काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको करिब दुई तिहाईको संघीय सरकार, ६ प्रदेशमा एकल सरकार । यो अब इतिहास जस्तो बनेको छ । २०७४ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअघि तात्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रबीचको चुनावी तालमेल र त्यसपछि बनेको पार्टी एकताबाट विश्व कम्युनिस्ट आन्दोलनकै इतिहासमा नेकपाले वैधानिक रुपमा सत्ताको बागदोर सम्हालेको थियो ।
नेकपाभित्रको आन्तरिक द्वन्द्व व्यवस्थापनमा असफल भएपछि नेकपाका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा नै भंग गरिदिए । र, पार्टीभित्रको आन्तरिक विवाद र आफ्नो कुर्सीको रक्षाका लागि देशलाई संकटमा लगिदिए ।
नेकपाको संस्थापन कुन पक्ष हुन्छ र कुन पक्षले नयाँ दल दर्ता गर्नुपर्छ भन्ने निरुपण निर्वाचन आयोगले गर्नेछ । सर्वोच्च अदालतसम्म जान सक्छ ।
तर, मंगबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको ओली पक्षीय केन्द्रीय सदस्यहरुको बैठक र अपरान्ह बबरमहलमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय सस्यहरुको बैठकबाट नेकपा औपचारिक रुपमा विभाजित भइसकेको छ । नेकपाको ४४१ सदस्यी केन्द्रीय समितिमध्ये दुई तिहाइ सदस्यहरु प्रचण्ड–माधव समूहमा छन् । अर्का अध्यक्ष ओली समूहमा १२० जना रहेको बताइएको छ । कानुनी रुपमा निरुपण हुँदै जाला त्यसअघि प्रचण्ड–माधव समूह नै नेकपाको आधिकारिक पार्टी हुने देखिन्छ ।
२०७४ को चुनावी तालमेल र २०७५ को सुरुवाततिर दुई ठूला पार्टीको एकताबाट नेकपा बन्दा धेरैलाई लागेको थियो टुटफुट र विभाजन नेपालका कम्युनिस्टहरुको इतिहास बनिसक्यो । अब एकीकृत हुन थो । तर आन्तरिक कहललाई व्यवस्थापन गर्न नसक्दा नेकपा अढाई वर्षमै विभाजित भएको छ ।
सामन्तवाद, दलाल नोकरशाही पुँजीवाद तथा साम्राज्यवादका शोषण र उत्पीडनबाट नेपाली जनता तथा नेपाल राष्ट्रलाई मुक्त गर्ने अनि जनताको जनवाद हुँदै वैज्ञानिक समाजवाद स्थापना गरेर न्यायपूर्ण, समानतायुक्त र समृद्ध नेपाल स्थापना गर्ने उद्देश्यले बनेको नेकपाको यात्राबीच बाटोमै टुंगिएको छ । र, सर्वहारा, श्रमजीवी जनताको प्रतिनिधि दाबी गर्ने कम्युनिस्ट पार्टी टुटफुट र विभाजनबाट टाढा रहन सक्दैनन् भन्ने सन्देश गएको छ ।
नेपालमा कम्युनिस्ट पार्टीको फुट र जुटको यात्रा
बिक्रम संवत् २००६ साल वैशाख १० गते अर्थात सन् १९४९ अप्रिल २२ मा महासचिव पुष्पलाल श्रेष्ठको नेतृत्वमा कम्युनिस्ट पार्टी गठन भएको थियो । जसमा नरबहादुर कर्माचार्य, नारायण विलास जोशी, निरञ्जनगोविन्द वैद्य र मोतीदेवी श्रेष्ठ केन्द्रीय सदस्य थिए । जुन भारतको वनारसमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।
