काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव हुनुपर्नेमा जोड दिइरहेका बेला सभापतिका दाबेदार मानिएका नेता शेखर कोइराला भने आन्दोलनको पक्षमा उभिएका छन्। आन्दोलनबिना संसद् पुनर्स्थापना र चुनाव दुवै नहुने उनको निष्कर्ष छ।
कोइरालाले फागुन ५ मा बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा आन्दोलन चर्काउने प्रस्ताव लैजाने तयारी पनि गरेका छन्। माघ २७ गते धुलिखेलस्थित आगन्तुक रिसोर्टमा कोइरालाले प्रतिनिधि सभा विघटन र पार्टीको महाधिवेशनको विषयमा केन्द्रित रहेर ७ युवा नेतासँग रणनीतिक बैठक गरेका थिए।
बैठकमा गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, जीवन परियार, गुरुराज घिमिरे, दीपक गिरी र बद्री पाण्डे सहभागी थिए, जो अबको कांग्रेसको राजनीतिमा निर्णायक शक्ति मानिन्छन्। धुलिखेल बैठकमा सहभागी नेताहरुका अनुसार कोइरालाले प्रतिनिधि सभा विघटन गर्ने कदमविरुद्ध सशक्त आन्दोलन हुनुपर्ने बताएका थिए।
कोइरालाले संविधान बनाउन ओलीको कुनै भूमिका नभएको पनि बताएका थिए। ‘लोकतान्त्रिक गणतन्त्र ल्याउने कुरामा होस् वा संविधान बनाउन होस्, यसमा केपी ओलीको भूमिका छैन, बरु यो व्यवस्था र संविधान बनाउन प्रचण्ड–माधव नेपालको भूमिका निकै छ,’ कोइरालाले भने।
देउवाले मुखले विरोध गरेपनि ओलीसँगको मिलेमतोमा संवैधानिक आयोगमा नियुक्ति गराएको आरोप लागिरहेको छ। यस्तो बेलामा कांग्रेसका प्रभावशाली नेता कोइरालाले युवा नेताहरूसँग छलफल गरेर आन्दोलनबिना चुनाव पनि नहुने निष्कर्ष निकालेका हुन्।
आन्दोलन र जनदबाबले मात्र संसद् पुनर्स्थापना हुने कोइरालाको भनाइ थियो। पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले कांग्रेससहित अन्य दललाई संयुक्त आन्दोलनमा आउन आग्रह गरिरहेको छ। धुलिखेलमा कोइरालाले छानिएका सात युवा नेताहरूसँग बसेर खासगरी सभापतिमा आफ्नो उम्मेदवारीबारे लेखाजोखा गरेको र महाधिवेशन केन्द्रित रणनीति बनाएको बताइएको छ। तर सहभागी युवा नेताहरू त्यसबारे खासै खुल्न चाहेनन्।
२०७८ भदौभित्र कांग्रेसको महाधिवेशन गर्नुपर्ने बाध्यकारी अवस्था छ। अहिलेको कार्यसमितिको समयसीमा फागुन १९ गते सकिँदैछ। त्यसपछि फेरि ६ महिनाभन्दा बढी समय थप गर्न मिल्दैन। युवा नेताहरूले कोइरालासँग कांग्रेसको आगामी महाधिवेशन र नेतृत्वको विषयमा चासो राख्दै संस्थापनइतरका सभापतिका आकांक्षीहरु एकठाउँमा आउन र एक मत भएर नेतृत्व चयन गरेर जान सुझाव दिएका थिए।
आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसलगायत दलसँग छलफल भइरहेकाले अब ‘केही समय’भित्रै संयुक्त आन्दोलन सुरु हुने दाबी गरेका छन्। आज (मंगलबार) बिहान चितवनमा पत्रकारहरूसँग प्रचण्डले कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूसँग संयुक्त आन्दोलन गर्नेबारे छलफल भइरहेको जानकारी दिएका हुन्।
प्रचण्डले भने, ‘हिजो मैले शेरबहादुर देउवासँग कुरा गरेँ, रामचन्द्र पौडेल र अरू नेतासँग पनि कुरा गरिराखेकै छु। जसपाका नेताहरूसँग पनि कुरा भइराखेकै छ। केही समयभित्र संयुक्त आन्दोलन हुन्छ भन्ने लागेको छ।’ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ का लागि चुनाव तोकेकी छन्।
तर यो कदम असंवैधानिक ठहर गर्दै सत्तारुढ नेकपाकै प्रचण्ड–नेपाल पक्ष संसद् पुनःस्थापना हुनुपर्ने माग गर्दै चरणबद्ध आन्दोलनमा उत्रिएको छ भने कांग्रेस र जनता समाजवादी पार्टी पनि प्रतिनिसभा विघटनविरुद्ध आन्दोलनरत छन्।
अहिले एक्लाएक्लै आन्दोलन गरिरहेका आफूहरूबीच संयुक्त आन्दोलन गर्ने विषयमा कुरानकानी भइरहेको नेकपा अध्यक्ष प्रचण्डको भनाइ छ। गत माघ २८ गते आफ्नो पार्टीले गरेको आम हडतालका बेला पनि प्रचण्डले ललितपुरमा फागुनको पहिलो साता संयुक्त आन्दोलन सुरु हुने विश्वास व्यक्त गरेका थिए। संविधान मिचेर घोषणा गरिएको चुनाव आफैंमा अवैधानिक हुने प्रचण्डको दाबी छ। कान्तिपथ