काठमाडौं । संसद विघटनको विषयमा निर्णय बसेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अन्योलमा परेको छ । संसद विघटनको बारेमा निर्णय लिन बसेको कांग्रेसको बैठक निर्वाचनमा जाने की विरोध गर्ने भनेर अन्योलमा परेको हो ।
बुधबारको बैठकमा चार नेताले आफ्नो धारणा राखेसँगै भोलिसम्मको लागि स्थगित भएको छ । हिजोदेखि जारी केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेसँगै संस्थागत धारणा बनाउने बताइएको छ ।
आजका बैठकमा रामशरण महत, बलबहादुर केसी, गगनकुमार थापा र आनन्द ढुंगानाले आ आफ्नो धारणा व्यक्त गरे । हिजो सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले धारणा राखेका थिए । प्रधानमन्त्री ओलीले संसद् विघटन गरेसँगै कांग्रेस पनि दुई धारमा विभाजित छ ।
सभापति देउवाले हिजो निर्वाचनमा जानुपर्ने बताएका थिए भने पौडेलले संसद् विघटनको विरोधमा उत्रिनुपर्ने बताएका थिए।
संसद् विघटनसँगै विरोधमा उत्रिएका गगन थापाले आज पनि प्रधानमन्त्रीको असंवैधानिक कदमबाट कांग्रेस कडा रूपमा प्रस्तुत हुनुपर्ने बताए । बैठक भोलि दिउँसो १ बजे बस्ने पार्टी मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।
अन्योलताकोबीचमा कांग्रेसले संसद विघटनको विरोधमा पुस १६ गते देशभर प्रदर्शन गर्ने निर्णय पनि गरेको जानकारी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् विघटनको विरुद्ध आन्दोलन गर्ने प्रस्ताव गरेका थिए । तर, का्रग्रेसले ठोस निर्णय लिन सकेको छैन् ।