उदयपुर । उदयपुरबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्नको लागि अनुरोध गरिएको छ । आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह उदयपुरले जिल्ला प्रशासन कार्यलयबाट संसद विघटन फिर्ता लिनको लागि अनुरोध गर्दै ज्ञापन पत्रमार्फत प्रधानमन्त्री ओलीलाई संविधान पढ्नको लागि अनुरोध गरिएको हो ।
नेकपा प्रचण्ड माधव समूह उदयपुरका अध्यक्ष विनोद कटुवाल दिवशले ज्ञापन पत्र बुझाउँदै प्रधानमन्त्री ओलीलाई संसद विघटन असंवैधानिक भएकाले फिर्ता लिन आग्रह गरेका थिए । उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेललाई ज्ञापन बुझाउँदै अध्यक्ष कटुवालले प्रधानमन्त्री ओलीलाई संविधान उलंघन गरी संसद विघटन भएकाले पुर्न स्थापना गर्नको लागि संविधानै प्रधानमन्त्री कार्यालय पठाइदिन आग्रह गरेका थिए ।
‘अहिलेको संसद विघटन असंवैधानिक हो,’ उनले भने, ‘असंवैधानिक संसद विघटन सच्याउँन संविधानसमेत पठाएका छौँ, सम्मानीय प्रधानमन्त्रीले पढीदिनु हुन्छ भन्ने विश्वास लिएका छौँ, हामीले बुझाएको ज्ञापन पत्र प्रधानमन्त्री कार्यालय पठाइदिनु अनुरोध गर्दछौँ ।’
अध्यक्ष कटुवालले आजै जिल्ला प्रशसन कार्यालयमार्फत प्रधानमन्त्री ओलीलाई पठादिन सहायक प्रमुख जिल्ला अधिकारी पोखरेललाई आग्रह पनि गरेका थिए । यता सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले तत्कालै प्रधानमन्त्री कार्यालय पठाउने बताएका थिए । ‘हामीले जस्ताको तस्तै पठाउने छौँ,’ उनले भने ।
संसद विघटनविरुद्ध उदयपुरमा चरणवद्ध रुपमा आन्दोलन जारी छ । देशव्यापी रुपमा नेकपा प्रचण्ड माधव समूहले प्रधानमन्त्रीलाई संविधान पढ्नको लागि अनुरोध गर्दै ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्र्तगत उदयपुरमा ज्ञापन पत्र बुझाइएको नेकपा प्रचण्ड माधव समूह उदयपुरका सचिव इश्वरमणी राउतले बताए । ‘हामी संसद पुर्न स्थापनको पक्षमा केन्द्रबाट आएका सम्पूर्ण आन्दोलनका कार्यक्रम सम्पन्न गरिरहेका छौँ,’ उनले भने, ‘संसद विघटन असंवैधानिक भएकाले पुर्न स्थापना हुनेमा हामी ढुक्क छौँ ।’
संसद विघटन भएपछि नेकपा प्रचण्ड माधव समूह उदयपुरले अगुवा कार्यकर्ता भेला, प्रशिक्षण, आमसभा लगायतका कार्यक्रम गर्दै आएको छ । नेकपा प्रचण्ड माधव समहू उदयपुरमा दुईतिहाइ बहुमतमा छ । संसद पुनःस्थापना नहुन्जेलसम्म आन्दोलनलाई शसक्त बनाउनको लागि आन्दोलनका कार्यक्रमलाई गाउँ गाउँसम्म पुर्याइएको सचिव राउतको भनाइ छ । प्रत्येक स्थानीय तहहरुमा विरोध सभा गर्ने, बैठक, भेला तथा आमसभा, जनवर्गिय संगठनहरुको बैठक, प्रशिक्षण जारी राखिएको सचिव राउतले बताए ।