काठमाडौं । फुटको वैधानिकता पर्खिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट विभाजित नेकपा ओली समूहमा विवाद बढ्दै गएको छ ।
जनयुद्धका एक हस्तिका रुपमा चिनिएका वर्तमान गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्री तथा ओली नेकपा अध्यक्ष केपी शर्माओलीबीच विवाद बढेको हो । ओलीसँग गृहमन्त्री बादल समूह पार्टीभित्रको जिम्मेवारी बाँडफाँट, राजनीतिक नियुक्ति र वरियताका विषयमा असन्तुष्ट बन्दै गएको छ ।
नेकपा बन्दा पूर्व माओवादी केन्द्रबाट आएका बादल, टोेपबहादुर रायामाझी, लेखराज भट्ट, मणी थापा, प्रभु साह अहिले ओली नेकपा समूहमा छन् । अहिले ओली समूहमा बादल, थापा, भट्ट, साह पूर्व नेकपा एमालेको ओली र इश्वर पोखरेलको पेलाइमा परेको दुखेसो गर्दै आएका छन् । ‘तत्कालिन नेकपा एमालेसँग एकता हुँदा पूर्व माओवादी केन्द्रबाट आएका नेताहरु र पूर्व एमालेका नेताहरुको कुरै मिल्न छाडेको छ,’ स्रोत भन्छ, ‘ओली समूहबाट विस्तारै विस्तारै पूर्व माओवादी समूह अब नेकपा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहमा जाने पक्का देखिन्छ ।’
यता ओलीले नेकपा विभाजन हुँदा तठस्थ बसनेका नेकपा उपाध्यक्ष वामदेव गौतमलाई गृहमन्त्री बन्न प्रस्ताव राखेपछि बादल समूह झनै असन्तुष्ट बनेको छ । बादल निकट एक स्रोत भन्छ, ‘ओलीसँग दुरी बढ्दै गयो, गलत भयो, बादल कामरेडलाई उर्जामन्त्री टोपबहादुर रायमाझी, लगायतका पूर्व माओवादी नेतासँग गठबन्धन गर्न सुझवा दिएका छौँ ।’
विश्वासिला पात्रहरुको सुझावका अनुसार बालद अहिले रायामाझीको साथ खोजिरहेका छन् । गएको माघ ६ गते भएको नेकपा बागमती प्रदेशको पुनर्गठन र माघ २५ र २६ गते युवा संघको भेलामा एकलौटी गरिएको भन्दै बादल समूहका कार्यकर्ता रुष्ट बनेका छन् ।
ओली समूहले बागमती प्रदेशको अध्यक्ष आनन्द पोखरेललाई बनाइएको छ । सचिव पद बादल समूहलाई दिने प्रतिबद्धता अलीले गरेका थिए । तर, पुनर्गठनका बेला ईश्वर पोखरेलनिकट धादिङका खेम लोहनीलाई सचिव बनाइएको थियो ।
बादलनिकट राजकुमार श्रेष्ठलाई बागमती प्रदेशको सचिव बनाउने तयारी थियो । तर, अन्तिम अवस्थामा बनाइएन । जसले गर्दा बादल समूह ओलीसँग रुष्ट बनेको छ । नेकपा ओली समूहको केन्द्रीय समिति गठन गर्दा पनि बादल निकट केन्द्रीय सदस्य २२ जना मात्र परेका छन् ।
नेकपा विभाजनका बेला आफुलाई साथ दिँदै आएका नेताहरू सबै प्रचण्ड–नेपालतिर नै छाडेर ओली समूहमा लागेका थापाले तल्लो तहका कार्यकर्तालाई आफूतिर तान्न पद दिलाउने बाचा गरेका थिए । तर, अहिले एक जनालाई पनि बाचाबमोजिमको जिम्मेवारी उनले बादलले नसकेपछि निराश बनेका छन् ।
‘बादल दाइले जसरी पनि मिलाउँछु भन्नुहुन्थ्यो,’ बागमती प्रदेश सचिव बन्न नपाएका थापानिकट केन्द्रीय सदस्य राजकुमार श्रेष्ठले भने, ‘तर, नतिजा अर्कै आयो । यसले आशंका जन्माएको छ । सबै कुरा टुंगिसकेपछि उहाँले कसरी मिलाउनु हुन्छ ?’
