काठमाडौं । भोली (विहीबार) विभाजन उन्मुख नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को प्रचण्ड माधव समूहले आम हड्तालको घोषणा गरेको छ । संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड माधव समूहले बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको हो ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्ति गरेकी छिन् । त्यसैको विरोध स्वरुप प्रचण्ड माधव समूहद्वारा देशव्यापी आम हड्तालको घोषणा गरेको जनाएको छ ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक निकायहरुमा गरिएको नियुक्ति बल मिच्याई र निरंकुशतन्त्रको पराकाष्ट भएको भन्दै विरोधमा आम अड्ताल गर्नु आफूहरुको बाध्यता भएको बताएका छन् ।
उनले पत्रकार सम्मेलनमा भने, ‘केही असहज स्थिति हुनेछ, यसका निम्ति पार्टीको तर्फबाट क्षमाचायना गरेका छौं ।’ संविधान र लोकतन्त्रको रक्षाका लागि यो स्वरुपको संघर्ष गर्नुपर्ने अवस्था आएको उनले बताए ।
परीक्षा दिन जाने विद्यार्थीहरुले प्रवेशपत्र देखाएर आफ्नो सवारी साधन ल्याउन पाउने श्रेष्ठको भनाइ छ । उद्योगभन्दा, कल कारखाना, शैक्षिक क्षेत्र ठप्प बनाउने उनले बताएका छन् । संयोजक श्रेष्ठका अनुसार २८ गते काठमाडौंमा जनसभा गर्ने कार्यक्रम यथावत नै राखिएको छ
नेकपा ओली समूह २३ गतेको तयारीमा जुट्दै
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वाग्मती प्रदेश कमिटीले यही माघ २३ गते काठमाडौँमा आयोजना गर्ने जनसभाको तयारीका लागि पार्टीका सबै जनसङ्गठन परिचालित भएका छन् ।
प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा राजनीतिक घटनाक्रमबारे सन्देश दिन काठमाडौँमा पहिलोपटक हुन लागेको सभा सफल बनाउन युवा, विद्यार्थी, किसान, महिला, बुद्धिजीवी, प्रेस, शिक्षक, अपाङ्गतालगायत पेशा र क्षेत्रका जनसङ्गठनलाई परिचालन गरेको हो । ती सङ्गठनको केन्द्रीय नेतृत्वले सभामा उपस्थिति बढाउन र प्रचारप्रसार गर्न आफ्नातर्फबाट कार्ययोजना बनाई व्यवस्थितरुपमा काम शुरु गरेका छन् ।
ती सङ्गठनले सो दिन काठमाडौँका माइतीघर मण्डला, त्रिपुरेश्वर, जमल, पुतलीसडक, घण्टाघरलगायत विभिन्न तोकिएका स्थानमा भेला भई आफ्नो ब्यानर र झाँकीसहित उपस्थिति जनाउने प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले जानकारी दिए । उनले काठमाडौँ उपत्यका र प्रदेशका जिल्लाबाट उत्साहजनक तयारी देखिएकाले जनसभा विशेष हुने अपेक्षा आफूहरुले गरेको बताएका छन् ।
नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले प्रतिनिधिसभाको विरोधमा कार्यक्रम गरिरहेकाले यसबारे वाग्मती प्रदेश र काठमाडौँ उपत्यकाका कार्यकर्ता, समर्थक र जनस्तरमा धारणा स्पष्ट गर्न नेकपाले सभाको आयोजना गरेको हो ।
काठमाडौँको ट्राफिक आवागमनलाई सहजतासमेत तुल्याउन आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरिएको छ । सभामा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।