काठमाडाैं । नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले केन्द्रीय सदस्यहरुलाई ‘हाइअलर्ट’ रहन निर्देशन दिएका छन् ।
शुक्रबार पेरिसडाँडामा भएको केन्द्रीय समितिको आकस्मिक बैठकमा अध्यक्षद्वय प्रचण्ड–नेपालले जुनसुकै परिस्थितिमा पनि उपस्थित हुनुपर्ने अवस्थामा रहने भएकाले तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।
केन्द्रीय सदस्य यज्ञराज सुनुवारका अनुसार, पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगमा पेश गर्ने सबै डकुमेन्ट तयार पारिएको र भौतिक रुपमा पनि उपस्थित हुनुपर्ने अवस्थामा केन्द्रीय सदस्यहरुलाई अध्यक्षद्वयले ‘हाइअलर्ट’ रहन निर्देशन दिएका हुन् ।
करिब दुई घण्टासम्म चलेको बैठकमा प्रतिनिधिसभा पुनस्र्थापना हुन्छ भन्नेमा पार्टी विश्वस्त रहेको भन्दै अध्यक्षद्वयले केन्द्रीय सदस्यलाई तयारी अवस्थामा रहन निर्देशन दिए । बैठकमा कानुन मरेको देश भएकाले जुनसुकै स्थितिमा बैठक बस्नुपर्ने, विभिन्न निकायमा पुग्नुपर्ने परिस्थिति आउने भएकाले तयारी अवस्थामा रहन अध्यक्षद्वयको निर्देशन थियो ।
पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगमा बुझाउन नागरिकता र परिचयपत्र संकलन गर्न शुक्रबार सबै केन्द्रीय सदस्यहरुलाई पार्टी कार्यालयमा बोलाइएको थियो । केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको अवस्थामा आकस्मिक रुपमा बैठक बसेको थियो ।
बैठकमा आफ्नो संक्षिप्त धारणामात्रै राखेका प्रचण्डले बाँकी विश्लेषणको व्याख्या अर्का अध्यक्ष माधव नेपाललाई आग्रह गरेका थिए। त्यसपछि अर्का अध्यक्ष माधव कुमार नेपाल र नेता नारायणकाजी श्रेष्ठले बदलिँदो वर्तमान राजनीतिक अवस्था, सर्वोच्च अदालतको फैसला, निर्वाचन आयोगले निर्णय गर्न गरेको ढिलाइ र प्रधानमन्त्री केपी ओलीले अझै पनि अवस्था आफ्नो पक्षमा पार्न गरिरहेको षड्यन्त्र र सम्भावित कदमबारे विश्लेषण गरेका थिए।
बैठकमा उपस्थित केन्द्रीय सदस्यहरुले नागरिकताको प्रतिलिपी बुझाउँदै हस्ताक्षर गरेका छन्। एक केन्द्रीय सदस्यका अनुसार शुक्रबारको बैठक झण्डै दुई घण्टा चलेको थियो। बैठकमा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा आफूहरू विश्वस्त रहेको बताएका छन्। शुक्रबार केन्द्रीय समिति बैठकमा बोल्दै दाहालले संसद पुनर्स्थापनामा प्रश्न नै नभएको बताएका हुन्। उनले निर्वाचन आयोगले आफ्नो समूहलाई आधिकारिकता दिने पनि दाबी गरे। ‘निर्वाचन आयोगमा परिस्थिति अलि सङ्लियो भन्ने लागेको छ,’ दाहालले भने।
पछिल्लो राजनीतिक अवस्था र आन्दोलनबारे जानकारी दिन केन्द्रीय कमिटी बैठक बोलाइएको हो। बैठकमा बोल्दै अर्का अध्यक्ष माधवकुमार नेपालले ओली पक्षले जे–जस्ता तर्क गरे पनि निर्वाचन आयोगको आधिकारिकता आफूहरूले पाउने दाबी गरेका थिए।
शुक्रबार नै प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटको बहस सर्वोच्च अदालतमा सकिएको छ। अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने भन्दै प्रचण्ड-नेपाल समूह विश्वस्त छ। प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटनपछि प्रचण्ड(नेपाल समूह आन्दोलनमा छ। ओलीलाई यो समूहले आफ्नो समूहबाट हटाइसकेको छ। ओली नेतृत्वमा अर्कै नेकपा छ । दुबै नेकपाले निर्वाचन आयोगमा आधिकारिकताको दाबी गरेका छन् ।