उदयपुर । ऐतिहासिक तथा पर्यटकीयस्थलका रुपमा रहेको मध्यपहाडी क्षेत्रमा अवस्थित उदयपुरगढी गाउँपालिकाको उदयपुरगढीमा कोभिड–१९ को प्रभावले झण्डै एक वर्षसम्म रोकिएको पर्यटन तथा भौतिक विकासको कार्य पुन शुरु गरिएको छ ।
जिल्लाकै महत्वपूर्ण ऐतिहासिक तथा पर्यटकीयस्थलका रुपमा रहेको उदयपुरगढीलाई आन्तरिक पर्यटन विकासको पूर्वाधार निर्माणको काम अगाडि बढाइएको गाउँपालिकाकी उपाध्यक्ष सानुकुमारी राउतले बताइन् । डाँडामा गाउँपालिकाको रु ३० लाख बजेटको लगानीमा निर्माण भइरहेको ४० फिट अग्लो दृश्यावलोकन स्तम्भ निर्माणको बाँकी कार्य अहिले सम्पन्न गरिसकिएको उपाध्यक्ष राउत बताउँ५िन् । गढिडाँडा क्षेत्रमा खानेपानी विस्तारको लागि स्थानीय जोगीधाराबाट लिफ्टिङ गरेर खानेपानी विस्तार गर्ने कार्य पुनःसुचारु गरिएको र अब चाँडै गढीडाँडाका घरघरसम्म पानी पुर्याउन लागिएको उदयपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव सुवेदी बताउँछन् ।
सोका लागि गाउँपालिकाबाट मात्र झण्डै रु २० लाख बजेट विनियोजन गरिएको थियो भने सोही बजेटबाट बाँकी कार्यसमेत पूरा हुन लागेको उनले बताए । गाउँपालिकाका नौ वडामध्ये पाँच वडामा विद्युत् विस्तार भइसकेको र बाँकी चार्डवाडमासमेत अहिले तीव्र रुपमा विद्युत् विस्तार गर्ने कार्य भइरहेको छ ।
चैत महिनासम्ममा गाउँपालिकाका नौ वडामा नै बिजुली बलिसक्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको नेपालटार बजारको मदन भण्डारी मार्ग खण्डदेखि उदयपुरगढीसम्मको नौ किलोमिटर कच्ची सडकलाई कालोपत्र गर्नका लागि सडक विभागसँग सम्झौता भई डिपिआरसमेत तयार भइसकेको बताइएको छ । अहिले उदयपुरगढी क्षेत्रमा झण्डै डेढदर्जन घरवासका रुपमा सञ्चालन गरिएको भए पनि पर्याप्त खानेपानी नहुँदा घुम्न आउने पर्यटकका लागि व्यवस्थापन गर्न समस्या हुने गरेको घरवास सञ्चालक विष्णु धमला बताउँछन् ।
विगतमा आन्तरिक पर्यटनमा पछाडी परेको उदयपुरगढीमा दृश्यावलोकन स्तम्भ निर्माण भइसकेको, गढीडाँडासम्म अहिले तीव्र रुपमा विद्युत् विस्तार भइरहेको, खानेपानी समस्या समाधान हुन लागेको र सडक कालोपत्र गर्ने कार्य पनि शुरु हुन लागेका कारण गढीको आन्तरिक पर्यटन विकास अब नयाँ युगमा प्रवेश गर्ने आफूहरुको अपेक्षा रहेको गढीका दिवक रोक्का बताउँछन् ।
गाउँपालिकाका अध्यक्ष मानबहादुर मगर भन्छन्, ‘विगतका दिनमा गढी घुम्न आएका पर्यटकले पर्याप्त पानी नपाउँदा होमस्टेमा बास बस्न मान्दैनथे र सामान्य घुमफिर गरेर तल नेपालटारतिर बास बस्न झर्ने गरेका थिए, अब छिट्टै गढीमा पानी, विद्युत्को समस्या समाधान हुन लागेका कारण यस क्षेत्रमा घुम्न आएका पर्यटक गढीमानै बस्न सक्छन् ।’
उदयपुरको पुरानो सदरमुकाम उदयपुरगढीस्थित पुरानो गढीको इतिहासलाई पुनर्जीवन दिने कार्य थालिएको छ। जिल्लाको पुरानो सदरमुकाम उदयपुरगढी तत्कालीन उदयपुरकै चौदण्डीगढीको सहायक राज्यको रुपमा रहेका बेला पृथ्वीनारायण शाहले राज्य एकीकरणको क्रममा कब्जा गरेपछि युद्धपोत स्थापना गरेको इतिहास स्मरण गर्दै पुनर्जीवन दिन लागिएको हो।
