विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगन भएको छ ।
प्रदेशसभाको सो अधिवेशनको पहिलो बैठक आज अपराह्न २ बजेदेखि सञ्चालन हुने भनिएको थियो । सभामा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’बाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए ।
करीब २ः१० को समयमा शुरु भएको बैठक तीन मिनेटपछि सभामुखले स्थगन भएको सूचना सभामा सुनाएका थिए । प्रदेश १ को नेकपा संसदीय दल भित्रको विवाद उत्कर्षमा थियो ।
यही बेला आज प्रदेशसभाको हिउँदे अधिवेशन शुरु हुन लागेको पनि रोकिएको छ । नेकपाका एकले अर्को समूहलाई कारबाही गरेको बताउँदै आएको समयमा बस्न लागेको प्रदेश सभा बैठकमा ओली पक्षद्वारा सांसदलाई प्रदेशसभामा रोक्ने तयारी थियो ।
प्रचण्ड–माधव समूहको प्रदेशसभामा प्रवेशमा अबरोध भए प्रतिवाद गर्ने रणनीति बनाएका थिए । यतिसम्म कि दुबै पक्ष एक–अर्काप्रति आक्रामक देखिएपछि प्रदेश सभा बैठक मुडभेठतर्फ जाने संकेत देखिएको थियो । मुख्यमन्त्री राईको अध्यक्षतामा मंगलबार पन पार्कमा बसेको अनौपचारिक बैठकले नै प्रचण्ड–माधव समूहका सांसद प्रदेशसभामा प्रवेशमा अबरोध गर्ने निर्णय नै गरेको थियो । ओली पक्षका दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले निलम्बन गरिएका १६ सांसदलाई संसद् बैठकमा प्रवेश गर्न रोक्ने तयारी गरेको बताएका थिए ।
मुख्यमन्त्री राईले संसदीय दलको नेताको हैसियतमा उनीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने १६ सांसदलाई निलम्बन गरेका थिए । तर उनको समूहमा अहिले ३० सांसद छन् । तीनजना थप सांसद त्यो समूहमा आउने र बहुमत पुग्ने दाबी प्रमुख सचेतक राजभण्डारीले गर्दै आएका थिए ।
प्रचण्ड–माधव समूहका दलको नेता भीम आर्चायको अध्यक्षतामा मंगलबार नै बसेको बैठकले शेरधन राई दलको नेताबाट हटाइसकेको अबस्थामा उनले गरेको कारबाही बैधानिक नहुने बताउँदै आएका छन् ।
संसदीय दलको नेताबाट हटाएर राईको ठाउँमा भीम आचार्यलाई नेता चयन गरेको घोषणा गरिएको छ । तसर्थ प्रदेश सभामा प्रवेशमा ओली समूहले जोर–जबरजस्ती गरे प्रतिवाद गरिने निर्णय गरिसकेको छ ।