काठमाडौं । राज्यविरुद्धको कसुरमा प्रहरी हिरासतमा पुगेकी सत्तारुढ नेकपाको प्रचण्ड(माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले धैर्य गर्न नेता कार्यकर्तालाई आग्रह गरेकी छन् ।
अपराध अनुसन्धान, मिनभवनबाट सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो आग्रह गरेकी हुन् । उनले यो अन्तिम लडाइँ भएको पनि बताएकी छन् ।
राज्यको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो: नेकपा
नेकपाकी नेतृ रामकुमारी झाँक्रीको गिरफ्तारीले राज्यको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको आरोप लगाइएको छ ।
नेकपाको प्रचण्ड माधव समूहको नेतृ झाँक्रीको गिरफ्तारी लोकतन्त्रमाथिको हस्तक्षेप भएको दाबी गरेको छ । नेकपा प्रचण्ड÷माधव पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै झाँक्रीको गिरफ्तारीले राज्यको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो बनाएको बताएका छन् ।
श्रेष्ठले विज्ञप्तिमार्फत राजनीतिक नेतृत्वमाथिको अभिव्यक्तिलाई राज्यविरुद्धको कसुर देख्नु दृष्टिभ्रम र स्वेच्छाचारिताबाहेक केही नभएको भन्दै पूर्वाग्रह त्यागेर झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेका छन् । प्रवक्ता श्रेष्ठले झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्नका लागि सरकारसँग माग गरेका छन् ।
उत्पीडित वर्गमाथिको हमलाः प्रचण्ड
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृ झाँक्रीको पक्राउ उत्पीडित वर्गमाथिको हमला भएको बताएका छन् ।
आदिवासी जनजाती मगर संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले तानाशाहको बाटोमा रहेको सरकारले आदिवासी तथा उत्पीडित समूदायमाथि हमला गरेर झाँक्रीलाई पक्राउ गरेको बताएका छन् ।
झाँक्रीलाई बिहीबार मध्यान्ह उनकै निवास शंखमुलबाट प्रहरीले पक्राउ गरी महानगरीय अपराध महाशाखामा लगेको छ ।
झाँक्रीको पक्राउले सरकारको चरित्र उदांगोः पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर आफ्नो अधिनायकवादी चरित्र उदांगो पारेको बताएका छन् ।
नेता पौडेलले ट्विट गर्दै संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले नाङ्गो हस्तक्षेप गरेको आरोप लगाएका छन् । नेता पौडेलले झाँक्रीलाई पक्राउ गरिएको घटनाको घोर भत्सर्ना गर्दै उनलाई बिनाशर्त रिहा गर्नपनि सरकारसँग माग गरेका छन् ।