उदयपुर : उदयपुरको कटारी नगरपालिका, २ खोक्सामा माघेसंक्रान्तिदेखि जारी ऐतिहासिक धार्मिक महत्वको त्रिवेणी मेलामा जिल्ला प्रशासन कार्यालय उदयपुरले रोटेपिङ र र्याफ्टिङ संञ्चालन गर्न रोक लगाएको छ ।
मेला व्यवस्थापक नरबहादुर तामाङले जिल्ला प्रशासन कार्यालय उदयपुरले मेला महोत्सवका लागि कोरोनाको कारण देखाउदै अनुमति दिन नमानेको बताए। साथै मेलामा रोटेपिङ र र्याफ्टिङ संञ्चालन गर्न प्रशासनले नदिएको उनले बताए ।
‘मेलामा पुजा आजा गर्न आउने मेला घुम्न आउनेहरुको घुईचो छ सबैले रोटेपिङ र र्याफ्टिङ किन नचलाएको भनेर गुनासो गरिरहेका छन् ।’ तामाङले भन्ने, ‘मेला लाग्ने भएपछी रोटेपिङ र र्याफ्टिङ ल्याएर जडान गरि तयार गरियो अहिले चलाउन पाईएन् ।’
गएको पुष १३ को कटारी नगर कार्यपालिकाको बैठकको निर्णय भन्दै मेला नलगाउने जनाएको नगरपालिकाले फेरी पुष २३ मा कार्यपालिकाको वैठकले निर्णय गर्दै मेला लगाउन दिने भएपछी मेला सुरु भएको थियो । ऐतिहासिक धार्मिक महत्वको मेला नलगाउने निर्णयप्रति स्थानीयले व्यापक विरोध जनाएपछी अन्तत कोरोनाको कारण देखाएको नगरपालिका मेला लगाउन दिने अवस्थामा पुगेको थियो ।
मैनी मेलाले समेत परिचित मेला कोरोना भाईरसको संक्रमणका कारण नलगाउने निर्णय गरिएकोप्रति स्थानीयहरुले चर्को विरोध जनाएका थिए । वडा नम्बर २ को तावा, कमला र ककरु नदीको संगमस्थल त्रिवेणीमा हरेक वर्षको माघेसंक्रान्तिदेखि मेला लाग्दै आएको छ ।
परापूर्वकालदेखि नै विगतमा माघ महिनाभरी र शसस्त्र द्वन्दका समयपछी १५ दिनसम्म यो मेला लाग्दै आएको थियो । उक्त मेलामा आई भाकल गरे अनुसारको पशु पक्षीं वलि दिई पुजा आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास रहेको छ ।
विगतमा प्रदेश १, २, बाग्मती प्रदेशका अलावा भारतबाट समेत यस मेलामा मकर नुवाई पुजा आराधना गर्न दर्शनार्थीहरु आउने गरेका थिए । ‘यस वर्षपनि गतसाल भन्दा व्यापारी धेरै आएका छन्।’ २० वर्षदेखि मेलामा व्यापार गर्दै आउनुभएका कटारीकै स्थानीय ४५ वर्षिय बिजय शाहले भन्नुभयो –‘मेलामा संक्रान्तिका दिन भिडभाड थियो तर रोटेपिङ र र्याफ्टिङ समेत नचलेपछी मेलामा आउने निरास भए।’
मेलामा उल्लेख्य भिडभाड सबैतिर राजनीतिक कार्यक्रमको भिडभाड सवै सामान्य भईसकेको अवस्थामा मेला जारीहुँदा समेत रोटेपिङ, लगायतका वालवालिकाले खेल्ने पिङ र रमाईलो खेलहरु समेत प्रशासनले चलाउन नदिएको भन्दै स्थानीयले चलाउन दिनुपर्ने माग गरेका छन् ।
रोटेपिङ र र्याफ्टिङ संञ्चालन गर्दा चाहिं कोरोना लाग्ने मेलामा भिडभाड हुँदा चाहिँ कोरोना नलाग्ने प्रशासनको तर्क हास्यापद भएको कांग्रेस नेता राम कुमार खत्रीले बताए ।
विगतमा पहाडी जिल्ला ओखलढुंगा, खोटाङ, सोलुखुम्बुसँग व्यापारिक सम्बन्ध कायम राखेको त्रिवेणी मेला पूर्वाञ्चलकै ऐतिहासिक र लामो समय लाग्ने मेलाका रुपमा परिचित थियो । स्थानीय त्रिवेणी स्पोर्ट क्लवको व्यवस्थापनमा मेला जारी छ ।