काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक आज बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा दिनको १ बजे बैठक बस्दैछ ।
संसदीय दलको बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा संसदीय दलको नेता छान्ने एक नेताले बताए । गत सोमबार भएको संसदीय दलको बैठकले पार्टी र देश हित विपरित काम गरेको भन्दै केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको थियो ।
हिजो भएको केन्द्रीय समिति बैठकले ओलीलाई पार्टी अध्यक्षबाट समेत हटाउने निर्णय गरेको छ । ओलीलाई अध्यक्षबाट हटाएपछि माधवकुमार नेपाललाई बनाउने निर्णय गरेको थियो । विगतमा जस्तो बरियता कायम नगरी समान हैसियत रहने गरी अध्यक्ष बनाइएको हो ।
पार्टी अध्यक्षमा नेपाललाई तोकेपछि अब प्रचण्डलाई संसदीय दलको नेता बन्नका लागि बाटो खुलेको छ । संसदीय दलको नेताका लागि यसअघि पनि प्रचण्डलाई प्रस्ताव गरिएको थियो ।
नेकपा ओली समूहको प्रशिक्षण सुरु
यता यता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षधरले पार्टी केन्द्रीय सदस्यमा मनोनितहरुलाई प्रशिक्षण दिने भएको छ । संसद विघटनसँगै पार्टी चोइटिएपछि नेकपा ओली पक्षधरले मंगलबार थप गरेका सदस्यहरुलाई प्रशिक्षण दिने कार्यक्रम तय गरेको हो ।
जसमा सूदुरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदिप ज्ञवाली कर्णबहादुर थापा र डा। विन्दा पाण्डेलाई प्रशिक्षकको जिम्मेवारी दिइएको छ ।
त्यस्तै कर्णाली प्रदेशमा शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य, गण्डककी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरुङ, किरन गुरुङ र सिता पौडेल, बागमती प्रदेशमा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल, प्रदेश नम्बर ६ मा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल, जुलीकुमारी महतो र प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा शिवमाया तुम्वाहाम्फेलाई प्रशिक्षकको जिम्मेवारी दिइएको छ ।