उदयपुर । सहरमा माग बढ्दै गएपछि गाउँमा हराउन थालेको फापर, जुनेलो तथा फिलुंगेको खेती बढ्न थालेको छ । गाउँगाउँसम्म पुगेका सडक पुगेपछि लोप हुँदै गएको बाली फापर, जुनेलो र फिलुंगेको खेती बढ्न थालेको हो ।
जिल्लाको पहाडी क्षेत्रका भिरालो, खोरिया र रुखो बारीमा समेत उत्पादन हुने फापर, जुनेलो, फिलुंगे, सिलाम खेती अहिले कृषकका आम्दानीको राम्रो स्रोत बन्न थालेका छन् । पछिल्लो सययमा बजार क्षेत्रमा उक्त बालीको माग बढ्न थालेकाले कृषकहरू त्यसको खेतीतर्फ आकर्षित हुन थालेका हुन् ।
केही वर्षअघिसम्म भुटेर खाजाको रूपमा खानेबाहेक जुनेलोको प्रयोग खासै हुँदैन थियो । ‘बिक्री नहुने भएकाले जुनेलो हामी जाँड र रक्सी बनाउनु प्रयोग गर्थ्यौ,’ कटारी नगरपालिका–१२ का लख्खु राईले भने, ‘अहिले घरबाटै बिक्री हुन थालेको छ ।’
ग्रामीण क्षेत्रका कृषकले परम्परागत रूपमा उत्पादन गर्दै आएका जुनेलो, फापर, कोदो, फिलुंगे अहिले आम्दानीको स्रोत बनेको कृषकहरू बताउँछन् । ‘हामीले उत्पादन मात्र गर्नुपर्छ’, ताप्ली गाँउपालिका–४ थुम्कीकी नरमाया राईले भनिन्, ‘व्यापारीहरू घरमै किलो तराजु लिएर आउँछन् । त्यसैले खेतीलाई बढाउँदै लगेका छौं ।’
गाउँमा खासै प्रयोग नभए पनि बजार क्षेत्रमा फापर, जुनेलो, फिलुंगेको माग बढी छ । धानको मूल्यभन्दा बढी मुल्यमा ती अन्न बिक्री हुन थालेको छ । जुनेलो प्रतिकिलो १ सय ३०, फापर ७० र फिलुंगे ४ सय रूपैयाँसम्ममा बिक्री हुने कृषकको भनाइ छ ।
तथ्यङका अनुसार उदयपुरमा ३ सयबढी हेक्टरभन्दा बढी जमिनमा फापर, जुनेलो र फिलुंगेको खेती हुने गरेको छ । उदयपुरको सुनकोसी गढतिरका पाखो जमिनमा खेती हुन थालेको छ । पहिले परम्परा अन्नबाली लगाउने भएपनि अहिले उक्त बालीमा किसानको आकर्षण बढेको छ।
उदयपुरको ८ वटै स्थानीय तहको बेंसी, चुरेक्षेत्र, खोंच तथा सुनकोसी नदीको गढतिर उक्त बालीको खेती बढेको छ । हलेदे, निबुवाटार, राम्चे, आदमारा, कवासेटार, बुत्कु, ठानागाउँलगायत एक दर्जनभन्दा बढी गाउँका किसान जुनेलो र तीतेफापरको खेतीप्रति आकर्षित भएका छन् ।
मधुमेहका बिरामीहरूका लागि जुनेलो, तीते फापर र कोदोबाट बनेको परिकार उपयोगी मानिन्छ । बजार क्षेत्रमा बसोबास गर्ने मानिसले दैनिकरूपमा नै उक्त अन्नलाई प्रयोग गर्न थालेपछि पछिल्लो समय बजारमा त्यसको माग ह्वात्त्तै बढेको छ ।
टुहुराको पनि दिन फर्किन्छ भन्ने नेपाली उखान झै आवश्यक सिंचाइ र मलजलको अभावमा वर्षैभरी बाँझै रहने पाखो, भिरालो र खोरिया बारी खेतीयोग्न जमिन भएको छ । किनकि, त्यस्ता जमिनमा जुनेलो र तीते फापरको खेती हुने गर्दछ । यसबाट दुर्गमका कमजोर आयस्रोत भएका किसानको आर्थिक स्थितिमा समेत सुधार आउन थालेको छ ।