राणाशासनको विरुद्धमा स्थापनाकालदेखि नै आन्दोलनको झण्डा उठाएको नेकपाले ३० वर्षे निर्दलीय पंचायती व्यवस्था र राजतन्त्रविरुद्ध शान्तिपूर्ण आन्दोलनदेखि सशस्त्र जनयुद्ध समेत लडेको इतिहास छ । त्यो पनि टुटफुट र विभाजन हुँदै । चीनलाई मान्ने कि रूसलाई ? यौनकाण्डका विवाद, भाबन्डा, शनकीपन लगायतका कारण नेपालका कम्युनिस्ट पार्टी फुटको शिकार हुँदै आएका छन् ।
पाँच जनाबाट सुरू भएको कम्युनिस्ट पार्टी झाँगिदै गएपछि विभाजन हुने रोग परम्परागत नै बनेको छ । ७० वर्षे इतिहासमा कम्युनिस्ट पार्टी ७० पटक फुटेको छ । पहिलो पटक २०१७ मा नेपाल कम्युनिस्ट पार्टी राजा महेन्द्रको कदमलाई लिएर फुटेको थियो । २०१७ साल पुष १ गते राजा महेन्द्रले शासनसत्ता हातमा लिएपछि फुटेको थियो । केशरजंग रायमाझीले त्यसको स्वागत गरेका थिए । पुष्पलाल, मोहनविक्रम सिंह र तुलसीलाल अमात्य र मनमोहन अधिकारी भने रायमाझीको विपक्षमा उभिएका थिए ।
पुष्पलाल, तुलसीलाल अमात्य, मोहनविक्रम सिंह र मनमोहन अधिकारीजस्ता नेताहरु पनि क्रमशः त्यतिखेरका शक्तिशाली कम्युनिस्ट राष्ट्रलाई हेर्ने दृष्टिकोणमा विभाजित हुन थाले । २०२३ सालसम्म कम्युनिस्ट पार्टी लगभग अवसानको संघारमा पुग्यो । एकातिर पूर्व मेची कोसी प्रान्तीय कमिटी गठन भयो । अर्कोतिर केशरजंगको समूह छुट्टिएर गयो । त्यसको एक वर्षपछि पुष्पलालले नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशन गराएका थिए । यो पनि २०२५ सालमै टुटेर गयो । पार्टीका प्रभावशाली नेताहरू तुलसीलाल अमात्य र पुष्पलाल पनि छुट्टिएर बसे ।
२०२८ सालमा नेपाल कम्युनिस्ट आन्दोलनमा दुईवटा लाइन देखा पर्यो । झापा जिल्ला कमिटी र केन्द्रीय न्यूक्लियस । पुष्पलालको पार्टी यी दुबै समूहमा थिएन । एउटाको नेतृत्व सिपी मैनालीले गरेका थिए । जुन समूहबाट पञ्चायत फाल्न झापा विद्रोह भएको थियो । अर्कोको नेतृत्व मोहनविक्रम सिंहले गरेका थिए । जसले पञ्चायतविरुद्धमात्र होइन भारतीय विस्तारवाद र सामन्तवादविरुद्ध पनि आन्दोलन गर्ने उद्घोष गर्दै आएको थियो । यी दुई समूहबीचको गहिरो ध्रुवीकरण ४८ वर्षसम्म रह्यो । २८ सालदेखि आजसम्म यी दुई समूह आन्तरिक रूपमा दर्जनौँ पटक फुटेर दुईचार पटक जुटेको इतिहास छ ।
०२८ सालमा अहिलेका प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली झापाली समूहका यूवा नेता थिए । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने दुबै समूहमा थिएनन् । प्रचण्डले पुष्पलालसँग भेट्दै थिए । तर, पुष्पलालसँग प्रचण्ड धेरै समय बसेको इतिहास छैन । प्रचण्ड मोहनविक्रम सिंहको चौंथो महाधिवेशनमाबाट कम्युनिस्ट पार्टीको नेता बनेर आए । जहाँ सिंहबाहेक भक्तबहादुर श्रेष्ठ र निर्मल लामाजस्ता नेता थिए । २०३५ साल साउनमा कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको निधन भयो ।
