काभ्रे । देशव्यापी रूपमा गरेको आम हड्तालको प्रभाव काभ्रे जिल्लामा पनि परेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले गरेको आम हड्तालमा जिल्लाका बनेपा, पनौती, धुलिखेल र पॉंचखाल र मन्डनदेउपुर नगरपालिकाको विभिन्न स्थानबाट जुलुससहित निस्केको आन्दोलनकारीलाई प्रहरीले हस्तक्षेप गर्नुका साथै आधा दर्जन बढीलाई पक्राउ गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पक्राउ पर्नेमा पार्टी जिल्ला सदस्य अनिता गुरुङ, राष्ट्रिय युवा संघका नेता ईश्वर बञ्जारा, रघु सुवाल, जोग बहादुर लामा, सुमन लामा, निर लामा, अनेरास्ववियूको नेता बसन्त तामाङ लगायत नेता तथा कार्यकर्ताहरु रहेका छन् ।
त्यस्तै, नेकपा काभ्रेले शान्ति पूर्ण आन्दोलनमाथि दमन बन्द गर्न र पक्राउ गरेका नेता तथा कार्यकर्तालाई तत्काल विनसर्त रिहा गर्न आग्रह गरेका छन् । आन्दोलनमा बागमती प्रदेश सचिवलय सदस्य सुर्यमान दोङ, नेकपा काभ्रेका अध्यक्ष रुकु चौलागाईं, सचिव टोक बहादुर वाइबा लगायत नेता तथा कार्यकर्ता उपस्थित रहेका थिए ।
जिल्ला हुँदै चल्ने दुई राजमार्गमा सवारी साधन सुनसान
प्रचण्ड(माधव पक्षको नेकपाले गरेको बन्द कारण जिल्लाका मुख्य बजार बनेपा लगायतका क्षेत्रको बजार सुनसान हुनुको साथै अरनिको र विपि राजमार्गमा चल्ने लामो तथा छोटो दुरीका सार्वजनिक यातायात बिहानै देखि चल्न सकेको छैन । आन्दोलनकारीले छोटो तथा लामो दुरीमा चल्ने सवारी साधनलाई आवतजावतमा रोक लगाएपछी दुई राजमार्ग सुनसान भएका हुन् ।
बजार क्षेत्रमा छोटो दुरीका निजी यातायातका साधन न्यून मात्रामा संचालनमा भएपनि सार्वजनिक यातायातका साधन छोटो र लामो दुरीका संचालनमा आएका छैनन् । त्यस्तै, बन्दको कारण जिल्लाका शिक्षण संस्था, उद्योग लगायतका संघ संस्था समेत बन्द रहेका छन् ।
सवारीसाधन तोडफोड
जबर्जस्ती गाडी चलाएको भन्दै आन्दोलनकारीले गाडी तोडफोड गरेको छ । उनीहरुले जिल्लाको बनेपास्थित चाँदानी चोकमा कार, चारदोबाटो र तीनदोबाटोमा मोटरसाइकल गरि ४ वटा सवारीसाधनमा तोडफोड गरेका थिए ।
शान्तिपुर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेसँगै पक्राउ गर्न थालेपछी आक्रोशित बनेका आन्दोलनकारीले बन्दको अवज्ञा गर्दै जबर्जस्ती चलाएको सवारीसाधन तोडफोड गर्न बाध्य भएको उनीहरुको भनाइ छ ।
संवैधानिक निकायहरुमा ओली सरकरले बलमिच्याईं गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड–माधव समूहले आज नेपाल बन्द गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, मुश्लिम आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्त गरेकी थिइन् ।