काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपाल समुहले केन्द्रीय समितिको बहुमत सदस्यको हस्ताक्षरसहित आफुहरु आधिकारिक नेकपा भएको पत्र निर्वाचन आयोगमा दर्ता गराएको छ ।
मंगलबार बबरमहलमा बसेको केन्द्रीय समिति बैठकमा उपस्थित सदस्यहरुको हस्ताक्षरसहित प्रचण्ड माधव पक्षका नेताहरु सुरेन्द्र पाण्डे र लिलामणि पोखरेल आयोगमा पुगेका थिए । नेता पाण्डेले बैठकमा उपस्थित २ सय ९० जना सदस्यको हस्ताक्षरसहित आफुहरु आधिकारिक भएको पत्र दर्ता गराइएको बताए ।
हिजो मंगलबार बबरमहल कार्की ब्यांक्वेटमा केन्द्रीय समितिको बैठक राखेको सो पक्षले आफूहरुसँग ३१५ को साथ रहेको जनाएको थियो । आज बुधबार निर्वाचन आयोगमा पेस गरेको विवरणमा २९० जना सशरिर उपस्थित भई हस्ताक्षर गरेको र तीन जना उपस्थित हुन संभव नभई समर्थनका लागि पठाएको चिठी समावेश गरिएको छ ।
‘२९० जनाको हस्ताक्षर आज आयोगमा बुझायौं, तीन जना उपस्थित हुन संभव नभएर उहाँहरुको चिठी नै आयोगमा बुझाएका छौं,’ नेकपाका नेता राजेन्द्र पाण्डेले भने । बुधबार सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे, लिलामणि पोखरेल, मुक्ति प्रधान र श्रीराम ढकाल आवश्यक कागजपत्रसहित आयोग पुगेका थिए ।
राजेन्द्र पाण्डेका अनुसार उनीहरुको दर्ता नम्बर ५५५ हो । आयोगका अधिकारीहरुले कागजात अध्ययन गरेर फेरि बोलाउँछौं भन्नुभएको छ,’ उनले भने । उनका अनुसार तत्कालीन नेकपा–एमाले र माओवादी एकीकरण हुँदा ४४१ केन्द्रीय सदस्य थिए । पछि चार जनालाई मनोनित गरी थपिएको थियो ।
त्यसयता तीनजना केन्द्रीय सदस्यको मृत्यु भएको छ । त्यसैगरी तीन जनाले राजनीतिक नियुक्ति र पाँच जनाले संवैधानिक नियुक्ति पाएका छन् । त्यस्ता नियुक्ति पाएपछि उनीहरु केन्द्रीय सदस्यको रुपमा सक्रिय रहँदैनन् । ‘अहिले मौजुदा केन्द्रीय सदस्यको संख्या ४३४ हो, त्यसमध्ये २९० को हस्ताक्षर बुझाएका छौं,’ पाण्डेले भने, ‘अरु साथीहरु पनि जोडिन चाहनुभएको छ, अहिलेको स्थिति हेर्दा तीन सय कट्छ ।’
हिजो मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बालुवाटारमा गरेको बैठकमा एक सय १३ जना उपस्थित भएको विवरण पाएको पनि उनले बताए ।