उदयपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा संघर्ष थालेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूह आज उदयपुरको सदरमुकाम गाईघाटमा भव्य रुपमा विरोध प्रदर्शन गरेको छ । जिल्लाको सदरमुकाम गाईघाटमा हुने प्रदर्शनको लागि सदरमुकामको बिभिन्न स्थानबाट र्याली निकालिएको थियो । र्यालीपछि आमसभाबाट नेताहरुले सडकबाटै विघटन गरिएको संसद पुनः स्थापना गरेर छाड्ने बताएका थिए ।
‘सडकबाटै संसद पुनः स्थापना गरेर छाड्छौँ’
उक्त विरोध कार्यक्रमको आमसभालाई सम्बोधन गर्ने नेताहरुले सडकबाटै संसद पुनस्स्थापना गर्ने बताएका हुन् । उदयपुरको गाईघाटमा आयोजना गरिएको विरोधसभाका प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा प्रदेश १ का सचिव सुरेशकुमार राई ९हिमाल० ले सर्वोच्च अदालतले पुनःस्थापना नगरे सडकबाटै पुनःस्थापना गर्ने ठोकुवा गरे ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरेर जनताको जनमतलाई अपहरण गरेका छन्,’ उनले भने, ‘सडक आन्दोलनबाटै जनताको जनमत कदर गर्न संसद पुनःस्थापना गर्ने छौँ ।’ राईले भनेका छन्, ‘संसद पुनःस्थापना गर्नको लागि देशमा भएका सबै लोकतन्त्रवादीहरु एक भएर अघि बढ्नुपर्छ, यो चार महिनापछि चुनाव हुनेवाला छैन, अब केपी ओलीले देशलाई अध्याँरो सुरुङभित्र लाँदै हुनुहुन्छ ।’
आमसभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य जगनाथ खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता जोगाउन संसद विघटन गरेको आरोप लगाए । उनले भने, ‘आफ्नो अलोकप्रियताको कारणले, जनविरोधी कामहरुको कारणले गर्दा संसद विघटन भयो ।’ खतिवडाले राष्ट्रपतिले पनि हतासमा सही गरेर संसद विघटन गरेकोप्रति दुख व्यक्त गरे ।
यसैगरी केन्द्रीय सदस्य बदलदेव चौधरीले संसद विघटन गर्दा पार्टीभित्र छलफल नचलाइकन निरंकुशता लादेको आरोप लगाए । ‘काम गर्न पार्टीले दिएन भनेर हल्ला गर्न सक्ने, जन्म दिन मनाउन केक काट्ने सक्ने प्रधानमन्त्रीले देशभर जान नसक्ने ? टुडिखेलमा जनतलाई बोलाएर पार्टीले काम गर्न दिइएन भने भैगोनी ?’ उनले भने, ‘देशको माया प्रधानमन्त्रीलाई छैन् ।’ उनले बैशाखमा चुनाव नहुने दावी गर्ने भने, ‘अहिले कहाँबाट खर्च ल्याएर चुनाव गराउने ?’ चौधरीले नेकपा नाम र सुर्य चिन्ह नेकपा प्रचण्ड माधव समूहकै भएको पनि दावी गरे ।
यसैगरी नेकपा प्रदेश १ कमिटीका सदस्यहरुले मोहनबहादुर खत्री, लगायतका नेताहरुले संसद विघटन पुर्नस्थापना हुने र नेकपा नाम र सुर्य चिन्ह भएको आधिकारी नेकपा प्रचण्ड माधव समूह नै भएको दावी गरेका थिए । नेकपा उदयपुरका अध्यक्ष विनोद कटुवाल ‘दिवश’ले संसद विघटनले नेपाली जनताको भावनामा चोट पुर्याएको बताए । ‘जनताको जनमतमाथि अमपान भएको छ,’ उनले भने, ‘अहिले चुनावको समय होइन, जनताले दिएको जनमतको कदर गर्दै स्थायी शान्ति र सम्बृद्धिको बाटोमा अघि बढ्ने बेला हो ।’
उनले जनताको जनमत खोसिएकाले नेपाली जनतलाई एक पटक आन्दोलनमा आउन आग्रह समेत गरेका छन् । ‘संविधानमा नभएको अधिकार प्रयोग गरेर संसद विघटन भएको छ,’ उनले भने, ‘अदालतको फैसला जनपक्षीय हुन्छ, नभए जनतानै अघि बढ्नुपर्छ ।’ प्रचण्ड माधव नेतृत्वको नेकपा उदयपुरले संसद विघटनको पक्षमा विभिन्न आन्दोलनहरु गर्दै आएको छ ।
पार्टी केन्द्रको सर्कुलर अनुसार अघि बढ्छ: सचिव राउत
आज (मंगलबार) गाईघाटमा विशाल र्यालीसहित आमसभा गरेको थियो । नेकपा प्रचण्ड माधव समूहको छलफल र बैठक जिल्ला व्यापारी बनाउने गरी अघि बढेको जिल्ला सचिव इश्वरमणी राउतले जानकारी दिए ।
‘पार्टी केन्द्रको सर्कुलर अनुसार अघि बढ्छ,’ उनले भने, ‘जिल्लाका आठवटै स्थानीय तह, वडा, टोलटोलमा भेला र प्रशिक्षणका कार्यक्रम आयोजन गर्ने तयारी छ ।’ आयोजकले जनाए अनुसार गाईघाटको पिपल चोकबाट करिव ४ हजारको संख्यामा पार्टीका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो । र्यालीमा सहभागीहरुले पुस ५ गतेको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भन्दै प्रदर्शन गर्दै आएका थिए ।
फाेटाे फिचर