काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रचण्ड माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि भन्दै प्रहरीले बोलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई सोधपुछका लागि बोलाएको हो ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले सोधपुछका लागि बोलाएको स्वीकार गरेका छन् । तर झाँक्रीले आउन अस्वीकार गरेकी छन् । गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अनेम संघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो ।
प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनरत नेकपाले बुधबार काठमाडौंमा आयोजना गरेको आमसभामा नेतृ झाँक्रीले आफूले संस्थाको होइन संस्थाको गरिमा बचाउन नसक्ने भण्डारीको विरोध गरेको बताएकी थिइन् ।
स्रोतका अनुसार झाँक्रीलाई पक्राउ गर्नका लागि प्रहरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले तिव्र दबाब दिएका छन् । सोधपुछका लागि पक्राउ गर्न लागिएको एक प्रहरी उच्च अधिकृतले बताए ।
बुधबार झाँक्रीले आफूहरूले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता रहेको बताएकी थिइन् । भनेकी थिइन्, ‘बोल्न पाइन्छ, हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ । नागरिकको मुखमा टेप टाँसिएको छैन । सर्वसत्तावादका विरुद्ध बोल्न पाइन्छ । संविधानको चीरहरण गर्नेका विरुद्ध बोल्न पाइन्छ । संविधान र कानुनी राज्यको खिलाफमा सेटिङ र बन्द कोठाभित्र भएका अँध्यारा षड्यन्त्रका विरुद्ध बोल्न पाइन्छ ।’
झाँक्रीले राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्रीको असिस्टेन्टजस्तै भएर हरेक निर्णयमा सहीछाप गरेको भन्दै राष्ट्रपति पदमाथि नभएर भण्डारीको प्रवृत्तिमाथि आफू बोलेको र बोल्न पाइने जिकिर गरेकी थिइन् । राष्ट्रपतिका विषयमा झाँक्रीले दिएको अभिव्यक्तिले महिला अस्मिता मिचिएको भन्दै ओली पक्षको अखिल नेपाल महिला संघले उनलाई कारबाही गर्न माग गरेको थियो । उनले संविधानविरोधी काम गर्ने खलपात्रविरुद्ध बोल्दा होइन, भागरथी भट्ट र निर्मला पन्तहरूको बलात्कार र हत्या हुँदा महिला अस्मिता मिचिएको बताएकी थिइन् ।
राष्ट्रपतिबारे आफूले गरेका टिप्पणीले गर्दा महिला हिंसा भएको भन्दै भन्नेहरुलाई सोधेकी थिइन्, ‘तानाशाह बन्दै गरेको अहंकारी र सन्की प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिविरुद्ध बोल्न पाइन्छ । यहाँ महिला अस्मिताको प्रश्न कसरी आयो ?’
नेतृ झाँक्रीले प्रधानमन्त्री ओली कागजको बादशाह भएको र उनी ढलिसकेको अन्तिम घोषणा गर्न मात्र बाँकी रहेको बताएको थिइन् ।