उदयपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूह उदयपुरको बैठक सम्पन्न भएको छ । उक्त समूहले त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको सभाहलमा आयोजना गरेको बैठकलाई चौथो पूर्ण बैंठकको नाम पनि दिएको छ ।
बैठकमा १ सय १३ जना जिल्ला कमिटी सदस्यको उपस्थित थियो । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र गरी १ सय ६२ मध्ये २ जना कारबाहीमा परेका छन भने एक जनाको मृत्यु भएको छ । यस्तै दुई जना प्रदेश कमिटी रोजेकोले १ सय ५७ जना जिल्ला कमिटी सदस्यमा १ सय १३ जना उपस्थित भएको सचिव इश्वरमणी राउतले जानकारी दिए ।
बैठकमा अनुपस्थित ४४ जनामध्ये १३ जना जिल्ला कमिटीका सदस्यले अपर्झट बैठक, समय अभाव र भौगोलिक कठिनाईले उपस्थित हुन नसकेको सचिव राउतको भनाइ छ । उनका अनुसार केही जिल्ला कमिटीका सदस्यहरु जिल्ला बाहिर रहेको र केही सदस्यहरु भौगोलिक कठिनाईले बैठकमा अनुस्थित रहेपनि प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा उत्रिने बताएका छन् ।
जिल्ला कमिटीको संख्या हेर्दा नेकपा प्रचण्ड माधव समहू उदयपुरमा दुईतिहाइ बहुमतमा देखिएको छ । सत्ताको समेत नेतृत्व गरिरहेको नेकपा एउटा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल र अर्को नेकपा केपी शर्मा ओली समूहमा विभाजन भएको छ । विभाजनपछि उदयपुरमा ओली समूहको नेकपा कमजोर देखिएको प्रष्ट छ ।
नेकपा विभाजन भएको प्रमाणित निर्वाचन आयोगको केन्द्रीय कार्यलयले समेत गरेको छैन् । नेकपा नाम र सुर्य चुनाव चिन्ह दुवैले आ–आफ्नो भएको दाबी गर्दै आईरहेका छन् । त्रियुगा उद्योग बाण्ज्यि संघ गाईघाटको सभाहलमा विभाजनपछि बुधबार प्रचण्ड माधव समुूहको बैठक सम्पन्न भएको हो । ‘उदयपुरमा नेकपा ओली समूहमा ३० देखि ३२ जना जाने अनुमान गरेका छौँ,’ जिल्ला सचिव राउतले भने, ‘उहाँहरुलाई पनि हामीले मुलधारकै पार्टीमा बोलाईरहेका छौँ ।’
उनले उदयपुरमा नेकपा प्रचण्ड माधव समूह दुईतिहाई बहुमतमा रहेको जानकारी दिँदै सानो संख्यामा ओली समूहमा जिल्ला कमिटी सदस्यहरु जाने बताए । ‘हामी ओली समूहमा लागेको नेता कार्यकर्तालाई पनि मुलधारकै पार्टीमा आव्हान गरिरहेका छौँ,’ उनले भने, ‘सकेसम्म ओली समूहमा गएका साथीहरुलाई मुलधारमै फर्कन आग्रह गर्दछौँ ।’
बैठकले प्रतिनिधि सभा पुनःस्थापना नहुन्जेलसम्म आन्दोलनलाई शसक्त बनाउनको लागि विरोध सभा जस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने निर्णय गरेको गरेको प्रचण्ड माधव समूहका जिल्ला अध्यक्ष विनोद कटुवालले दिवशले जानकारी दिए । अध्यक्ष कटुवालका अनुसार प्रत्येक स्थानीय तहहरुमा विरोध सभा गर्ने, बैठक भेला तथा आमसभाहरु गर्ने, जनवर्गिय संगठनहरुको बैठक, प्रशिक्षण गर्ने निर्णय गरिएको छ । ‘उदयपुरमा झण्डै ८० प्रतिशत नेता कार्यकर्ताको भावना प्रचण्ड माधव समूहमा देखिएको छ,’ उनले भने, ‘आजको बैठकमा एकसय १३ जना उपस्थिति हुनुभएको थियो, यो धेरै उत्साहजनक छ ।’