नेपाल सरकारले देशभरका १ सय पर्यटकीय गन्तव्य तोकेकामध्ये उदयपुरगढी पनि एक हो। भ्रमण वर्षमा नेपालमा अधिकतम पर्यटक भित्र्याउने योजना अनुसार गाउँपालिकाले पुरानो गढीको पुनर्निर्माण कार्यक्रम अघि सारेको र जस अनुसार संघीय सरकारसँग साझेदारीमा पुनारो गढी पुनर्निर्माण अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत माधव सुबेदीले बताए।
पुरानो गढीक्षेत्रको झण्डै अढाई सय वर्षअघिको भग्नावशेषलाई पुनर्जीवन दिने काम भईरहेको छ। त्यहाँको पुरानो गढी, तत्कालीन सेनाको बङ्कर, कोतखाना, युद्धपोत र सुरक्षा संयन्त्रको ध्वस्त भौतिक संरचनाको भग्नावशेषका संरचनाको पुनर्निर्माण हुनेछ। गाउँपालिका केन्द्र परिसरदेखि १ किलोमिटर उत्तर–पश्चिममा पर्ने सो क्षेत्रमा गत वर्ष प्राप्त संघीय बजेटमा गाउँपालिकाको साझेदारीमा पुनर्निर्माण सुरु गरिएको छ । स्थानीय बोधकुमार घिमिरेको अध्यक्षतामा गठित स्थानीय पर्यटन प्रबद्र्धन समितिमार्फत सञ्चालित योजनामा संघीय सरकार, पर्यटन मन्त्रालयबाट प्राप्त ५० लाख र गाउँपालिकाबाट बिनियोजित २३ लाख ५० हजार गरी ७३ लाख ५० हजार रुपैयाँमा पहिलो चरणको काम सम्पन्न भएको छ।
उक्त बजेटबाट तत्कालीन गढीको जग, बङ्कर र गढीक्षेत्रमा कम्पाउण्ड घेराबेरा निर्माण भएको ‘गढी पुनर्निर्माण उपभोक्ता समिति’का अध्यक्ष घिमिरेले बताए । उनका अनुसार ऐतिहासिक तथ्य र प्रमाणका आधारको अध्यन गरी सकेसम्म पहिलेकैजस्तो बनाउने प्रयास समितिले गर्दैछ ।
गढीको इतिहास स्मरण गर्नेखालका संरचनाहरुको पुनर्निर्माण गर्न सके इतिहासलाई पुनर्जीवन दिन सकिने घिमिरेले बताए । गाउँपालिकालाई पर्यटकीय आकर्षणको केन्द्र बनाउँदै पर्यटन प्रबद्र्धनमा जोड दिन ऐतिहासिक गढीको पुनर्संरचना भईरहेको उनको भनाई छ ।
उदयपुरगढी साविक पञ्चावती गाविसको मुकाम हो । ०७३ मा स्थानीयतह पुनर्संरचना भएसँगै जिल्लाको मध्येभागमा पर्ने पञ्चावति र आसपासका साविक गाविसहरु तावाश्री, बर्रे, डुम्रे र भलायडाँडालाई समायोजन गरी उदयपुरगढी गाउँपालिका नामाकण गर्दै गढीलाई गाँउपालिका केन्द्र बनाइएको हो । गाउँपालिका गठनपछि ऐतिहासिक गढीको इतिहासलाई पुनर्जीवन दिन जनप्रतिनिधि र अगुवा स्थानीयको पहलमा पुराना भग्नावशेष पहिल्याउँदै गढीको पहिचान स्थापित गर्न ऐतिहासिक संरचनाको पुनरुत्थान गर्न लागिएको हो ।
पुनर्निर्माणको क्रममा ५ सय मिटर व्यासको बाहिरी कम्पाउण्ड घेराबेरा निर्माण भईसकेको छ भने त्यसको सुरक्षा र आकर्षणका लागि १ सय ३० मिटर लम्बाईको ६ फिट अग्लो बाहिरी गारो लगाईसकिएको छ । त्यस्तै भित्रपटि १४ फिट उचाईको १ सय मिटर लामो लगाइएको छ भने दुई गारोबीचको दूरी १० फिट चौडाईको रहेको उपभोक्ता समितिका अध्यक्ष घिमिरेले बताएका छन् । कम्पाउण्डभित्र गढी, कोतखाना, इनार र बगैंचा बनाउने प्राविधिक इस्टीमेट योजनाको विस्तृत परियोजना प्रतिबेदन (डिपिआर) मा उल्लेख छ ।
पृथ्वीनारायण शाहको राज्य एकीकरणकालमा भोजपुरको हतुवागढी, सुनसरी धरानको विजयपुरगढीलाई परास्त गर्दै उदयपुरको चौदण्डीगढी राज्यको सहायक राज्य रहेको उदयपुरगढी कब्जा गरेको इतिहास छ । राज्य कब्जा गरेपछि चौदण्डीगढीलाई मुख्य युद्धपोत र उदयपुरगढी सहायक युद्धपोत बनाएर पूर्वका ससाना किरात राज्यहरुमाथि धावा बोलेर विजय प्राप्त गर्दै थप राज्य विस्तार गरेको इतिहास पनि घिमिरेले सुनाए । उनका अनुसार तत्कालीन भुरे टाकुरे राजा उदयचन्द्र सेनले राज्य गरेको दरवार क्षेत्र नै हालको उदयपुरगढी हो ।