उदयपुर । उदयपुर जिल्ला आफैमा प्राकृतिक भौगोलिक तथा सांस्कृतिक विविधताले भरिपुर्ण भएको ठाँउ हो । उदयपुर प्रदेश नं. १ को पश्चिम दक्षिण हिस्सामा अवस्थित छ । यस जिल्लाले महाभारत पर्वत शृङ्खलादेखि चुरे पर्वतमालासम्मको भू भाग समेटेको छ । यसको कुल क्षेत्रफल २०६३ वर्ग किलोमिटर रहेको छ । उदयपुरमा देशको सबैभन्दा ठूलो सिमेन्ट उद्योग ‘उदयपुर सिमेन्ट उद्योग’ पनि छ । महाभारत शृङ्खला र चुरे पर्वत शृङ्खलाबीच रहेकाले महाभारत शृङ्खला अन्तर्गत धारिला, बिकट, डाँडाहरू, छरिएका र पातलिएका बस्तीहरू छन् ।
महाभारत फेदिदेखि चुरे शृङ्खलाको बीचमा दुईवटा ठूला ठूला लाम्चो आकारको समथर फाँट भएको हुँदा यस जिल्लालाई भित्री मधेसको रूपमा गणना गरिन्छ । यस जिल्लाको पश्चिममा रहेको फाँटमा कटारी नगरपालिका को केहि भाग (पुरानो विभाजन अनुसार त्रिवेणी गाविस, रिश्कु गाविस र कटारी गाविस) रहेको छ भने पूर्वी भागको ठूलो फाँटमा बेलका नगरपालिका (पुरानो विभाजन अनुसार तपेश्वरी गाविस र रामपुर ठोक्सिला गाविस), चौदण्डीगढी नगरपालिका (पुरानो विभाजन अनुसार बेल्टार गाविस, बसाहा गाविस, सुन्दरपुर गाविस र हडिया गाविस) तथा त्रियुगा नगरपालिका को केहि भाग (पुरानो विभाजन अनुसार त्रियुगा नगरपालिका र जोगीदह गाविस) रहेको छ ।
नगरपालिकाहरूको बाँकी क्षेत्र तथा सबै गाउँपालिकाहरु सामान्य पहाडदेखि विकट पहाडमा पर्दछन् । भित्री मधेस, चुरे क्षेत्र, महाभारत क्षेत्रले गर्दा पर्यटनको नजरमा भरिपूर्ण क्षेत्र पर्दछन् । जिल्लाका आठ वटै स्थानीय तहरु पर्यटकीय हिसाबले भरिपूर्ण मानिन्छन् । जिल्लाका ८ वटै स्थानीय तहहरुमा पर्यटकलाई आकर्षित गर्ने फरक–फरक किसिमका गन्तब्यहरु रहेका छन ।
उदयपुरगढी
उदयपुरको उदयपुरगढी गाउँपालिकामा पर्ने उदयपुरगढी जिल्लाको पुरानो सदरमुकाम हो । ऐतिहासिक स्थलको रुपमा परिचित उदयपुरगढी नेपाल सरकारले घुम्न लायक १०० औं पर्यटकीय गन्तव्यको रुपमा घोषणा गरेको छ ।
उदयपुरगढी दरवार तत्कालीन उदयसेन राजाले राज गरेको यो गढीमा अहिले पनि पुरातात्विक महत्व बोकेका पुराना सम्पदा रहेका छन् । जसको नामबाटै उदयपुर जिल्ला तथा उदयपुरगढी गाउँपालिका नाम राखिएको हो । यो ठाउँ उदयपुर जिल्लाको पुरानो सदरमुकाम पनि हो । जहाँबाट भौगोलिक विकटताका कारण विस २०२८ सालमा यो ठाउँबाट सदरमुकाम गाईघाटमा सारिएको हो ।
रौतामाईको रौतापोखरी
रौतामाई गाउँपालिकामा पर्ने धार्मिक आस्थाको केन्द्र बोकेको रौतापोखरीको दर्शनका लागि उदयपुर, सिरहा, सप्तरी, सुनसरी, विराटनगर, जनकपुर, सिन्धुली लगायत छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थी आउने गरेको स्थानीय प्रलाद कटुवालले ले जानकारी दिए । बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने रौतापोखरी बाट ढकमक्क फूलहरु फूलेकोे र चारैतिर हरियाली वनजंगल देख्न सकिने भएकाले घुम्न आउँने पर्यटकहरुको मन लोभ्याउँछ । खानाका लागि पर्यटकहरुलाई ‘स्थानीय उत्पादन कोदो, मकै, फापरको ढिँडो, धान, सिस्नु, साग, लोकल कुखुरा, दाल, गुन्द्रुकको अचारजस्ता परिकार पाइन्छ ।’
कटारीको बेतेनी भञ्ज्याङ
