काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समूहले आज चौथो चरणको आन्दोलन थाल्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको कदमलाई ‘प्रतिगमन’ भन्दै प्रचण्ड नेपाल समूह पुस ५ पछि आन्दोलीत छ।
चौथो चरणका कार्यक्रमअन्तर्गत आजदेखि २१ गतेसम्म जिल्ला स्तरीय विरोध प्रदर्शन, सभा लगायतका विरोध कार्यक्रम हुँनेछन् । भोलि राजधानीको टुंडिखेल मानव साङ्लोले घेर्ने कार्यक्रम छ । कार्यक्रम अन्तर्गत फागुन ७ मा सबै वडामा विरोध गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन गर्ने उनले बताए ।
पुस ५ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड नेपाल समूह आन्दोलनमा छ । यो समूहले गत माघ २८, माघ ९ र पुस १३ मा काठमाडौँमा प्रदर्शन गरेको थियो । काठमाडौं बाहिर प्रदेश १ को विराटनगर, बुटवल, सुर्खेत र धनगढीमा पनि प्रदर्शन र विरोध भएको थियो ।
श्वेतपत्र जारी गर्दै
संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड माधव नेपाल पक्षले आम नागरिकलाई विश्वास दिलाउन प्रतिबद्धता पत्र लेख्ने गृहकार्य थालेको छ। संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठको संयोजकत्वमा प्रतिबद्धता पत्र लेख्ने कार्यदल बनेको छ । गएको माघ २६ मा बसेको संघर्ष समितिको बैठकले श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।
प्रतिबद्धतापत्रको मस्यौदा तयार पार्न बनेको कार्यदलमा भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, जनार्दन शर्मा, वर्षमान पुन, लीलामणि पोखरेल, बेदुराम भुसाल लगायत सदस्य छन् । ‘कार्यदल बनेको छ, अब यसले प्रतिबद्धतापत्र तयार पार्ने गरी छलफल अगाडि बढाउँदैछ,’ वेदुराम भुसालले भने । नागरिक अगुवाहरुले आमनागरिकलाई सडक संघर्ष, सत्ता परिवर्तन र पद प्राप्तिको लागि मात्रै होइन भन्ने स्वेतपत्र जारी गर्न सुझाव दिँदै आएका छन् ।