अध्यक्ष कटुवालले स्थानीय तहमा अध्यक्ष, सचिव र कार्यलय टिमका सदस्यहरुको नेतृत्वमा स्थानीय तहमा भेला, बैठक, प्रशिक्षण कार्यक्रम तय गरिएको जानकारी पनि दिए । बैठकलाई अध्यक्ष माधवकुमार नेपालले जुममार्फत सम्बोधन गरेका थिए । अध्यक्ष नेपालले ओलीले गरेको असंवैधानिक कदमको कडा विरोध गर्न निर्देशन समेत दिएका थिए । ओलीले संसद विघटन गर्दै मध्यावधि निर्वाचनको मिति घोषणा गरेपछि देशव्यापी रुपमा विरोध भईरहेको छ ।
यहि क्रममा नेकपा उदयपुरको प्रचण्ड–माधव समूहले विभिन्न विरोधका कार्यक्रम गर्दै आइरहेको अध्यक्ष कटुवालले बताए । बैठकको प्रमुख अतिथिमा नेकपा केन्द्रीय सदस्य तथा प्रदेश नं. १ का सचिव सुरेशकुमार राई (हिमाल), विशेष अतिथिहरुमा केन्द्रीय सदस्यद्धय जगनाथ खतिवडा र बलदेव चौधरी, प्रदेश सदस्यहरुको उपस्थित रहेको थियो ।
गाईघाटमा मंगलबार शक्ति प्रदर्शन गरेको थियो । प्रदर्शनको लागि सदरमुकामको बिभिन्न स्थानबाट र्याली निकालिएको थियो । आयोजकले जनाए अनुसार गाईघाटको पिपल चोकबाट करिव ४ हजारको संख्यामा पार्टीका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो । र्यालीमा सहभागीहरुले पुस ५ गतेको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भन्दै प्रदर्शन गरेका थिए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य समेत रहेका प्रदेश नम्बर १ का पार्टी सचिब तथा सांसद् सुरेशकुमा राई ‘हिमाल’, केन्द्रीय सदस्य तथा त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरी, पूर्व सभासद, नेता कार्यकर्ताहरु लगायतको उपस्थित थियो । उपस्थित नेता कार्यकर्ताले सडकबाटै भएपनि संसद पुनः स्थापना गर्ने उद्घोष गरेका थिए ।
ओली समुहको जिल्ला कमिटीको बैठक भोली
उदयपुरमा नेकपा प्रचण्ड माधव र ओली समूह दुबै एकपछि अर्को रचात्मक गतिविधि गर्दै अघि बढेका छन् । बुधबार नेकपा प्रचण्ड माधव समूहले आयोजना गरेको त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको सभाहलमा नै नेकपा ओली समूहले भोली (विहीबार) बैठक आयोजना गरेको नेकपा ओली समूहका जिल्ला सचिव कुशलबाबु बस्नेतले जानकारी दिए । ‘आज हामीले त्यही सभाहलमा बैठक आयोजना गरेका थियौँ,’ उनले भने, ‘त्यहाँ आज प्रचण्ड नेपाल समूहले बैठक गर्यौ ।’
सचिव बस्नेतले आगमी निर्वाचनको लागि तयारी थालेको बताएका छन् । ‘हामीले जिल्लामा संगठन विस्तारका अभियानलाई तीब्रता दिएका छौँ,’ उनले भने, ‘भोली (विहीबार) को बैठकले महत्वपूर्ण निर्णय गर्ने छौँ ।’
उदयपुरका युवा जगतमा राम्रो प्रभाव राख्ने नेता तथा पूर्व नेकपा एमालेका जिल्ला सचिव प्रमेश्वर घिमिरे नेकपा ओली समुहका अध्यक्ष चयन भएका छन् ।