माले हुँदै एमालेसम्मको इतिहास
संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको निधनअघि मदन भण्डारी, वामदेव गौतम जस्ता नेताहरूले छुट्टिएर मुक्ति मोर्चा समूह बनाएका थिए । यता झापाको विद्रोही समूहले आफ्नो पार्टीलाई परिमार्जन गर्दै अखिल नेपाल कोअर्डिनेसन कमिटी बनाएको थियो । यी दुबै समूहमात्रै थिए । पार्टी बनिसकेका थिएनन् । दुबै समूह मिलेर २०३५ पुष ११ गते सिपी मैनालीको नेतृत्वमा नेकपा (माले) बनाए ।
बिक्रम संवत् २०३६ सालसम्म चुपचाप बसेका मनमोहन अधिकारीले नेपाल कम्युनिस्ट पार्टी (मनमोहन) नामक आफ्नो छुट्टै पार्टी खोले । जसमा सुधारिएको पञ्चायत वा बहुदल रोज्न राजा वीरेन्द्रले गराएको जनमत संग्रहमा उनले बहुदलका पक्षमा चुनावमा भाग लिएका थिए । उनले नेपाली कांग्रेसलाई साथ दिए । जनमत संग्रहमा नेकपा मालेले भने बहिष्कार गरेको थियो । यता पुष्पलालको निधनपछि उनको पार्टीलाई बलराम उपाध्याय र साहना प्रधानले चलाएका थिए । २०४३ सालमा मनमोहन अधिकारीको पार्टीसँग एकता भयो र नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) बन्यो ।
२०४६ को आन्दोलनअघि पञ्चायतविरुद्ध लड्न मनमोहन नेतृत्वको माक्र्सवादी पार्टी र सिपी मैनालीको मालेसहित अन्य साना समूह मिलेर संयुक्त वाम मोर्चा बनेको थियो । जसले पछि नेपाली कांग्रेससँग मिलेर संयुक्त आन्दोलन ग¥यो । पछि साम्यवादको लक्ष्य छोडेर कांग्रेससँगै संसदीय व्यवस्थामा प्रतिस्पर्धा पनि ग¥यो । जनआन्दोलनले पञ्चायती शासनको अन्त्य गरेपछि मनमोहन र सिपी मैनालीको पार्टीबीच एकता भइ नेपाल कम्युनिष्ट पार्टी (एमाले) बन्यो । महासचिवमा मदन भण्डारी छानिए ।
भण्डारी महासचिव बनेपछि बहुदलीय व्यवस्थामा चुनावी प्रतिस्पर्धा गरी समाजवादतर्फ जाने निर्णय गरेको थियो । २०५० जेठ ३ गते मदन भण्डारीको निधन भयो । त्यसपछि माधवकुमार नेपाल महासचिव बने । भारतसँग गरेको महाकाली सन्धिलाई लिएर पार्टीभित्र तीव्र मतभेद चल्यो । माधवकुमार नेपाल र केपी ओली यो सम्झौताको पक्षमा उभिएका थिए । वामदेव गौतम विपक्षमा । अन्ततः गौतमले एमाले २०५४ सालमा उनले पार्टी फुटाए । नेकपा माले खोले । वामदेवसँग सिपी मैनाली पनि थिए । पाँच वर्षपछि फेरि गौतम एमालेमै फर्किए । मैनालीको सानो समूह नेकपा माले बनाएर अहिले पनि छुट्टै बसिरहेका छन् ।
चौंथो महाधिवेशनदेखि माओवादीसम्मको विभाजन यात्रा
