै भवन नहुँदा वैकल्पिक भवनबाट सेवा प्रवाह गरिरहेको नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत निराजन श्रेष्ठले बताए । सेवाग्राही चाप हुँदा सेवाग्राहीले जस्तो अपेक्षा लिएर आएपनि प्रक्रियागत रुपमा सेवा दिएको भएपनि भौतिक असुविधाका कारण सेवाग्राहीलाई बस्ने ठाउँ, खानेपानीको सुविधा नहुने प्रमुख प्रसासकिय अधिकृत श्रेष्ठले बताए । उनले भवन अभाव कै कारणले नागरिक बडापत्र देखिने ठाउँमा राख्ने र सेवाग्राहीलाई भौतिक सुविधा सहित सेवा दिने अवस्था नभएको बताए ।
सबैतिर अपांगमैत्री भवनको कुरा चलिरहेको बेला लालिगुराँश नगरपालिकाको भवन सपांगमैत्री पनि नभएको र एउटै टेबलमा ३ जना कर्मचारीले काम गर्नुपरेको प्रमुख प्रसासकिय अधिकृत श्रेष्ठले बताए । उनले प्रमुख प्रसासकिय अधिकृतको कोठामा ४ जना मानिस अट्न सक्ने क्षमता नभएको बताए । प्रमुख प्रसासकिय अधिकृत श्रेष्ठले आफू भर्खरै यो नगरपालिकामा आएकोले जनप्रतिनिधीहरुसँग सरसल्लाह गरेर यो समस्याको समाधान गर्न पहल गर्ने बताए ।
जनप्रतिनिधिहरुलाई भेटन जनताहरुको चाप बढेको बेला पनि समस्या हुने गरेको छ । नगरपालिकामा वाािर्षक करिव ४० करोडको बजेट भएपनि विकास बजेट करिब १० करोडको मात्रै हुने गरेको छ । जसमा आधा बजेट वडालाई विनियोजन गर्नै पर्ने अवस्था छ । बाँकी रहेको बजेटले नगरपालिकाले खानेपानी, सिचाइ, सडकजस्ता काममा छुट्याउनै परेको नगर प्रमुख अर्जुन माबोहाङले बताए । नगर प्रमुख माबोहाङले भवन बनाउन करिब ३ करोड बजेट लाग्ने भएपनि त्यो बजेट नगरपालिकाले वार्षिक बजेटबाट विनीयोजन गर्न नसक्ने बताए । उनले नगरपालिकाको नाममा जग्गा पनि नभएकोले प्रदेश वा संघ सरकारबाट बजेट पाए जग्गा किनेर भवन बनाउन सक्ने बताए ।
नगर प्रमुख माबोहाङले नगरपालिकासँग भवन बनाउने पैसा नभएको बताए । उनले प्रदेश र संघ सरकारसँग नगरपालिकाको भवनको विषयमा कुरा गरेको भएपनि प्रदेश र संघ सरकार नेकपाको भएको र लालिगुराँश नगरपालिकाका अधिकांश जनप्रतिनिधी नेपाली कांग्रेसको तर्फबाट निर्वाचित छन् । फरक पार्टी भएर सुनुवाइ नगरेको उनिहरुको भनाइ छ । उनले कांग्रेसबाट टीकट पाएर स्थानीय तहको जनप्रतिनिधी भएकालाई प्रदेश र संघको मन्त्रालय खुल्ला नभएको गुनासो गरे। मन्त्रालय गएर मन्त्री वा कसैलाई भेट्न खोजे फरक पार्टीको भनेर भेट नदिएको माबोहाङको भनाइ छ ।
प्रदेश र संघ सरकार जस्तै स्थानीय तहमा नेकपाकै सरकार भएको ठाउँमा स्थानीय तहले खर्च गर्न नसकेर बजेट फिर्ता हुने गरि बजेट आएको भएपनि फरक पार्टीको सरकार भएको ठाउँमा प्रदेश र संघ सरकारबाट बजेट नआएको उनको भनाइ छ ।