काठमाडौं । संसदीय व्यवस्था अन्त्य गर्न विप्लवसहित चार दलको संयुक्त मोर्चाको घोषणा गरेका छन् ।
प्रतिन्धित नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लवसहितका चार दलले संसदीय व्यवस्था अन्त्य गर्न आन्दोलनका कार्यक्रमसहित मोर्चाको घोषणा गरेको हो ।
मोर्चामा प्रतिबन्धित पार्टी, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपा छन् ।
चार पार्टी बीचको रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने पूर्व सहमतिलाई व्यावहारिक रूप दिन रणनीतिक संयुक्त मोर्चाको अवधारणा र संरचना सम्बन्धी दस्तावेज पारित गर्दै १५ सदस्यीय रणनीतिक संयुक्त मोर्चाको केन्द्रीय समिति घोषणासमेत गरेको छ ।
उक्त केन्द्रीय समितिमा सिपी गजुरेल, रामसिंह श्रीस, पवनमान श्रेष्ठ, सन्तोष बुढा, नवीनकुमार विश्वकर्मा, अज मोहम्मद, आधिराम कह्रेल, रामदुलार महतो, राजेश बात्र्तवा, जागृत रायमाझी, धनकुमारी सुनार र नवीन रिमाल गरी हाललाई १२ सदस्य रहेका छन् । बाँकी सदस्यपछि परिपूर्ति गर्ने बताइएको छ ।
रणनीतिक संयुक्त मोर्चाको केन्द्रीय समितिको प्रथम बैठकले अध्यक्ष र सचिव चयन गर्नेछ। रणनीतिक संयुक्त मोर्चाको प्रदेश, जिल्ला र आवश्यकता अनुसार स्थानीय तहसम्म समितिहरु गठन गर्दै लगिने बताइएको छ।
संयुक्त मोर्चाको पहिलो चरणको संघर्षका कार्यक्रम माघ २९ गते मोर्चाको घोषणा सभा काठमाडौं, फागुन ६ गते जनसभा बुटवल, फागुन १४ गते जनसभा धनगढी, फागुन १८ गते जनसभा इटहरीमा कार्यक्रम गर्ने भएको छ। पहिलो चरणका यी कार्यक्रमपछि दोस्रो चरणका संघर्षका कार्यक्रमहरू सार्वजनिक गरिने बताइएको छ।
कम्युनिस्ट पार्टीहरू, वामपन्थी, देशभक्त तथा सच्चा लोकतन्त्रवादी शक्ति र व्यक्तित्वहरूलाई यस रणनीतिक संयुक्त मोर्चामा सामेल हुन आह्वान गर्दै सम्पूर्ण न्यायप्रेमी तथा आमूल परिवर्तनका पक्षधर जनसमुदायलाई जन संघर्षमा लामबद्ध हुन हार्दिक अपिल समेत गरेको छ।