उदयपुर । उदयपुरका पाँचवटा स्थानीय तहका प्रमुखहरु नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहतर्फ रहेको पुष्टी भएको छ ।
उदयपुरमा जम्मा ८ वटा पालिकामध्ये ७ वटा पालिकामा नेकपाबाट निर्वाचिन पालिका प्रमुख छन् । जसमा पाँच वटा नेकपा प्रचण्ड माधव समूहमा देखिएका छन्, भने नेकपा ओली समूहमा दुई पालिका प्रमुख मात्र रहेका छन् ।
प्रचण्ड माधव समूहमा रहेका पालिका प्रमुखहरु यसप्रकार रहेका छन् । त्रियुगा नगरपालिकाका प्रमुख बदलदेव चौधरी, उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगर, रौमातमाई गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्का, ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापा, लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई प्रचण्ड माधव समूहमा रहेको नेकपा प्रचण्ड माधव समूहका जिल्ला सचिव इश्वरमणी राउतले जानकारी दिए ।
राउतका अनुसार नेकपा ओली समूहमा कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ र बेलका नगरपालिकाका प्रमुख दुर्गा थापा रहेका छन् । ‘उदयपुरका सात वटा पालिकाप्रमुखहरुमा दुई वटा पालिका प्रमुख नेकपा ओली समूहमा छन्,’ उनले भने, ‘बाँकी पाँचवटाका प्रमुख र उपप्रमुख अनि अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्षहरुसमेत प्रचण्ड माधव समूहमा छन् ।’
संसद विघटनपछि दुई समूहमा विभाजन भएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड÷माधव नेपाल समूह र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेकपा ओली समूह बनेको छ ।
निर्वाचन आयोगबाट विभाजनको वैधानिकता नपाएकाले मौन बसेका पालिका प्रमुखहरु अहिले प्रचण्ड माधव समूहमा रहेको पुष्टी गरेका छन् । नेकपा उदयपुरका अध्यक्ष विनोद कटुवाल दिवशले पार्टी केन्द्रमा दुई समूहमा विभाजन हुँदा पनि उदयपुरमा बहुमत प्रचण्ड माधव समूहको रहेको बताए । ‘उदयपुरका सात स्थानीय तहका पालिका प्रमुखहरु झण्डै ८० प्रतिशत प्रचण्ड माधव समूहमा छन्,’ उनले भने, ‘पार्टी केन्द्र (प्रचण्ड माधव समूह) बाट आएका आन्दोलनका योजनाहरु कार्यन्यन गर्दै अघि बढेका छौँ ।’ त्रियुगा नगरपालिका प्रमुख चौधरी नेकपा प्रचण्ड माधव समूहका केन्द्रीय सदस्य तथा इन्चार्जसमेत हुन् । उनले उदयपुरमा ओली समूहको प्रभाव कमजोर रहेको बताएका छन् ।
यता साविकको नेकपा उदयपुरका ८० प्रतिशत नेकपाका कार्यकर्ता प्रचण्ड माधव समूहमा छन्, भने पालिकका प्रमुखहरु पनि ८० प्रतिशत रहेको पुष्टी भएको छ । शनिबार पालिकाका प्रमुखहरुको भेला समेत नेकपा प्रचण्ड माधव समूहले गाईघाटमा गरेको थियो । उक्त भेलामा पार्टीको घोषणा पत्रका आधारमा विकास निर्माणका कामहरुको प्रभावकारीकताको बारेमा छलफल चलेको बताइएको छ ।