७७ वटै जिल्लामा गठन गरिएको भूमि समस्या समाधान आयोगको अध्यक्ष र विज्ञ सदस्यमध्ये एक पद आफूले पाउनुपर्ने थापाको अडान थियो । त्यसैअनुसार उनले ७७ वटै जिल्लाका नेताहरुको नामावाली पठाएका थिए । त्यसमा एकदुई जनाबाहेक कहीँ पनि बादलनिकट नियुक्त नभएको अवस्था छ ।
अर्कोतिर युवा संघको विवादले ओली र थापाबीचको वैमनश्यलाई सतहमा ल्याइदिएको थियो । माघको २५ र २६ गते थापा समूहका युवाहरुको बहिस्कारबीच ओली पक्षले वचनबहादुर सिंहको अध्यक्षतामा युवा संघको कार्यसमिति पुनर्गठन गरेको थियो ।
जसका कारण थापा पक्षले आफूहरु पेलिएको महसुस गरेको छ। युवा संघको विवाद अझै मिलेको छैन। आगामी स्थायी समितिको बैठकमा यो विवाद समाधान गर्ने नेताहरुले बताएपनि त्यसमा समेत युवा नेताहरु ढुक्क हुन सकेका छैनन् ।
तर, गृहमन्त्री थापा अहिले नै ओलीसँग भिड्ने अवस्थामा नरहेको उनी निकट केन्द्रीय सदस्य नवीन रोकामगर बताउँछन् । ‘अहिलेसम्मको गतिविधि हेर्दा पार्टीभित्र पेलिएको भन्ने केही प्रश्न उठेको छ। तर, परिस्थिति नभड्कियोस् भनेर अहिले नै आमनेसामने नभइ संयमता अपनाएको मात्र हो,’ केन्द्रीय सदस्य रोकामगरले भने, ‘आमनेसामने गर्दा कतिवटा पार्टी बनाउने ? अहिले पार्टीभित्र प्राविधिक समस्या भएका छन् । मिलाउन सकिन्छ र मिल्छ ।’
पूर्वमाओवादीबाट बादल सहित, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, दावा तामाङ र गौरीशंकर चौधरी ओली पक्षमा लागेर मन्त्री बनेका छन् ।
आफ्ना पक्षबाट यतिधेरै मन्त्री भएपनि पार्टीभित्र भने कमजोर अवस्थामा रहेको भन्दै नेताहरुले थापामात्र होइन रायमाझीसँग पनि गुनासो गरेका छन्।
‘संगठित रुपमा लड्न नसकेको देखिन्छ, कोही मन्त्री भए। तर, एक्लाएक्लै नेताहरु ओलीको पार्टीमा जान थालेकाले एजेन्डा एउटै बनेन र कमजोर जस्तो देखिएको छ,’ श्रेष्ठले भने।
थापालाई दैनिकजसो नेताहरुले भेटेर आफ्नो पक्षको रक्षा गर्न सुझाव दिँदै आएका छन् । केहीदिन अघि उर्जामन्त्री रायमाझीलाई समेत भेटेर उनीहरुले पूर्वमाओवादीले एकतावद्ध भएर दह्रो उपस्थिति जनाउन सुझाव दिएको श्रेष्ठले बताए ।
उनका अनुसार थापा र रायमाझीबीच पनि यस विषयमा कुरा भइसकेको छ । गृहमन्त्री थापा आफ्नो समूहअन्तर्गत देशभर युवा संघजस्तै संगठन बनाउन चाहन्थे । तर, उनले त्यसो गर्न सकेनन् ।
त्यस्तै, वरियताको विषयमा पनि थापा ओलीसँग चिढिएका छन् । पूर्वमाओवादी खेमाको नेतृत्व गरेकाले आफूले दोस्रो वरियता पाउने उनको आशा थियो । प्रधानमन्त्री ओलीले नै थापालाई ईश्वर पोखरेलसँग समान वरियता दिने आश्वासन दिएका थिए ।
अर्कोतिर, ओलीले गत आइतबार वामदेव गौतमलाई भेटेर उपप्रधानसहित गृहमन्त्री बन्न प्रस्ताव गरेका छन् । गौतमले सो प्रस्ताव माने भने थापाले गृहमन्त्री पद छाड्नुपर्ने हुन्छ । जसका कारण थापा अझ सशंकित बनेका छन् ।