मोहनविक्रम सिंहको चौंथो महाधिवेशनले २०३६ सालको जनमत संग्रहलाई बहिष्कार गरेको थियो । राजाले गराएको जनमत संग्रहलाई लिएर पार्टीभित्र मतभेद सुरू भयो । निर्मल लामाहरूले जनमत संग्रहलाई उपयोग गर्नुपर्छ भन्ने विचार राख्दै आएका थिए । मोहनविक्रम त्यसको विपरीत थिए । २०४० सालमा निर्मल लामा समूहले पार्टी फुटायो र नेकपा (चौम) भन्ने पार्टी बनायो । यता मोहनविक्रमको समूहले आफ्नो पार्टीको नाम नेकपा मसाल राख्यो । मोहनविक्रम महामन्त्री बने ।
नेकपा मसालको पाँचौं महाधिवेशन पनि फुटको बिउ बन्यो । महाधिवेशनको बहुमतले महामन्त्री मोहनविक्रम सिंहको राजनीतिक लाइन पास ग¥यो । तर उनलाई भने यौनदुराचारको आरोप लगाएर कारबाही भयो । त्यसवेला प्रचण्डले मोहनविक्रममा सैद्धान्तिक विचलन रहेको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसपछि मशालमा फुटको श्रृङ्खला सुरु भयो । अरू मिल्ने र फुट्ने गरे पनि सिंह र प्रचण्डको कहिल्यै मेल भएको इतिहास छैन ।
बिक्रम संवत् २०४१ सालमा भएको पाँचौं महाधिवेशनबाट महामन्त्रीमा मोहन वैद्य (किरण) निर्वाचित भएका थिए । महाधिवेशन सकिएको केही समय नबित्दै श्रीलंकाको तमिल विद्रोहलाई समर्थन गर्ने कि विरोध भन्ने विषयमा विवाद सुरु भयो । आफूलाई कारबाही गरेको वर्षदिनपछि मोहनविक्रमले चित्रबहादुर केसीसहित ४ जना केन्द्रीय सदस्य लिएर नयाँ पार्टी नेकपा मसाल बनाए । वैद्य नेतृत्वको पार्टीको नाम नेकपा (मशाल) थियो ।
पातलो मसाल र मोटो मशालमा उनीहरू विभाजित भएका थिए । २०४५ सालमा नेकपा मशालले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई महामन्त्री बनायो र माओवादलाई पार्टीको प्रमुख सिद्धान्त मान्ने निर्णय गर्यो । फुट्दै जुट्दै गरेपनि २०४६ सालको आन्दोलनमा उनीहरू मदन भण्डारी र मनमोहन अधिकारीको संयुक्त वाम मोर्चामा गएनन् ।
नेकपा (मशाल), नेकपा (मसाल), सर्वहारा श्रमिक संगठन (नेपाल मजदुर किसान पार्टी), नेकपा (चौम) लगायत मिलेर संयुक्त जनआन्दोलनमा सहभागी थिए । बहुदलपछि प्रचण्डको पार्टी मशाल, निर्मल लामाको पार्टी नेकपा चौम, सर्वहारावादी श्रमिक संगठन र रूपलाल विश्वकर्माको समूह मिलेर नेकपा (एकता केन्द्र) बन्यो । मोहनविक्रमको पार्टीबाट बाबुराम भट्टराई पनि यही पार्टीमा आए ।
एकताको दुई वर्षमै नयाँ पार्टीमा सशस्त्र युद्धको विषयलाई लिएर फेरि मतभेद सुरू भयो । निर्मल लामाहरूले एकता केन्द्र छोडे । २०५१ मा निर्मल लामा, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लिलामणि पोख्रेलहरु मिलेर छुट्टै ने.क.पा. (एकताकेन्द्र) गठन गरे । प्रचण्ड नेतृत्वको एकता केन्द्रले नाम फेरेर नेकपा (माओवादी) राख्यो । नाम मात्रै फेरेन उसले १० वर्ष माओवादी जनयुद्धको बाटो पनि रोजेको थियो । नेपालमा माओवादीकै नेतृत्वमा १० वर्षसम्म जनयुद्ध पनि भयो । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शानस व्यवस्था जस्ता अहिलेको राजनीतिक उपलब्धीमा माओवादी जनयुद्धको निर्णायक भूमिका मानिन्छ ।
