उदयपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहको आमहड्तालले उदयपुर ठप्प भएको छ । नेकपा उदयपुरका अनुसार उदयपुरमा बिहानैबाट बजार, पसल, यातायात, खाद्यन्न लगाएत पूर्ण रुपले ठप्प भएका छन् । नेकपा उदयपुरका सचिव इश्वरमणी राउतले शान्तिपूर्ण रुपमा पार्टी केन्द्रको आमहड्ताल कार्यन्वय गरेको जानकारी दिए ।
उनका अनुसार आमहड्तालको पूर्व सन्ध्यामा मशाल जुलुस हिजो बुधबार साँझ निकालिएको थियो । सरकारले संवैधानिका निकायहरुको नियुक्तिमा बलमिच्याई गरेको भन्दै देशव्यापी आमहड्ताल गरेको छ । आमहड्ताल सफल पार्न युवा, विधार्थी र पार्टीको कार्यकर्ता परिचालन भएको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक, अलोकतान्त्रिक र स्वइच्छाचारीको अन्त्य गर्न गर्न
आमहड्ताल गर्नु परेको नेकपा उदयपुरका अध्यक्ष विनोद कटुवाल दिवशले बताए । ‘जनताको साथ प्रतिगमनको विरुद्धमा छ,’ उनले भने, ‘जिल्लाभरी आमहड्ताल शान्तिपूर्ण रुपमा सफल हुने छ, जनताले साथ दिएका छन् ।’
बन्दका कारण लामो तथा छोटो दुरीको सवारीहरु ठप्प छ । बन्दमा मोटर साईकल बाहेकका सवारीहरु ठप्प पारिएको जनाएको छ । अत्यावश्यक सवारी बाहेक अन्यलाई भने पुरै ठप्प पारिएको जनाएको छ । उदयपुरको मुख्य सहर सदरमुकाम समेत रहेको गाईघाट बजार कटारी, बेल्टार र रामपुर लगायत बजारहरु बन्द रहेको छ । गाईघाट बजार आसपास, जलजले, देउरी, चुहाडे, राजावास, बगाहा, मोतीगडा एरियाहरुलाई पनि पूर्ण निगरानीमा राखिएको छ ।
यसैगरी विद्यालय, सरकारी कार्यालय, संघसंस्था र बैँकहरु पनि ठप्प पारिएको छ । औषधी पसल, चिया पसल र फाट्फुट्ट रुपमा होटलहरु भने खोलिएको छ ।