कटारी नगरपालिकामा पर्ने बेतेनी भञ्ज्याङ् पनि पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा पर्दै आएको छ। एकैछिनमा घाम लाग्ने र केही क्षणमा हुँस्सु लाग्ने र अग्लो डाडाँ अनि चारैतिर हरियाली छिनछिनमा हुने मौसम परिवर्तन बेतेनी भञ्ज्याङ्को मुख्य बिशेषताको रूपमा रहेको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए ।
लिम्चुङबुङ एभरेस्ट भ्युटप
लिम्चुङबुङ गाउँपालिकामा रहेको एभरेस्ट भ्युटपबाट विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत अग्ला ८ वटा हिमालहरुको दृश्यावलोकन आँखै अगाडिबाट गर्न सकिन्छ । साथै उक्त ठाउँबाट हिमाल, पहाड र तराईका विभिन्न ठाउँहरुको समेत दृश्यावलोकन गर्न सकिन्छ । यसका साथै लिम्चुङबुङमा मनमोहक झरना र सांस्कृतिक विविधता समेत रहेको गाउँपालिकाका उपाध्यक्ष रमिला राईले जानकारी दिईन ।
चौदण्डीगढी
चौदण्डीगढी उदयपुर जिल्लाको मात्र नभई नेपालकै प्रमुख ऐतिहासिक तथा पुरातात्विक स्थल मानिन्छ । उत्तरमा दुधकोसी नदी र दक्षिणमा चुरे पहाड रहेको छ । गढी तत्कालीन सेन बंशीय राज्यको राजधानी समेत हो ।
विक्रम संवत १७९० देखि जगत सेन, बिक्रम सेन, हरि सेन लगायतका चार पुस्ताले चौदण्डीगढी दरवारमा राज्य चलाएको नेपालको इतिहासमा उल्लेख छ । सदरमुकाम गाईघाटबाट २७ किलोमिटर पूर्वि पहाडी क्षेत्रमा पर्ने चौदण्डीगढीमा पुरातात्विक महत्व बोकेका देवी देवताका मुर्ती, ढुङ्गाका सामाग्रीहरु रहेका छन ।
समग्र नगरपालिकको नामाकरणसँग जोडिएको यो स्थान नेपालकै एक महत्वपूर्ण ऐतिहासिक र पर्यटकीय स्थल बन्ने प्रचुर सम्भावना रहेको स्थान हो ।
ताप्ली पोखरी
प्राकृतिक सौन्दर्यले सिँगारिएको तथा धार्मिक महत्व बोकेको ताप्ली पोखरी ताप्ली गाउँपालिकामा पर्दछ । उदयपुर जिल्लाको एक प्रमुख पर्यटकीय स्थलका रूपमा रहेको यो पोखरी कटारी नगरपालिकाबाट कच्ची बाटो हुँदै ४/५ घण्टाको यात्रामा पुगिने उत्तरको डाँडा लेखगाउँ छ । यो पोखरीले प्राकृतिक सुन्दरता, धार्मिक गाथा एवं पर्यटकीय महत्वलाई समेटेको छ ।
समुन्द्री सतहबाट १ हजार ८ सय मिटर उचाइमा रहे पनि यो पोखरीमा वर्षैभरि पानी जमिरहन्छ । यो पोखरी हेर्न विभिन्न स्थानबाट पर्यटकहरू आउने गरेका छन् । पोखरीबाट उत्तरमा सगरमाथासम्मका हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । यसैगरी हरियो चउरले भरिएका थुमहरूका कारण पर्यटकहरू रोमाञ्चित हुन्छन् । बाह्रै महिना चिसो हुने यो पोखरीमा पर्यटकहरू गर्मी छल्न पनि पुग्छन् ।
जैविक विविधताले भरिपूर्ण यो पोखरी धार्मिक तथा प्राकृतिक अध्ययनका लागि पनि महत्वपूर्ण छ । ७५ मिटर चौडा तथा ३ सय २० मिटर लामो यो पोखरीको गहिराइ ३ मिटर छ । तुसारो परिरहने यो पोखरीको किनारमा अवस्थित पञ्चकन्या मन्दिरमा हरेक नयाँ वर्षका दिन ठूलो मेला लाग्ने गरेको छ । ताप्ली पोखरीको दक्षिणतर्फ हेर्दा भारतसम्मका सहरहरू अवलोकन गर्न सकिन्छ ।
यो पोखरी किनारमा भ्यू–टावरसमेत निर्माण भैरहेको छ । यहाँको आकर्षण प्राकृतिक छटासँगै यहाँका लेक र थुमहरू हुन् । लेक हेर्न पनि पर्यटकहरू त्यहाँ पुग्ने गरेका छन् । पञ्चकन्या मन्दिरमा पूजाआजा गरे रोगव्याधि निको हुने जनविश्वास छ । ताप्ली पोखरीले पूर्वाञ्चलमा धार्मिक पर्यटकको सम्भावना बोकेको छ । तत्कालीन माओवादीले यो स्थानबाटै पूर्वी डिभिजनको घोषणा गरेको राजनैतिक इतिहास पनि छ ।