सुनसरी । प्रदेश १ का पूर्वी पहाडी क्षेत्रमा वर्षासँगै परेको हिमपातले यातयात अवरुद्ध भएको छ । हिमपात भएपछि कोशी राजमार्गमा सवारीसाधन सञ्चालनमा अवरोध भएको छ ।
हिमपातमा सवारीसाधन सञ्चालन गराउँदा दुर्घटनाको जोखिम बढेकोले आवातआवत गर्ने सवारीसाधन रोकिएको प्रहरीले जनाएको छ । सडकमै हिमपात भएका कारण सवारी चिप्लिएर दुर्घटना हुनसक्ने जोखिम रहेकाले सतकर्ता अपनाइएको हो ।
बाक्लो हिमपात भएपछि ती ठाउँको जनजीवन प्रभावित भएको छ। हिमपात विशेषगरी तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तिनजुरे मिल्के जलजले क्षेत्रमा भारी मात्रामा भएको छ। तीनजुरे, पटेकडाँडा, मार्गा, गुफा बजार, मेन्छ्यायाम डाँडा, लसुने, जिरिखिम्ती, हरीसे, गुफापोखरीलगायतका लेकाली क्षेत्रमा भारी मात्रामा हिमपात भएपछि हिउँले सेत्याम्य भएका छन्।
ती क्षेत्रमा बाक्लो मात्रामा हिउँ परेपछि सिसाजस्तै हिउँ जमेको छ। हिमपात भएपछि चिसो बढेकाले जनजीवन प्रभावित भएको स्थानीय छिरिङ लामाले बताए। हिमपात भएपछि बिहीबार बेलुका घरबाहिर निस्कन नसक्ने अवस्था आएको उनले बताए । हिउँ परेपछि जाडोले बालबालिका, वृद्धवृद्धा र पशु चौपाया बढी प्रभावित भएको लामाले बताए ।
एक्कासी हिउँ परेकाले लेकाली क्षेत्रका जंगलमा रहेका चौंरी तथा भेडी गोठहरु औल क्षेत्रमा झार्न नपाएको नुनढाकीका लाक्पा गेलु शेर्पाले बताए । यसैबीच वर्षा संगै जिल्लामा हिमपात भएपछि बानीनाली सप्रने भन्दै किसान उत्साहित भएका छन। करिब दश महिनापछि वर्षात् भएको र त्योसँगै हिमपात पनि भएकाले लेकाली क्षेत्रमा हुने तरकारी बालीलाई फाइदा पुग्ने किसानको भनाइ छ।
फाेटाे