बिक्रम संवत् २०५९ सालमा मोहनविक्रम सिंह नेतृत्वको मसाल र नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्रबीच एकता भयो । मिलेको यो पार्टीभित्र फेरि माओवादीलाई हेर्ने दृष्टीकोणमा मतभेद सुरु भयो । २०६३ सालमा उनीहरु फेरि फुटे । पछि श्रेष्ठ नेतृत्वको नेकपा एकता केन्द्रको एक समूह जनयुद्धको नेतृत्व गर्ने नेकपा (माओवादी) सँग एकता गर्न पुग्यो । र, पार्टीको नाम एकीकृत नेकपा (माओवादी) बन्यो ।
जनयुद्ध र २०६२/२०६३ सालको जनआन्दोलनदेखि आजसम्म
बिक्रम संवत् २०२८ सालमा छुट्टिएका दुई कम्युनिस्ट धारहरू २०४६ सालसम्म टाढिएका थिए । एउटा धारको मूल पार्टी तत्कालिन नेकपा एमाले थियो, जसले संसदीय व्यवस्था रोजेको थियो । अर्को धारको मूल पार्टी माओवादी थियो । सशस्त्र युद्धबाट जनवादी क्रान्ति सम्पन्न गरेर कम्युनिस्ट शासन व्यवस्था रोजेको थियो । स–साना कम्युनिस्ट पार्टीहरू पनि फुट्दै जुट्दै संसदीय अभ्यास गरिरहेका थिए ।
२०६२/०६३ को जनआन्दोलनपछि जनयुद्ध छोडेर माओवादी पनि शान्तिपूर्ण प्रतिस्पर्धात्मक व्यवस्थामा आयो । २०६४को पहिलो संविधान सभा चुनाव लड्यो । तर, मोहन वैद्यले पार्टी विभाजन गरे । बाबुराम भट्टराईले कम्युनिष्ट आन्दोलन नै छोडेर नयाँ शक्ति नेपाल पार्टीका संयोजक हुँदै अहिले जनता समाजवादी दलमा पुगेका छन् । वैद्य समूहबाट नेत्रविक्रम चन्द बाहिरिएर नयाँ पार्टी खोले र उनको पार्टी अहिले सरकारबाट प्रतिबन्धित छ । गोपाल किराँती पनि माओवादीबाट बाहिरिए ।
यसरी फुटे, ‘ओली र प्रचण्ड’
२०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम गठनबन्धन गरेर चुनाव लडेका तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) २०७५ जेठ ३ गते पार्टी एकता गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भएको थियो ।
निर्वाचनबाट झण्डै दुई तिहाइ नजिक बहुमत पाएका दुई पार्टीले पार्टी एकता गर्दा आलोपालो सरकार र पार्टी चलाउने सहमति गरेका थिए । स्थायी सरकारको नारा लगाउँदै एकतामा बाँधिएका दुई कम्युनिस्ट पार्टीबाट बनेको नेकपामा दुई अध्यक्ष रहेका थिए । जसमा सरकारको नेतृत्व केपी शर्मा ओलीले र पार्टीको नेतृत्व प्रचण्डले गर्ने सहमति गरेका थिए ।
पछिल्लो समय ओली समूहको गुट बढेको भन्दै प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायण्काजी श्रेष्ठले विरोध गर्दै आएका थिए । ओली समूह र प्रचण्ड–नेपाल समूहको नाममा निर्माण भएको दुई धाराको आरोप प्रत्यारोप चल्दै आएको थियो । जब प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरे, नेकपा नै भंग भयो । साभार नागरिकखबर डटकमबाट-सम्पादक