उदयपुर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उदयपुरले संसद पुर्नंस्थापनाको पक्षमा आवाज उठाउन नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ ।
विहिबार नेकपा उदयपुरका अध्यक्ष विनोद कटुवाल र सचिव इश्वरमणि राउतले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै यस्तो आव्हान गरेको हो ।
विज्ञप्तीमा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिनिधि सभा विघठनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवं स्वेच्छाचारी कदमलाई राष्ट्रपति विद्यादेवी भण्डारी समेतले पुस ५ गते स्वीकृत गरेको प्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उदयपुर जिल्ला कमिटिको गम्भीर आपति रहेको जनाएको छ ।
नेकपाका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पंक्ती र उदयपुरबासी आम जनसमुदायलाई एकतावद्ध भईरहन आव्हान गरेको छ । विज्ञप्तीमा कुनै व्यक्तिको भ्रममा नपर्न र निरंकुश तन्त्रको विरुद्धमा एकतावद्ध भई संसद पुर्नंस्थापनाको पक्षमा जोडदार आवाज उठाउन अनुरोध गरेको छ ।
‘केपी ओली मुर्दावाद’, ‘केपी तेरो पाराले, दुःख पाए साराले’, भन्दै युवा विद्यार्थीले उदयपुरमा दिनकै नारा लगाई रहेका छन । नेकपाका प्रदेश जिल्लास्तरका नेता कार्यकर्ताको उपस्तिथिमा जिल्लाको गाईघाट, कटारी, बेल्टार र रामपुर बजारमा पनि युवा विद्यार्थीले प्रदर्शन गरेका थिए।