काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहले देशव्यापी आमहड्ताल गरी ठप्प बनाएको छ ।
प्रतिनिघिसभा विघटनविरुद्ध चरणवद्ध आन्दोलन गर्दै आएको प्रचण्ड माधव समूहले सरकारको कदमविरुद्ध आमहड्ताल गरी देशलाई ठप्प बनाएको छ । बुधबारसाँझ देशभर मशाल जुलुस कार्यक्रम गरी विहिबार आज विहानदेखि नेकपा कार्यकर्ता र जनताको सहयोगमा देशलाई ठप्प बनाएका छन् । देशका विभिन्न सहरहरुमा नेकपाका कार्यकर्ता आमहड्ताल सफल पार्न सडकमा निस्केका छन् । उदयपुरको बुधबारसँझ गाइघाटमा पनि मशाल जुलुस प्रर्दशन गरिएको थियो । आजको आम हड्तालमा यातायात, पसल, कलकारखाना सबै बन्द रहेका छन् ।
उदयपुरको कटारी, गाईघाट, बेल्टार, रामपुर क्षेत्रमा नेकपा कार्यकर्ताले स्वास्थ्य तथा अत्यावश्यक वस्तु आयात गर्ने साधनहरुबाहे सबै रोकेका छन् । शान्तिपूर्ण रुपमा उदयपुर ठप्प रहेको जनाइएको छ ।
परीक्षा सञ्चालनमा पनि कुनै अवरोध भएको छैन् । शान्तिपूर्ण रुपमा आमहड्ताल सफल पार्न नेकपा केन्द्रीय कार्यालयले आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको, सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले फिर्ता गर्न र ओलीद्वारा चालिएको प्रतिगमनको विरुद्धमा नेकपाले आमहड्ताल गरेको छ ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक निकायहरुमा गरिएको नियुक्ति बल मिच्याई र निरंकुशतन्त्रको पराकाष्ट भएको भन्दै विरोधमा अड्ताल गर्नु आफूहरुको बाध्यता भएको बताएका थिए ।
निर्धक्क सार्वजनिक यातायात, पेशा, व्यवसाय सञ्चालन गर्न गृह मन्त्रालयको आग्रह
सरकारले पूर्ववत् रुपमै सार्वजनिक यातायातलगायत आ आफ्नो उद्योगधन्दा, पेशा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ ।
गृह मन्त्रालयले विज्ञप्ति जारी गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहले बिहीबार आह्वान गरेको भनिएको आमहडतालका क्रममा संविधान तथा प्रचलित कानूनविपरीत शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न अनुरोध गरेको छ ।
मन्त्रालयले आमहडतालका क्रममा शान्ति सुरक्षामा खलल पुग्ने सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, आम सर्वसाधारण नागरिकले प्रयोग गर्ने सार्वजनिक यातायात सञ्चालनमा अवरोधलगायत ध्वंशात्मक एवं अवाञ्छिनीय गतिविधि नगर्न नगराउन सबैमा अनुरोध गरेको हो ।