उदयपुर । उदयपुरको कटारीमा रहेको त्रिवेणीधाममा १५ लिनसम्म लाग्ने मैनी मेला सुरु भएको छ । कटारी नगरपालिका २ खोक्सामा १५ दिनसम्म चल्ने मैनी मेला आज (विहीबार) माघ १ गतेदेखि सुरु भएको हो ।
वर्सेनी लाग्ने मेला माघ १ गतेबाट सुरु भएर १५ दिनसम्म लाग्दै आएको छ । कमला, तावा र ककरु नदीको संगमस्थल त्रिवेणीघाटमा लाग्ने भएकाले मैनी मेलालाई त्रिवेणी मेलाको रुपमा परिचित छ ।
तीन नदीको संगम स्थलमा मकर स्नान गरी भाकल गरे अनुसारको पशुपंक्षी बलिदिई पूजा आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास छ । आज विहिबार विहानेदेखि नै मकर नहुँउनेको भीड लागेको स्थानीयले बताएका छन् । तीन नदीको संगमस्थल त्रिवेणीमा मकर नुहाँउन सिन्धुली, सिराहा, सप्तरी, ओखलढुंगा, खोटाङ, सोलखुम्बु लगायतका जिल्लाबाट भक्तजनहरु आउने गरेका छन् ।
भारतको बिहार प्रदेशबाट समेत धार्मिक पर्यटक आउने गरेको स्थानीय युवा सुवास ढुंगानाले जानकारी दिए । मेलाको आकर्षण सोलखुम्बुको भोटे कुकुर र ओखलढुंगाको राढीपाखी हुने गरेको आयोजक समितिका अध्यक्ष नर बहादुर तामाङले बताए । तर यस वर्ष कोरोनाका कारण सोलखुम्वुको भोटे कुकुर, ओखलढुँगाको राढीपाखी लगायतका सामग्रीहरु अलि कम आउने अनुमान गरिएको उनको भनाइ छ ।
यस्तै मेलामा सिन्धुलीको जुनार र स्थानीय उत्पादनको किनबेच छन । यस वर्षको त्रिवेणी मेला सञ्चालन नगर्ने कटारी नगरपालिकाले निर्णय गरेपनि चर्को जनदवावकाबीच नगरपालिकाले पुनः मेला सञ्चालनको लागि अनुमति दिइएको थियो ।
माघ १ गतेदेखि १५ गतेसम्म लाग्ने त्रिवेणी मेलाको रुपमा पुर्वी नेपालमै परिचित छ । माघ महिनाभरी लाग्ने मेला पछिल्लो समय १५ दिनसम्म लाग्दै छ । जिल्लाकै पुरानो मेलामा रुपमा चिनिन्छ ।