काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा विघटित संसद् पुनःस्थापनाको व्यवस्था नभएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशस्तरीय काठमाडौँमा उपलब्ध नेता–कार्यकर्ताको भेलालाई बुधबार सम्बोधनका क्रममा नेकपाका अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापना नहुने ठोकुवा गर्दै त्यसैले चुनावको तयारीमा जुट्न आफ्ना नेताकार्यकर्ता र सबै दललाई आग्रह गरेका हुन् ।
यही पुस ५ गते प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिबाट प्रतिनिधिसभाको विघटन भई आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति तोकिएको छ । सो विषय हाल सर्वाेच्च अदालतमा विचारधीन छ । उनले यस स्थितिमा अर्काे सरकार बन्ने स्थिति पनि नभएको र संसद् पुनःस्थापना हुन नसक्ने भएकाले सडकमा आन्दोलन गर्नाको आवश्यकता नरहेको पनि जिकिर गरे । ‘म प्रतिनिधिसभाको ६४ प्रतिशत मतप्राप्त नेताका हैसियतले सरकार सञ्चालनमा बाधा उत्पन्न भई संसद् विघटनको निर्णयमा पुगेको हुँ । राजनीतिक आग्रहका आधारमा पुनःस्थापना हुन सक्दैन । विघटनको निर्णय संविधानअनुसार नै गरिएको हो । चुनावमा आउन. चुनाव स्वच्छ, शान्तिपूर्ण र धाँधलीरहित हुनेछ ।’
प्रधानमन्त्री ओलीको प्रश्न थियो, ‘के चुनावमा जाँदा गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षता सङ्कटमा पर्छ र ? झन् बलियो हुने होइन र ?’ विपक्षी समूहलाई लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले सडकमा आन्दोलन नगरी बरु जित्ने गरी चुनावमा आउन आग्रह पनि गरे । नेकपाभित्रको विवादका प्रसङ्गमा अध्यक्ष ओलीले एकता गर्दा एकता बलियो बनाउन, संविधानको कार्यान्वयन र मुलुकको स्थिरतालाई ध्यानमा दिएर अर्काे पक्षलाई बहुमत केन्द्रीय सदस्य दिइएको जनाउँदै नेकपाभित्रको प्रतिस्पर्धाले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन नसक्ने भएकाले एक जुट भई अगाडि बढ्न अनुरोध गरे ।
ओलीको दाबी ‘पूर्व–पश्चिम, केरुङ–काठमाडौँ र वीरगञ्ज–काठमाडौँ रेलमार्ग निर्माण हुने’
अध्यक्ष ओलीले निर्वाचनको मिति घोषणापछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आपसमा अन्तरविरोध भए पनि चुनावमा मिलेर जान प्रस्ताव गर्दा उनले अस्वीकार गरेको सुनाए । प्रधानमन्त्री ओलीले पूर्व–पश्चिम, केरुङ–काठमाडौँ र वीरगञ्ज–काठमाडौँ रेलमार्ग निर्माण हुने अठोट व्यक्त गर्दै विभिन्न विमानस्थल र पूर्वाधार विकास÷निर्माण तीव्र गतिले भइरहेको बताए । उनले भने, ‘नयाँनयाँ काम भइरहेको छ ।
औद्योगिक क्षेत्रको विकास गरिएको छ । एकै दिनमा ३०० भन्दा बढी अस्तपाल उद्घाटन गरेका छौँ । जनता आवास निर्माण, विद्यालय र अस्पतालको पुनः निर्माण, कृषिको आधुनिकीकरणजस्ता धेरै क्षेत्रमा प्रगति हासिल भएको छ । भएको कामलाई पनि नदेख्ने दृष्टिदोष भएकाबारे म टिप्पणी गर्न चाहन्न । ‘हाम्रो काम भत्काउने होइन, देश बनाउने हो । हामीले अब आन्दोलन र पार्टी जोगाउनुपर्छ । तपाईँहरु अघि बढ्नुस्, मेरो शुभकामना छ,’ उनले भने । सो अवसरमा नेकपाका नेता लेखराज भट्टले सडकमा गएर पार्टी एकता नहुने जनाउँदै चुनावको तयारीमा लाग्न सबै दललाई आग्रह गरे ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भट्टले ओली नेतृत्वको नेकपामा ‘लिगेसी’ रहेकाले यस पक्षमा लाग्न आह्वान गर्दै सडकमा विरोधका नारा नउठाई सुखी नेपाली, समृद्ध नेपाल’ को अभियानलाई साथर्क बनाउनुपर्नेमा जोड दिए । नेकपाका केन्द्रीय सदस्य कर्णबहादुर थापाले सत्ताका लागि भन्दा पार्टी एकतामा आबद्ध हुन आग्रह गरे ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिं ठगुन्ना र वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले सरकारले अघि सारेका विकास निर्माणका कामलाई थप अघि बढाउनुपर्नेमा जोड दिए ।